असार २ बैतडी । बैतडीमा कार्यरत म्यादी प्रहरी खानेपानी र चर्पीको समस्या झेल्न वाध्य भएका छन् । स्थानीय तह चुनावका लागि सदरमुकाममा खटिएका सय भन्दा बढी म्यादी प्रहरीले पिउनका लागि पानीको समस्या भएको गुनासो गरेका छन् ।
सदरमुकाम गढी स्थित दशरथचन्द नगरपालिकाको पुरानो भवनमा म्यादी प्रहरीलाई राखिएको छ । पुरानो भवन भएकाले त्यहाँँ शौचालयको व्यवस्था छैन । म्यादी प्रहरी शौच गर्न नजिकै रहेको मालपोत कार्यालयमा जाने गरेका छन् । सय जनाका लागि मालपोतको एउटा शौचालयको प्रयोग गर्नुपर्दा लामो लाइनमा बस्नुपर्ने बाध्यता रहेको म्यादी प्रहरीहरु बताउँछन् ।
सुरुमा मालपोतको पुरानो भवनमा राखिएको म्यादीलाई अहिले नगरपालिकाको जीर्ण भवनमा सारिएको हो । महिला म्यादी प्रहरीको लागि गढीमै हल भाडामा लिएर बस्ने व्यवस्था मिलाइएको छ ।
शौचालयको मात्र होइन पानीको पनि उस्तै समस्या झेल्न बाध्य छन् । नुहाउन र लुगा धुनका लागि दुई किलोमिटर टाढाको नौलामा जाने गरेको म्यादी प्रहरी जवान डम्बर सार्कीले बताउनु भयो । विगतमा पनि पानीको समस्या रहेको र झनै प्रहरी पनि थपिएपछि पानीको चरम अभाव भएको जिल्ला प्रहरी कार्यालयले डोटीले जनाएको छ ।