डोटी : प्रदेश नं. ७ को डोटी जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको छ । आज (बुधबार) औपचारिक कार्यक्रम गरी डोटीलाई ४० औं खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको हो । सांस्कृतिक झाकी र विभिन्न -याली सहित गाउँ गाउँबाट आएका सरसफाइ उपभोक्ताको सहभागितामा उच्च अदालत दिपायलका मुख्य न्यायाधीश प्रकाश ढुङ्गानाले डोटीलाई खुला दिसामुक्त घोषणा गर्नुभयो ।
खानेपानी, सरसफाइ तथा स्वच्छता रणनीति २०११ अनुसार डोटीलाई सन २०१५ सम्ममा खुला दिसामुक्त घोषणा गरिसक्नु पर्ने लक्ष्य भएपनि साबिकका गाउ बिकास समिति र दिपायल सिलगढी नगरपालिका तोकिएकै समयमा खुला दिसामुक्त घोषणा गर्न नसक्दा दुई बर्ष ढिलाई भएको हो ।
खुला दिसामुक्त घोषणा सभामा क –कसले के – के भने ?
खुला दिसामुक्त घोषणा सभामा जिल्लाको सरसफाई प्रतिबेदन प्रस्तुत गर्दै क्षेत्रीय अनुगमन तथा सुपरिबेक्षण कार्यालय दिपायलका ईन्जिनियर तथा जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव रमेश मण्डलले डोटीका सत प्रतिशत घरमा शौचालयको व्यबस्था भएको बताउनुभयो ।
उहाँले ९८ प्रतिशत घरमा चर्पी भएको र बाँकी दुई प्रतिशतले साझा शौचालय प्रयोग गरेको बताउनुभयो । ‘निर्माण भएका ९८ प्रतिशत शौचालय सुधारिएका शौचालय छन्, दुई प्रतिशत मात्रै कच्ची छन्’ इन्जिनियर मण्डलले भन्नुभयो ।
डोटीमा ४३ हजार ६ सय ६१ घरधुरी छन् ।
डोटीको सरसफाइको चुनौती
सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी जनचेतनाको कमी रहनु, महिनावारीको बेला शौचालय प्रयोग गर्नेको कमी हुनु, बस्तुभाउको मलमुत्रको व्यवस्थापन नहुनु, बजार क्षेत्रको फोहोरमैलाको व्यवस्थापन हुन नसक्नु, दिगो र सुरक्षित खानेपानीको व्यवस्थापन हुन नसक्नुलाई सरसफाइको क्षेत्रमा कार्यरत संघसंस्थाले चुनौतीका रुपमा औल्याएका छन् ।
खुला दिसामुक्त घोषणा सभामा डोटीका ८८ प्रतिशत जनसंख्यालाई आधारभुत खानेपानीको उपलब्ध भएको, बजार क्षेत्रमा व्यवस्थापन समितिहरु गठन भई बजार सरसफाइ हुदै आएको जानकारी गराइएको थियो ।