काठमाडौ : काठमाडौ उपत्यकामा सञ्चालित शौचालयको आम्दानी मासिक ५० देखि ६० हजार सम्म हुने गरेको छ । वाटर एड नेपालले गरेको एक अध्ययन प्रतिवेदनले प्रत्येक शौचालय दैनिक २५० देखि ३५० जनाले प्रयोग गर्ने र ती प्रयोगकर्ताबाट मासिक २ हजार देखि तीन हजार पैयाँसम्म संकलन हुने देखाएको छ ।
संकलित रकम मध्ये ठेकेदारले मासिक २ देखि ७ हजार सम्म नगरपालिकालाई बुझाउने गरेको छ भने शौचालयको हेरचाह तथा सरसफाइ गर्नेका लागि १० देखि १५ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउने गरेको पाइएको छ । शौचालयमा पानी, साबुन, ब्रस तथा सरसफाइ सामग्रीका लागि हुने २ /३ हजार खर्च बाहेक अरु रकम ठेकेदारको खुद कमाइ हुने गरेको छ ।
अध्ययनले गुणस्तर ६ प्रतिशत शौचालयमा नियमित मर्मत सम्भार नभएको र संरचनाको हिसाबले महिला र पुरुषका लागि मात्र बनाए पुग्ने सोच रहेको देखाएको छ ।
बालबालिका, बृद्धबृद्धा, अपाङ्गता भएका व्यक्तिले समेत प्रयोग गर्न मिल्ने बनाउनु पर्छ भन्ने सोच नभएकै कारण काठमाडौ उपत्यकामा बनेका अधिकांश शौचालय सवालाङ्ग व्यक्तिले मात्र प्रयोग गर्न मिल्ने बनेको राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष सुदर्शन सुवेदीले जानकारी दिनुभयो ।
अध्ययनले ७९ प्रतिशतमा शौचालयमा महिला र पुरुषका लागि बेग्लाबेग्लै व्यवस्था गरिएको भेटिएको छ । पछिल्लो समय भृकुटीमण्डपमा बालबालिका र अपाङमैत्री शौचालय पनि बनेको छ ।
शौचालय राजश्व संकलनको स्रोत
काठमाडौ महानगरपालिका तथा ललितपुर महानगरपालिकाले सार्वजनिक शौचालयलाई राजश्व संकलनको स्रोतको रुपमा राखेको छ । ललितपुर महानगरपालिकाले आगामी आर्थिक बर्षमा सार्वजनिक शौचालयबाट ६ लाख ६० हजार रुपैयाँ राजश्व संकलन गर्ने योजना राखेको छ । काठमाडौ महानगरपालिकाले भने आर्थिक बर्ष २०७२/०७३ मा ८ लाख ३३ हजार रुपैयाँ संकलन गरेको देखाएको छ ।
सार्वजनिक शौचालय निर्माणका लागि रकम विनियोजन
ललितपुर महानगरपालिकाले आगामी आर्थिक बर्षमा ६ वटा सार्वजनिक शौचालय निर्माण गर्न ५० लाख रुपैयाँ विनियोजन गरेको छ । महानगरले जावलाखेलमा शौचालय निर्माणका लागि २५ लाख रुपैयाँ छुट्याएको छ भने बाँकी ५ वटाका लागि ५/५ लाखका दरले छुट्याएको छ ।
काठमाडौ महानगरपालिकाले पीपीपी मोडेलमा ४२ वटा सार्वजनिक शौचालय निर्माण गर्ने भनिएपनि बजेटको व्यवस्था नगरेको अध्ययनले देखाएकोक छ ।
यस्तै मध्यपुर ठिमीले सार्वजनिक शौचालय व्यवस्थापनका लागि ६ लाख रुपैयाँ छुट्याएको छ ।