सुकेको ढुङ्गे धारामा पानी बगाउन ललितपुर महानगरले इनार समेत बन्द गर्न सक्ने

दिक्पाल गिरी, काठमाडौ : ललितपुर महानगरपालिकाले सुकेको ढुङ्गे धारालाई पुरानै अवस्थामा फर्काउन नीजि इनार समेत बन्द गर्नुपर्ने अवस्था आउन सक्ने जनाएको छ ।  यद्यपि सुकेको धारामा कसरी पानी प्रवाह गराउने भन्ने विषयमा विस्तृत योजना बनाउन गठित समितिले प्रस्तावना भने बुझाइसकेको छैन । महानगरपालिकाले त्रिभुवन विश्वविद्यालयका भुगर्वविद डा. सुरेशदास श्रेष्ठको संयोजकत्वमा समिति गठन गरी सुकेको धारालाई पुरानै अवस्थामा फर्काउन गर्न सकिने कामका विषयमा प्रस्तावना तयार पार्न जिम्मेवारी दिइएको छ ।

महानगरपालिकाले सम्पदा संरक्षण अन्तर्गत यसअघि पनि धाराको जीर्णोद्धार गर्ने, निकास खोल्ने लगायत काम गरेपनि त्यत्तिले मात्र नहुने भएकाले ढुङ्गेधारामा पानी बगाउन वृहत कार्य गर्न लागेको नगरपालिकाको सम्पदा संरक्षण विभागकी वरिष्ठ आर्किटेक्ट चन्द्र शोभा श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार ललितपुरका ४७ वटा ढुङ्गे धारामा बर्षायाममा पानी बग्ने गर्दछ । ललितपुर महानगरपालिका भित्र ७५ वटा ढुङ्गे धारा रहेकोमा महानगरपालिका बनेपछि धाराको संख्या बढ्ने श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार महानगरपालिकामा गाभिएको कार्यबिनायक नगरपालिका भित्रको धाराको सर्भेक्षण हुन बाँकी छ ।

यस्तो छ ढुङ्गे धारामा पानी बगाउने योजना

ललितपुर महानगरपालिकाले यस अघि नै ढुङ्गे धारालाई सम्पदाको रुपमा परिभाषित गरी यसको नियमित मर्मत, सरसफाइ तथा संरक्षणका कार्यक्रमहरु गर्दै आएको छ । सिठी नखः पर्वको बेला पनि इनारमा मात्र सरसफाइ नगरी समुदायलाई ढुङ्गेधाराको इतिहास सम्बन्धी जानकारी दिदै यसको संरक्षणमा अभिमुखीकरण गर्दै आएको छ ।

स्थानीय तह चुनाव मार्फत जनप्रतिनिधि निर्वाचित भएर आएपछि यस बिषयले अझ व्यापकता पाएको हो । महानगरपालिकाले ढुङ्गे धारालाई पुरानै अवस्थामा फर्काउन निम्न क्रियाकलाप गर्ने जनाएको छ ।

राजकुलो सञ्चालन गर्ने

राजकुलोबाट पानी ल्याएर लगनखेलका पोखरीहरुमा भरिएपछि ललितपुरको धारा तथा इनारमा पानी आइरहन्थ्यो । चक्रपथ बनाउने क्रममा राजकुलोबाट आउन नसकेपछि ललितपुरका पोखरी, ढुङ्गे धारा र इनारमा पानी सुक्दै गएको पुर्खाहरु बताउँछन् ।

२०६३ सालमा राजकुलोको पुनःनिर्माण गर्ने काम अगाडि बढेपनि पूर्णता पाउन नसक्दा ठैबुसम्म मात्र मर्मत भएको छ । रिङरोड बनाउने क्रममा रहेकोले राजकुलो मर्मत गर्ने उपयुक्त समय यही बेला रहेको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो ।

पोखरीहरु भर्ने 

राजकुलो सञ्चालन भएपछि लगनखेल लगायतका ठाउँमा रहेका पोखरीहरुमा पानी भर्ने महानगरपालिकाको योजना छ । अरु ठाउँको तुलनामा लगनखेल अलि उच्च ठाउँमा रहेकाले पोखरीहरुमा पानी भरिएपछि भिरलो सतहबाट पानी भूमिगत रुपमा धारा तथा इनारमा पुग्ने अनुमान छ ।

रिचार्ज पीटहरु बनाउने 

जमिनमुनि पानी पठाउनका लागि महानगरपालिकाले ठाउँ ठाउँमा रिचार्ज पीठहरु बनाउने भएको छ  चन्द्र शोभा शाक्य भन्नुहुन्छ ‘पहिले खाली जग्गा थियो, खेतैखेत थियो तर अहिले पहिलेको जस्तो अवस्था छैन, पानी जमीनले सोस्न नपाएकाले खोला जस्तै बहन्छ । अनि जमिनमुनि जान नपाएपछि कहाँबाट आउँछ पानी ? त्यसैले निश्चित ठाउँमा रिचार्ज पिठहरु बनाउने योजना छ ।’
 
इनार बन्द गर्ने 

अनुसन्धानका क्रममा ढुङ्गे धारामा पानी जाने च्यानलमै इनार खनेको पत्ता लागेमा त्यस्तो इनार बन्द गर्ने सम्मको योजना रहेको महानगरपालिकाले जनाएको छ ।

खाली क्षेत्र राख्न लगाउने 

महानगरपालिकाले घर बनाउने नक्सा स्वीकृत गर्ने बेला नै निश्चित भुभाग खाली राख्न लगाउने भएको छ । खाली भूभाग राख्दा छानोबाट झरेको पानी वा आकाशेपानी जमिनमुनि छिर्न पाइने र यसले गर्दा भुमिगत पानीको सतह पनि नघट्ने र तिनै पानी इनार तथा जाने भएकाले धारा सुक्न पनि नपाउने महानगरपालिकाको ठम्याइ छ । 

पानी जाने च्यानल भेटिए खबर गर्नुपर्ने

घर निर्माण गर्ने क्रममा ढुङ्गे धारामा पानी जाने च्यानल भेटिए महानगरपालिकालाई जानकारी गराउनुपर्ने शर्त हुन्छ । यो शर्त महानगरपालिकाले पहिले देखि नै लागु गर्दै आएको छ । तर अहिलेसम्म खबर गरेको अवस्था भने नरहेको र अब कडाईका साथ कार्यान्वयन गरिने सम्पदा संरक्षण विभागकी वरिष्ठ आर्किटेक्ट चन्द्र शोभा श्रेष्ठले बताउनुभयो ।

ढुङ्गेधाराको संरक्षण सम्बन्धी बृहत योजना तयार पार्न गठित समितिको प्रस्तावना आइनसकेकाले अन्य क्रियाकलापहरु समेत थप हुन सक्ने श्रेष्ठले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार