
बझाङ : बझाङको केदार स्यँ गाँउपालिका वडा नम्बर २ जुब गाउँको घरघरमै चर्पी बनेका छन् । तर चर्पीमा कसैले घाँस, कसैले दाउरा थन्क्याएका छन् । दिसापिसाब गर्नका लागि भने घर बाहिर जान्छन् । साना बालबालिका भएको अधिकांशको घर आँगनमै दिसापिसाब भेटिन्छन् ।
झण्डै सय घर परिवारको बसोबास रहेको जुब गाउँका सबैको घरमा शौचालय बने पनि पानी र चेतनाको अभावमा चर्पी प्रयोगमा नआएको हो । कतिपयको चर्पी प्रयोगमा नआउँदै भत्किसकेका छन् भने भएका चर्पीमा पनि घाँस दाउरा थन्क्याइएको छ । २०७० सालदेखि जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्नका लागि चर्पी बनाउने अभियान सञ्चालन गरेर चर्पी निर्माण भएपनि पानीको बन्दोबस्त नगर्दा चर्पी प्रयोगमा नआएको जुबका अर्जुन ओखेडाले बताउनुभयो ।
बझाङ ३३ औं खुला दिसामुक्त जिल्ला हो । बझाङ जिल्लालाई २०७२ पुस १६ गते खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । जिल्ला खुला दिसामुक्त घोषणा भएको ४ बर्ष भईसक्दा समेत खानेपानी नभएका कारण चर्पी प्रयोगमा नआएको केदारस्युँ गाउँपालिका २ जुबका शिबराज कुमार विकले बताउनुभयो ।
चर्पी बनाउनु अघि खानेपानीको व्यवस्था गरिदिन जिल्लादेखि केन्द्रसम्मका नेता तथा विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थालाई अनुरोध गरेपनि अहिलेसम्म खानेपानीकै समस्या रहेको जुबका अर्जुन ओखेडाले बताउनुभयो । पानीको अभावमा चर्पी प्रयोगमा नआएको मात्र होइन, खानेपानीकै लागि समस्या झेल्नुपरेको जुबकी गीता लुहारले बताउनुभयो । ‘चर्पीको त कुरै नगरौं, पानी ल्याउनलाई कम्ता समस्या छैन । कति दिन त पानी नभएका कारण भोक भोकै बसेका छौं, हाम्रा दुःख कसले सुनिदिन्छ ?’ लुहारले गुनासो गर्नुभयो ।
जुब गाउँमा अधिकांश दलितहरुको बसोबास छ । दलित गाउँको पानीको समस्या हल गर्नका लागि पानीको मूल नै नभेटिएको केदारस्युँ गाउँपालिका २ नम्बर वडाका अध्यक्ष चक्र विकले बताउनुभयो । खानेपानी समस्या समाधानका लागि आफुहरुको ध्यानाकर्षण भएपनि वडाबाट मात्रै सम्भव नभएको र गाउँपालिका र प्रदेश सरकारले समेत जनताको मर्म बुझिदिनुपर्ने वडाध्यक्ष विकले बताउनुभयो ।


1124 पटक हेरिएको 

