कावासोतीमा तरकारी बजारको फोहोरबाट ग्यास उत्पादन


नवलपुर : पूर्वी नवलपरासीको कावासोती बजारमा तरकारी बजारबाट निस्कने फोहोरबाट बायोग्यास निकालिएको छ । वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्र ललितपुरको ५ लाख र कृषिबजार उपज केन्द्र कावासोतीको ३ लाख रुपैयाँको लागतमा ग्यास प्लान्ट निर्माण गरी ग्यास उत्पादन गर्न थालिएको हो । बजारको फोहोर उठाउन समयमै गाडी नआउने र यसले बजार समेत दुर्गन्धित हुन थालेपछि तरकारी बजारको फोहोरबाट ग्यास निकाल्ने उपाय आएको हो ।

फोहोरबाट ग्यास उत्पादन हुन थालेपछि कावासोती बजार उपज केन्द्रको अग्रसरतामा व्यवसायी आफैं फोहोर व्यवस्थापनमा जुटेका छन् । ‘हामी आफैंले गरेको फोहोर नगरपालिका कहिले आउला र उठाउँला भनी कुरेर बस्नुपर्ने अवस्था थियो, अहिले कुहिने फोहोर व्यवस्थापन गर्दा आफूलाई पनि फाइदा अनि बजार पनि सफा देखिएको छ’ व्यवसायी जितनारायण चौधरीले भन्नुभयो ।

अहिले ५० घनमिटरको बायोग्यास प्लान्ट निर्माण गरेर उत्पादन भइरहेको छ । फोहोरबाट ग्यास उत्पादन गर्दा फोहोर व्यवस्थापन हुनुका साथै हाटबजारलाई आवश्यक विद्युत र इन्धनको आवश्यकता समेत पूरा भएको केन्द्रका अध्यक्ष लेखनाथ बस्यालले बताउनुभयाो उहाँका अनुसार उत्पादित ग्यास बजारमा रहेको वधशाला, होटलमा न्यून रकममा प्रदान गर्दै आइरहेको छ । ‘यसको व्यवस्थापनपछि तरकारी तथा वधशालाबाट निस्कने फोहोरको दुर्गन्ध कम भएको छ’ उहाँले भन्नुभयो ।

एलपी ग्यासभन्दा सस्तो र सुरक्षित बायोग्यास प्रयोग गर्न पाइएको स्थानीय व्यवसायी रामप्रसाद शर्माले बताउनुभयो । अन्यत्र पनि फोहोर व्यवस्थापनको यो उपाय अपनाउन सके बजार सफा र सुन्दर हुने उहाँको भनाइ छ । कावासोतीमा फोहोर व्यवस्थापन गर्ने प्रभावकारी उपाय नहुँदा स्थानीयले सामुदायिक वन र सार्वजनिक स्थलमा फोहोर फाल्दै आएका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार