संक्रमित फोहोर व्यवस्थापनमा खटिनेका लागि सुरक्षा सामग्री अपरिहार्य : मेयर महर्जन

ललितपुर : ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले व्यक्तिगत सुरक्षा उपकरण अस्पताल लगायत संक्रमित फोहोर व्यवस्थापन गर्न खटिने सरसफाइ मजदुरका लागि अति आवश्यक रहेको र सुरक्षा उपकरण प्राथमिकताका साथ प्रयोग गर्न लगाउने बताउनुभएको छ । सरसफाइकर्मीहरुका लागि उपलब्ध व्यक्तिगत सुरक्षा उपकरण बुझ्दै मेयर महर्जनले लकडाउनका कारण सामग्री अभाव भएको अवस्थामा यस्तो सहयोग पाउँदा महानगरपालिकालाई ठुलो राहत पुग्ने बताउनुभयो । ‘यी सामग्री अस्पताल लगायत संक्रमित फोहोर व्यवस्थापन गर्ने सरसफाइ मजदुरका लागि प्रयोगमा ल्याईनेछ’ उहाँले भन्नुभयो ‘प्राप्त सामग्रीको सही सदुपयोग र आवश्यक व्यवस्थापनको जिम्मेवारी महानगरपालिकाले लिनेछ ।’

उहाँले महामारीको समयमा सरसफाइलाई विशेष ध्यान दिनुपर्ने हुनाले ललितपुर महानगरपालिकाले यस विषयलाई प्राथमिकता दिईरहेको समेत जानकारी दिनुभयो ।

सरसफाइको क्षेत्रमा कार्यरत सरसफाइ मजदुरहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा खानेपानी तथा सरसफाइको क्षेत्रमा कार्यरत गैर सरकारी संस्था गुथिले वाटर एडको आर्थिक सहयोगमा ललितपुर महानगरपालिकामा कार्यरत सरसफाइकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री हस्तान्तरण गरिएको हो । गुथिले यसअघि काठमाडौ महानगरपालिका र किर्तिपुर नगरपालिकालाई पनि व्यक्तिगत सुरक्षा उपकरण वितरण गरिसकेको छ ।

सुरक्षा उपकरण हस्तान्तरण गर्दै वाटर एड नेपालकी राष्ट्रिय प्रतिनिधि तृप्ति राईले सरकारले सरसफाइकर्मीहरुले प्रदान गर्ने अत्यावश्यक सेवालाई ध्यानमा राख्दै उनीहरुलाई चाहिने सुरक्षा सामग्रीको व्यवस्था गर्नु जरुरी रहेको र अझ कोरोना भाइरस (कोभिड–१९) जस्तो आपतकालिन समयमा यो झनै महत्वपूर्ण भएको बताउनुभयो । उहाँले अहिलेको अवस्थामा महामारीको नियन्त्रण गर्न हात धुने र सामाजिक दुरी कायम गर्नुपर्ने कुरामा ध्यान पुर्‍याउनु पर्ने र यसलाई हरेकले पालना गर्नुपर्ने कुरामा जोड दिनुभयो । ‘यसका निम्ति ठाउँ – ठाउँमा हात धुने स्टेसन राख्न आवश्यक छ । यसका लागि आवश्यक सहयोग सहयोग गर्न हामी प्रतिवद्ध छौं ।’ उहाँले भन्नुभयो ।

गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले सरसफाइकर्मीहरुको पेशालाई सुरक्षित तुल्याउन महानगरपालिका मार्फत सुरक्षा सामग्री उपलब्ध गराएको बताउनुभयो । ‘यसले उनीहरुको पेशागत बानीव्यहोरामा परिवर्तन ल्याउनका लागि सचेतनाको काम गर्छ र नगरपालिकाले उक्त संवेदनशील पेशाकर्मीहरुलाई आवश्यक सहयोग र अनुगमन गरी यस कार्यमा बल पुर्‍याउनेछ भन्ने हामीले आशा गरेको छौं ।’ उहाँले भन्नुभयो ।

हाल कोरोना भाइरस (कोभिड–१९) महामारीको समयमा काठमाडौं, कीर्तिपुर र ललितपुर महानगरपालिकामा कार्यरत सरसफाइकर्मीको सुरक्षाका लागि जम्मा ५ सय थान सुरक्षा सामग्री वितरण गरिएको हो । ती मध्ये ललितपुर महानगरपालिकाको आन्तरिक प्रयोजनका लागि ५० थान, काठमाडौं महानगरपालिकाको लागि ५० थान र कीर्तिपुर नगरपालिकाको लागि १० थान वितरण गरिएको छ । बाँकी ३ सय ९० थान सुरक्षा सामग्री फोहोरमैला व्यवस्थापन संघ नेपाल मार्फत उपत्यका भित्र अनौपचारिक क्षेत्रमा सरसफाइको काम गर्ने मजदुरहरुलाई वितरण गरिएको गुथिले जनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) एक अत्याधिक संक्रामक रोग हो जुन विश्वभरि महामारीको रुपमा फैलिएर यसले भयावह अवस्था सिर्जना गरेको छ । यो महामारी नेपालमा पनि भित्रिएर फैलिएको अवस्थामा केही अत्यावश्यक सेवा बाहेक अरु सवै सेवा बन्द गरी सरकारले लकडाउन गरेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार