करिष्मा के.सी., गोरखा : झाडापखाला लाग्दा स्वास्थ्य चौकीमा भन्दा पहिले धामी झाँक्री कहाँ जान थालेपछि गोरखाको बारपाकमा धामीझाँक्रीलाई नै झाडापखाला रोकथाम सम्बन्धी तालिम दिइएको छ ।
झाडापखाला लाग्दा पनि धामी झाक्रीलाई देखाउन थालेपछि बारपाक स्वास्थ्य चौकीले केयर नेपालको सहयोगमा बारपाकमा झारफुकको काम गर्ने २६ जना झाँक्रीलाई दुई दिने चेतनामूलक तालिम दिएको बारपाक स्वास्थ्य चौकीका इन्चार्ज अनिल कुमार शाहले बताउनुभयो ।
धामी झाँक्रीलाई झाडापखालाको लक्षण र उपचार बिधीका विषयमा जानकारी गराइएको र झारफुक गर्न आउने बिरामीलाई उपचारको लागि स्वास्थ्य चौकी पठाउन आग्रह गरिएको इन्चार्ज शाहले बताउनुभयो । ‘सबभन्दा पहिले धामीझाँक्री कहाँ पुगेपछि उनीहरुले तत्काल स्वास्थ्य संस्थामा पठायो भने उनीहरुको ज्यान जान पाउँदैन, झाँक्रीले झारफुक गरिरह्यो र स्वास्थ्य चौकी पठाएनन् भने ज्यान जान सक्ने भएकाले हामीले झाँक्रीलाई सचेतना तालिम दिएका हौं’ इन्चार्ज शाहले भन्नुभयो ।
बारपाकमा गत साता झाडापखालाले एक जनाको ज्यान गएको थियो ।
झाडापखालाको बिरामी आउँदा पानी फुकेर खुवाउने गरेका उनीहरु अब बिरामीलाई स्वास्थ्य चौकी पठाउने बताउँछन् । ‘बिरामी आउथे, जस्तो जानेको फुकेर झारफुक गरे जाति हुन्छ भनेर पठाउँथ्यौं, अब तालिम पाएपछि थाहा भयो सबै बिरामीलाई स्वास्थ्य चौकी जान सल्लाह दिनेछु’ तालिम लिएपछि झाँक्री मध्येका एक डम्मर घलेले भन्नुभयो ।
अन्धविश्वासका कारण गोरखाको ग्रामीण भेगमा डाक्टरलाई भन्दा धामीलाई नै बढी विश्वास गर्छन् । उनीहरु झाडापखाला लाग्दा मात्र नभई रुखबाट लड्दा, पेट तथा टाउको दुख्दा, सर्पले डस्दा समेत एक पटक झाँक्रीलाई देखाएर मात्र स्वास्थ्य चौकी जाने गर्छन् ।