स्थानीयको अवरोध हटेपछि फोहोरका गाडी सिसडोल ल्याण्डफिल साइट जान थाले

काठमाडौ, दिक्पाल गिरी : सडक मर्मतको काम शुरु भएपछि सिसडोल ल्याण्डफिल साइटको फोहोर ढुवानीमा स्थानीयबासिन्दाले गर्दै आएको अवरोध हटेको छ ।

काठमाडौ महानगरपालिका देखि ओखरपौवाको सिसडोल ल्याण्डफिल सम्मको सडक विग्रदै गएकाले सडक मर्मत गर्नुपर्ने लगायत स्थानीयबासिन्दाले ७ बुँदे माग राखी फोहोर बोक्ने गाडीलाई अवरोध पु-याएका थिए ।

अस्ति विहीबार स्थलगत निरीक्षणका लागि पुग्नुभएको काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य समक्ष स्थानीय बासिन्दाले ७ बुँदे माग राखी ज्ञापन पत्र बुझाएका थिए ।

पटक पटक स्थानीयबासिन्दा सँग गरिएको सम्झौता कार्यान्वयन हुनुपर्ने, फोहोरका कारण उत्पन्न हुने रोगको उपचारका लागि तारकेश्वर नगरपालिका ३ मा रहेको तीनपिप्ले स्वास्थ्य चौकीलाई १० शैयाको अस्पतालको रुपमा विकास गर्नुपर्ने, बाटो निर्माणका क्रममा विग्रे भत्केका बाटा, कुलो, खानेपानी, सांस्कृतिक सम्पदाहरु तत्काल पूर्णरुपमा बनाउनुपर्ने लगायत माग राखेका थिए ।

‘ती मध्ये सबैभन्दा प्रमुख माग तारकेश्वर नगरपालिकाको तीनपिप्लेदेखि सिसडोल ल्याण्डफिल साइट सम्मको ८ किलोमिटर बाटो कालोपत्रे गर्नुपर्ने भन्ने थियो, महानगरपालिकाले हिजैदेखि सडक मर्मतको काम शुरु गर्न थालेकाले हामीले अवरोध हटायौं, आजैदेखि फोहोर बोक्ने गाडीहरु चल्न थालेका छन्’ आन्दोलनको नेतृत्व गरिरहेका तारकेश्वर नगरपालिका ३ का बासुदेव घिमिरेले भन्नुभयो ।

सडक खण्डमा हिजैदेखि मर्मतका साधन पुगेपछि गाडी चल्न दिएको र हिजो नै केही गाडी ल्याण्डफिल साइटमा गएको उहाँले बताउनुभयो । ‘हिजैदेखि पठाएका हौं, आजदेखि त कुनै अवरोध छैन, दैनिक १२० देखि १२५ फोहोर बोक्ने गाडी गुड्छन्’ उहाँले भन्नुभयो ।


एक अध्ययन अनुसार काठमाडौ उपत्यकामा दैनिक १५ सय मेट्रिक टन फोहोर उत्पादन हुदै आएको छ । ती सबै फोहोर सिसडोल ल्याण्डफिल साइटमा व्यवस्थापन गरिदै आएको छ ।

स्थानीयबासीको अवरोधका कारण फोहोर व्यवस्थापनको काम डेढ दिन अवरुद्ध भएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार