काठमाडौ : खानेपानीमा कोलिफर्म भेटियो भन्ने खबर नौलो हुन छाडेको छ । खानेपानीको गुणस्तर मापन गर्दा कोलिफर्म भेटिएका र त्यस्तो जीवाणु दिसामा मात्र पाइन्छ भन्ने पनि धेरैलाई थाहा छ । तर मानिसले पिउने पानीमा दिसामा पाइने जीवाणु अर्थात कोलिफर्म कसरी मिसिन्छ त ?
यसरी मिसिन्छ खानेपानीमा कोलिफर्म
पहिलो कारण : बर्षायाममा परेको पानी भेलको रुपमा परिणत भएर भिरालो जमिनबाट खोंचतिर बहन्छ । खोंचमा पानीको मूहान हुन्छ । भिरालो पाखा भित्तामा मानिसले खुला दिसा गरेको हुनसक्छ वा मानिसको मात्र नभएर पशुचौपायाको गोबर तथा चराचुरुङ्गीको विष्टा पनि हुनसक्छ ।
यसरी हावा तथा पानीको माध्यमबाट खुला ठाउँको दिसा तथा गोबर पानीमा मिसिन्छ र परिक्षण गर्दा खानेपानीमा कोलिफर्म भेटिन्छ ।
दोस्रो कारण : बर्षायाममा जताततै पानीको मूल फुट्छ । मानिसहरु अस्थायी पानीको स्रोत प्रयोग गर्न थाल्छन् । नियमित पानी खाने पधेंरा नभएकाले अस्थायी पानीको स्रोत खुला तथा संरक्षित हुँदैन । घर नजिकै फुटेको पानीको मूलमा पशुचौपाया, कुखुरा लगायतको प्रवेश हुन्छ र पानीमा कोलिफर्म मिसिन्छ ।
सामान्यतयः पानीमा कोलिफर्म हुनु भनेको पानी प्रदुषित वा पिउन अयोग्य हुनु हो । कोलिफर्म आँखाले देख्न सकिन्न तर कोलिफर्म मिसिएको पानी पिउँदा मानिसमा झाडापखाला लाग्न सक्छ ।
कोलिफर्म के हो ?
कोलिफर्म मानिस, गाइबस्तु, चराचुरुङ्गी जस्ता तातो रगत भएका पशुपंक्षीको दिसामा पाइन्छ । कोलिफर्म भनेको कुनै एउटा व्याक्टेरिया मात्र नभई दर्जनभन्दा बढी ब्याक्टेरियाहरुको समूह हो ।
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेर बहादुर पुन भन्नुहुन्छ ‘कुनै पानीमा कोलिफर्म भेटिनु भनेकै मानिस लगायत कुनै न कुनै पशुपंक्षीको दिसा मिसिनु भन्ने हो, कोलिफर्मको मात्रा कति मिसिएको छ भन्ने कुराले त्यस्तो पानी पिउन हुने वा नहुने भन्ने निर्धारण गर्छ ।’ डा. पुनका अनुसार धेरैजसो ब्याक्टेरियाले मानव स्वास्थमा खासै जोखिम निम्त्याउदैन ।
कुन कोलिफर्मले मानव स्वास्थ्यमा कस्तो हानी हुन्छ ?
नेपालमा कोलिफर्मका विषयमा चर्चा हुने गरे पनि कुन तहको हो भनेर छुट्याउने गरेको छैन । केही अनुसन्धानहरुमा वर्गीकरण गरेर अध्ययन गरिए पनि अरु अवस्थामा यसको वर्गीकरण हुन नसकेको डा. पुन बताउनुहुन्छ ।
इकोलाई कोलिफर्म : इकोलाईुलाई फेकल कोलिफर्मको उपसमूहका रुपमा राखेर हेरिन्छ । यो कोलिफर्म मिसिएको पानी पिउदा स्वास्थ्यमा हानी गर्छ । धेरैजसो इकोलाईका प्रजातिहरू त्यत्ति खतराजनक नभएपनि इकोलाइ मिसिएको पानी पिउँदा पखाला लाग्ने, टाउको दुख्ने र मांशपेशी बाउँडिने हुन सक्छ ।
फेकल कोलिफर्म : यसले पानीमा जनावर वा मानिसको दिसा मिसिएको भन्ने बुझाउँछ । यो कोलिफर्मले इकोलाईले भन्दा केही कम हानी पु-याउँछ ।
टोटल कोलिफर्म : यसले कोलिफर्मको समूहलाई बुझाउँछ । यसले पानीमा फोहोर मिसिएको भन्ने बुझाउँछ । टोटल कोलिफर्मको मात्रा त्यत्ति धेरै नभएमा यो मिसिएको पानीले मानिसको स्वास्थ्यमा खासै हानी पु-याउँदैन ।