काठमाडौं : काठमाडौं महानगरपालिकामा सफाइ क्षेत्रमा कार्यरत कर्मचारीहरुको शुक्रबार कोरोना संक्रमण परीक्षण गरिएको छ । राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकूमा महानगरपालिकाका सफाइ कर्मचारी र फोहोरमैला संकलन गर्ने मजदूरहरुको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) र पीसीआर दुबै विधिबाट परीक्षण गरिएको हो । शुक्रबार काठमाडौंको टेकुमा उनीहरुको आरडीटी परीक्षण र पीसीआरका लागि स्वाब संकलन गरिएको छ ।
काठमाडौं महानगरपालिकामा ९५० कर्मचारी सफाइ क्षेत्रमा कार्यरत छन् । सङ्क्रमणको पहिचान गरी थप सुरक्षित बन्नका लागि क्रमशः जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र सञ्चारकर्मीको परीक्षण गर्ने तयारी भएको कामपा प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमणको जोखिम हुन नदिन काठमाडौँ महानगरपालिकाले कोरोना परीक्षणलाई निरन्तरता दिएको छ । बिहीबार कालीमाटी तरकारी बजार विकास समितिमा कार्यरत कर्मचारी, थोकबिक्रेता, मजदूर तथा चालक गरी एक हजार ३४ को परीक्षण गरिएको थियो ।
ती मध्ये ७०० जनाको आरडिटी (र्यापिड डाइग्नोष्टिक टेष्ट) र ३३४ जनाको पिसिआर (पोलिमेयर चेन रियाक्सन) परीक्षण गरिएको हो । आरडिटी गरिएकामध्ये चार जनाको नतिजा पोजेटिभ देखिएको र पिसिआरको नतिजा आउन बाँकी रहेको महानगर, जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रविलास बज्राचार्यले जानकारी दिनुभयो ।