पाल्पाको माथागढीमा मध्यबर्षामा पनि खानेपानीको हाहाकार

पाल्पा : माथागढी ४ देउगीरकी मन्दिरा विकलाई एक गाग्री पानी लिन एक घण्टा बिताउनुपर्छ। पानी त छ तर धेरै टाढा गएर ल्याउनुपर्छ। ‘आधा घण्टा जान अनि आधा घण्टा फर्कन लाग्छ,’ उनले भनिन्। उनीमात्र होइन, झडेवा ६ बगालेकी कमला बरालीले पनि दैनिक पानी बोक्दा सास्ती खेप्नुपरेको बताइन्। 

विक र बरालीमात्र होइन, माथागढीको झडेवाका तीन सय परिवारलाई मध्य वर्षाको समयमा खानेपानीको समस्या छ। उनीहरू घरका डोको बोकेर गाउँदेखि आधा घण्टा दूरीमा पिउने पानी लिन जान बाध्य भएका हुन्। घरमै आउने धारा आउन छाडेको १५ दिन भइसकेको छ। घरकै दैलोनजिक पानी पाउन छाडेपछि ढाकर र नाम्लो लिएर पिउने पानी खोज्न हिँड्नुपरेको बरालीले बताइन्। असारको २५ गते परेको अविरल वर्षासँगै खानेपानीको पाइप बगाएपछि झडेवाका धेरै परिवारले पानीको समस्या झेल्नुपरेको छ। 

ओलेश–गल्धा खानेपानी आयोजनाको पाइप पहिरोले बगाएको छ। बाँसटारी–झडेवा मोटरबाटोमा जथाभावी कटिङ गर्दा गएको पहिरोले पानीको पाइप बगाएको हो। ‘आफ्नै घरछेउमा आउने धाराको पानी पहिरोले बगाएपछि हामी उपभोक्ताले बनाउन सक्ने अवस्था नै छैन,’ उनले भनिन्, ‘त्यही भएर असार २५ पछि पानीको ठूलो समस्या भएको छ।’ साविक झडेवाको १, २, ३, ४, ६ का बासिन्दाले उक्त खानेपानी योजनाबाट पिउने पानी प्रयोग गर्दै आएका छन्। धेरै गाउँ नजिक वर्षामा निस्कने मूल निस्केकाले केही सहज भएकाले सोही पानी पिउन बाध्य छन्। पिउने पानी लिन जान भने मूलमै पुग्न सास्ती खेप्नुपरेको छ। 

सुख्खायाममा जस्तै ढाकर लिएर पानी लिन जानुपर्ने स्थानीयले बताए। स्कुले बालबालिकादेखि घरका सबैलाई पानी बोक्दै हैरानी छ। ‘हामीलाई दु:ख भएको छिट्टै देख्ने मान्छेलाई भन्दिनुहोला,’ डोकोमा पानी बोक्दै गरेकी बरालीले भनिन्। उनले भनिन्, ‘यहाँ पोहोर पनि यस्तै भयो। अहिले पनि उस्तै भएको छ। बिगार्नेले छिटो बनाए पनि पाइन्थ्यो।’ यहाँ मोटरबाटो चौडा गर्दा सडक छेउमै फालेको माटोले बाटोसमेत बगाएर पहिरा गएका छन्। वातावरणीय प्रभावको ध्यान नदिँदा अत्यधिक पहिरो खसेको छ। पहिरोले गाउँबस्तीमा लगेको खानेपानीको पाइप बगाएको छ। 

‘यस भेगका उपभोक्ताले मर्मत गर्न सक्ने अवस्थै नरहने गरी बगाएको छ,’ स्थानीय विष्णुबहादुर चिदीले भने, ‘सम्बन्धित निकायको चासो हुनुपर्छ।’ स्थानीयले सम्बन्धित निकायमा जानकारी पनि गराइसकेका छन्। खानेपानी योजनालाई पहिरोले तहसनहस बनाएको छ। मोटरबाटोभन्दा माथिल्लो क्षेत्रबाट खसेको पहिरोले यस भेगमो ठूलो क्षेत्रमा भूक्षयसमेत भएको छ। दुई किमि क्षेत्रमा ५० भन्दा बढी पहिरो गएको छ। सोही पहिरोबाट पाइप गाडेर खानेपानीको पाइप ल्याएका छन्। 

२०४७ सालमा सम्पन्न भएको योजनाका पाइप पुराना भएका छन्। खानेपानी योजनाका डिकबहादुर सारुका अनुसार जिविस र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा जानकारी भइसकेको छ। कान्तिपुर दैनिकबाट ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार