फोहोर व्यवस्थापनमा आफ्नै निर्देशिका पालना गर्दैनन् निजी कम्पनी

🔗
6
Shares

काठमाडौ : फोहोर व्यवस्थापन संघ, नेपाल (स्वमान) ले स्वनियमन निर्देशिका १ चैतबाट लागू गर्दै फोहोरमैला व्यवस्थापनलाई सुरक्षित बनाउन मजदुरलाई नीलो वा हरियो रङको ट्र्याकसुट र हरियोमा पहेँलो धर्का भएको क्याप अनिवार्य गर्ने भनिएको थियो । तर, आफैँले बनाएको नियम आफ्नै कम्पनीमा कार्यान्वयन गरेका छैनन् । फोहोरबाट लाखौँ कमाइरहेका कम्पनीले मजदुरलाई व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री समेत दिएका छैनन् ।

बरु फोहोर व्यवस्थापनको जिम्मा लिएका निजी कम्पनी व्यक्तिगत सुरक्षा उपकरण (पिपिई)का लागि सरकार र एनजिओसँग हारगुहार गरिरहेका छन् । स्वमानका महासचिव मित्रप्रसाद घिमिरे यस्तो संकटको बेलामा पनि सरकारलाई सहयोग पु‍र्‍याएपनि सरकारले चिकित्सकलाई मात्रै सर्बेसर्वा ठानेको बताउनुहुन्छ । सफाई कामदारका लागि सामान्य सुविधा समेत दिन तत्पर नरहेको भन्दै उहाँले सबै सफाई मजदुरलाई स्वास्थ्यकर्मी सरह पोशाक, बीमा र अन्य सुविधा उपलब्ध गराउनुपर्ने माग गर्नुभएको छ ।
उहाँका अनुसार उपत्यकाको ७० प्रतिशत फोहोर व्यवस्थापनमा निजी क्षेत्रको भूमिका रहेको छ । सरकारले सफाई मजदुरलाई फोहोरकै दर्जामा राखेर व्यवहार गर्ने गरेको उहाँको गुनासो छ । उहाँले सबै कम्पनीले मजदुरका लागि स्वास्थ्य सुरक्षा उपकरण उपलब्ध गराएको दाबी गर्नुभयो ।

वाटर एड नेपालको सहयोगमा गुथी नामक संस्थाले संघ अन्तर्गत रहेका मजदुरलाई तीन सय ९० थान पीपीई, मास्क र पञ्जा समेत उपलब्ध गराएको र त्यो समेत वितरण भइसकेको उहाँले जानकारी दिनुभयो । निजी क्षेत्रले सफाईलाई व्यवसायका रुपमा सञ्चालन गरेपनि सेवामुलक व्यवसाय भएकाले सरकारले सघाउनु पर्ने महासचिव घिमिरेको दाबी छ ।

लकडाउन भएपछि सडक र सहरमा उत्सर्जन हुने फोहोरको मात्रा घटेको छ । होटेल, रेस्टुरेन्ट र सपिङ मल बन्द भएकाले फोहोर निस्केको छैन । उद्योग–कलकारखाना पनि बन्द छन् । सडकमा मानिसको चाप नभएपछि सडकमा पनि फोहोर उत्सर्जन रोकिएको । तर, घरभित्र उत्सर्जन हुने फोहोरको मात्रा भने बढेको छ ।

घरभित्र उत्सर्जन हुने फोहोरलाई पनि कुहिने र नकुहिने फोहोरमा बर्गीकरण गरी कुहिने फोहोरको व्यवस्थापन आफैले गर्न काठमाडौ महानगरपालिकाले आग्रह गर्दै आएको छ । कुहिने फोहोरलाई कम्पोष्ट बनाई कौसी वा आँगनमै तरकारी वा पुष्प खेती गर्न सके कुहिने फोहोरको प्रयोगबाट हरियाली प्रबर्धन, तरकारी किन्न लाग्ने खर्चमा कटौती र पुष्प बगैंचाले घरको वातावरण हराभरा हुने विज्ञहरु बताउँछन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार