काठमाडौ, प्रसन्न तामाङ : फोहोर भन्ने वित्तिकै तपाई हामी नाक खुम्च्याउँछौं, हुन पनि काठमाडौ उपत्यकामा एक/दुई दिन फोहोर उठाइएन भने शहर नै दुर्गन्धित हुन शुरु हुन्छ ।
तर फोहोरमैला व्यवस्थापनको क्षेत्रमा लामो अनुभव संगालेका व्यक्तिहरु भने फोहोरमैलामा पैसै पैसा देख्छन् । कुनै एक व्यक्तिका लागि फोहोर वस्तु अर्को व्यक्तिका लागि अति आवश्यक वस्तु हुने उनीहरु बताउँछन् ।
कतिपय फोहोर व्यवस्थापन विज्ञहरु फोहोरलाई स्रोत भन्न रुचाउँछन् । फोहोरमैला व्यवस्थापनको क्षेत्रमा विगत २० बर्षदेखि क्रियाशील नेपाल प्रदुषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्र (नेम्सेम्याक) का कार्यकारी निर्देशक टिकाराम दाहालसँग शहरको फोहोरमैला व्यवस्थापनका विषयमा राम्रो अनुभव छ । उहाँ एनजिओफेक नेपालका अध्यक्ष समेत हुनुहुन्छ । शहरको फोहोरमैला व्यवस्थापनबारे उहाँ यसो भन्नुहुन्छ ।
१० प्रतिशत फोहोर मात्र काम नलाग्ने
झट्ट आँखाले हेर्दा हामी सबैजसो फोहोर काम नलाग्ने फोहोर भन्दै फ्याँक्ने गर्छौ, तर नेपाल प्रदुषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्र (नेम्सेम्याक) का कार्यकारी निर्देशक टिकाराम दाहालका अनुसार झण्डै ९० प्रतिशत फोहोर काम लाग्ने खालका हुन्छन् भने १० प्रतिशत फोहोर मात्र नफ्याँकी नहुने खालका हुन्छन् ।
‘जम्मा फोहोरको ६० देखि ७० प्रतिशत जैविक अर्थात कुहिने फोहोर हुन्छन् । झण्डै ३० देखि ४० प्रतिशत नकुहिने फोहोर हुन्छन् । नकुहिने फोहोरमा पनि २० देखि २५ प्रतिशत फोहोर छानेर तत्काल पुनःप्रयोग गर्न मिल्ने खालका हुन्छन् ।’ उहाँले भन्नुभयो ।
पुनः प्रयोगमा आउने जत्तिलाई छानेर पुनःप्रयोग गरिहाल्ने
अरुले फोहोर भनेर फ्याँकिने वस्तुहरु बोतल, कागज, प्लाष्टिक, कार्टुन, सबै पुनः प्रयोगमा आउने फोहोर हुन् । यो तत्काल विक्री हुन्छ । नेम्सेम्याकका कार्यकारी निर्देशक दाहाल भन्नुहुन्छ ‘त्यसको तौल अनुसारको पैसा पाइन्छ । पेट बोतलको विर्को राम्रो मूल्यमा विक्री हुन्छ । जस्ताको तस्तै विक्री भएन भने पनि यसको रुप बदलेर अर्थात केही प्रशोधन गरेर जस्तो ः च्यातिएको प्लाष्टिकलाई फेरि राम्रो प्लाष्टिक बनाएर, बोतललाई पनि त्यसैबाट अर्को बोतल बनाएर विक्री गर्न सकिन्छ ।’
जैविक फोहोरबाट कम्पोष्ट मल बनाउने
हामीले नै गरेको एक अध्ययन अनुसार फोहोरको ६० देखि ७० प्रतिशत हिस्सा जैविक फोहोर अर्थात कुहिने खालका हुन्छन् । जस्तो : भान्छामा बढी भएको खानेकुरा, सागसब्जी, फलफूलका बोक्रा तथा विग्रिएका तरकारीहरु, फलफूल तथा तरकारीका बोक्रा ।
यसबाट मल बनाउने, काठमाडौमा दैनिक १५ सय टन फोहोर उत्पादन हुन्छ ती मध्ये ६० प्रतिशत अर्थात झण्डै ९०० टन फोहोर कुहिने फोहोर हुन्छन् ।
यदि फोहोरको सदुपयोग गर्ने हो भने दैनिक ६ सय टन फोहोर मात्र ल्याण्डफिल साइटमा विसर्जन गर्नुपथ्र्यो तर अहिले ठीक उल्टो छ, बढीजसो हामीले फ्याँकिरहेका छौं, बाँकी चाहिं फोहोर व्यवस्थापनमा संलग्न विभिन्न संघसंस्थाले विभिन्न तरिकाले प्रयोग गरिरहेका छौं ।
यसरी बनाउन सकिन्छ जैविक फोहोरबाट मल
जैविक फोहोरबाट मल बनाउने त भन्यौं, तर यो पनि यत्तिकै बन्दैन । यसका पनि निश्चित विधिहरु छन् । कुहिने नकुहिने फोहोर एकै ठाउँमा मिसाएर मल बन्दैन । अहिलेको समस्या पनि यही हो ।
हामीले जैविक फोहोरबाट मल बनाउन त खोज्छौं, तर एकै ठाउँमा मिसिएको फोहोरबाट छानेर कम्पोष्ट मल बनाउन झण्झट मात्र होइन, लागत पनि धेरै पर्छ ।
हामी कहाँ उत्पादित फोहोरबाट काठमाडौ महानगरपालिकाले जस्तो ग्यास निकाल्ने, विजुली निकाल्ने काम गर्न नसकौंला तर घरायसी स्तरमै मल बनाएर कौसी खेती, तरकारी खेती, गमलामा रोपिएको फूलमा राम्ररी प्रयोग गर्न सकिन्छ ।
मल बनाउने मन छ ? यसो गर्नुहोस्
सबै भन्दा पहिले भान्छामा दुई खालका प्लाष्टिकका भाँडा राख्नुहोस् । एउटा .रातो खालको भाँडामा नकुहिने फोहोरहरु राख्नुहोस्, अर्को हरियो भाँडामा कुहिने फोहोरहरु राख्नुहोस् । यसरी छुट्टाछट्टै फोहोर राख्दा फोहोर व्यवस्थापन गर्न सजिलो हुन्छ । भान्छामै फोहोर छुट्याएपछि कुहिने खालका फोहोर आफै सँग राख्नुहोस् ।
अर्को रातो भाँडामा राखिएका फोहोरहरु फोहोर व्यवस्थापन गर्ने संस्थाका कर्मचारीहरु आउँदा पठाइदिनुहोस् । यदि नकुहिने फोहोरमा पनि धारिला बस्तु, फुटेका सीसा आदि छन् भने छुट्ट दिनुहोस् जसका कारण कर्मचारीहरुको हात काट्ने अरु अंग काट्ने समस्या उत्पन्न नहोस् ।
दोस्रो चरणमा यसो गर्नुहोस्
तपाईले दुईवटा भाँडा राखेर फोहोरलाई बेग्लाबेग्लै राख्न थालेपछि अब कुहिने फोहोरलाई कम्पोष्टिङ बिनमा राख्नुहोस् । यो बजारमा किन्न पाइन्छ ।
यदि तपाईको घरमा कम्पाउण् फराकिलो छ भने कम्पाउण्डमा सानो कुनोमा कुहिने फोहोर लगेर थन्क्याउने, त्यहाँ जीवातु वा इएम् भन्ने रसायन हुन्छ त्यो छर्किने, त्यसलाई प्लाष्टिकले छोपिदिने र कहिलेकाही चलाईदिने ।
जीवातुले कुहाउने भन्दा पनि पकाउने काम गर्छ र यसले गन्ध नियन्त्रण गर्छ । त्यसपछि यो तीन महिनामा कम्पोष्ट मल बन्छ । यसरी तयार भएको मल तपाईलाई जहाँ प्रयोग गर्न मन लाग्छ, करेसाबारी, फूलबारी, गमला जहाँ पनि आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ ।
कुहिने फोहोरबाट निस्कने झोल नियन्त्रण गर्ने
बिन कम्पोष्टमा मल मनाउँदा अलि मोइस्चर व्यवस्थापन गर्नुपर्छ । जैविक फोहोरमा ६६ प्रतिशत तरल पदार्थ हुन्छ । जब जब हामी बिनमा फोहोर थप्दै जान्छौं, त्यहाँबाट तरल पदार्थहरु पींध तर्फ जम्मा हुँदै जान्छ । त्यो फोहोरको झोललाई व्यवस्थापन गर्नका लागि सुख्खा माटो, भुस, खरानी, धानको ढुटो जस्ता सुख्खा पदार्थहरु पनि हाल्दै जानुपर्छ । घरायसी स्तरमा फोहोर व्यवस्थापनको यो एउटा नमुना हो, धेरै घर परिवारले यसरी नै फोहोर व्यवस्थापन गर्दै आउनुभएको छ ।
जैविक फोहोरलाई यसरी कम्पोष्ट मल बनाएर प्रयोग गर्ने हो भने फ्याँक्नै पर्ने फोहोरको मात्रा अति नै कम हुन्छ । जब कम फोहोर उत्पादन हुन्छ, व्यवस्थापन गर्न पनि सजिलो हुन्छ ।
नेपाल प्रदुषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्र (नेम्सेम्याक) का कार्यकारी निर्देशक एवं एनजिओफेक नेपालका अध्यक्ष टिकाराम दाहालसँग शहरको फोहोरमैला व्यवस्थापनका विषयमा गरिएको कुराकानीमा आधारित


1138 पटक हेरिएको 

