काठमाडौ : प्रदेश नं. ७ को डोटी र प्रदेश नं. १ को ओखलढुङ्गालाई एकैदिन खुला दिसामुक्त घोषणा गरिने भएको छ । खुला दिसामुक्त घोषणा हुनका लागि दुवै जिल्लाले मापदण्ड पूरा गरेकाले सबै प्रक्रिया पूरा गरी यही असार २८ गते बुधबार खुला दिसामुक्त घोषणा गर्न लागेको राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव प्रेम कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
समितिका अनुसार ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका र अरु ७ वटा गाउँपालिकालाई यसअघि नै खुला दिसामुक्त घोषणा गरिएको छ । ओखलढुङ्गाका ३२ हजार ५ सय ४५ घरले नै चर्पी बनाएर प्रयोग गर्न थालेपछि खुला दिसामुक्त घोषणा गर्न लागेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख एवं जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव कमलराज श्रेष्ठले बताउनुभयो ।
यस्तै दुई नगरपालिका र ७ गाउँपालिका रहेको डोटीमा ४३ हजार ६ सय ६१ घरधुरी छन् । ती सबै घरमा चर्पी बनाएर प्रयोगमा आएपछि खुला दिसामुक्त जिल्ला घोषणा गर्न लागेको हो । डोटीमा २०६८ सालदेखि सरसफाइ अभियान शुरु भएको थियो । शुरुमा साबिकको पचनली गाविसलाई वातावरण र जनस्वास्थ्य संस्था (नेवा) को सक्रियतामा २०६८ जेठ २८ गते खुला दिसामुक्त गाविस घोषणा गरिएको थियो ।
यसअघि गएको १७ गते मात्र हिमालपारिको जिल्ला मनाङलाई ३९ औं खुला दिसामुक्त जिल्लाको रुपमा घोषणा गरिएको थियो ।
सरकारले सन् २०१७ भित्र देशलाई नै खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य राखेको छ । ओखलढुङगा र डोटीलाई खुलादिसामुक्त घोषणा गरेपछि खुला दिसामुक्त घोषणा गर्न बाँकी ३४ जिल्ला रहनेछन् ।