काठमाडौ : काठमाडौ उपत्यकामा कोरोना संक्रमित दिन प्रतिदिन थपिदो छ । आइसोलेसन तथा अस्पतालहरु कोरोना संक्रमितले भरिन थालेका छन् । कोरोना संक्रमितले उत्सर्जन गर्ने फोहोरको राम्रोसँग व्यस्थापन गर्न नसके सोही फोहोरबाट पनि थप संक्रमण हुने सम्भावनालाई नकार्न सकिन्न ।
कोरोनाजन्य फोहोरमैला व्यवस्थापनका लागि ललितपुर महानगरपालिकाले के गरिहेको छ त ? वातावरण अधिकृत प्रदिप अमात्य भन्नुहुन्छ ‘ललितपुर महानगरपालिकामा कार्यरत सरसफाईकर्मीको १ लाखको कोभिड विमा भएको र विभिन्न संघसंस्था मार्फत पिपिई उपलब्ध गराईए छ ।’ उहाँका अनुसार पिपिई सामग्री पनि सरसफाइकर्मीले काम गर्ने क्रममा साटासाट हुने अवस्था देखिएकाले हरेक प्रयोग पछि पिपिईलाई निसंक्रमण गर्नुपर्छ ।
किर्तिपुर नगरपालिकाका वातावरण अधिकृत ज्ञान वज्र महर्जनले किर्तिपुर नगरपालिकाले महामारीको अवस्थामा फोहोर व्यवस्थापनमा लागेका सरसफाईकर्मीलार्ई पिपिई वितरण गरिए पनि सरसफाइकर्मीद्वारा त्यसको प्रयोग पूर्णरुपमा नभएको बताउनुभयो । क्लोरिन निसंक्रमण र खाल्डो खनेर संक्रमित फोहोर व्यवस्थापनका कार्य सुरु भइसकेको उहाँले बताउनुभयो । होम आईसोलेसनको सन्दर्भमा घरबाट उत्पादन हुने फोहोरलाई व्यवस्थित गर्न नगरपालिका, जनप्रतिनिधि, निजी क्षेत्र र स्वास्थ्यकर्मी बीच समवन्य गरी अघि बढने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।
मध्यपुर थिमी नगरपालिकाका वातावरण अधिकृत तुल्सी भक्त तकोले काठमाडौं उपत्यकामा संक्रमितको संख्या अत्यन्तै बढेको अवस्थामा संक्रमित फोहर व्यवस्थापन स्थानिय तहको लागि ठुलो चुनौति रहेको उहाँले बताउनुभयो । उहाँले हालको अवस्थामा निजी क्षेत्रसँगको समन्वय बढाउनुपर्ने आवश्यकता औल्याउनुभयो । समाजमा डरत्रास बढेको अवस्थामा संक्रमितलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने उहाँको भनाइ छ ।
यस्तै फोहोरमैला विशेषज्ञ महेश नकर्मीले पिपिई वितरण मात्र गरेर नपुग्ने र सरसफाइकर्मीलाई यसको सही प्रयोगको विषयमा तालिम दिइनुपर्ने कुरा औल्याउनुभयो ।
यस्तै गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले कोभिड महामारीको समयमा संक्रमण नियन्त्रण गर्न फोहरमैला व्यवस्थापन एक अत्यावश्यक अंग रहेको बताउनुभयो । हाल समुदायमा कोभिड–१९ का विरामीहरु होम आइसोलेसनमा बसिरहेका हुँदा घरघरबाटै सम्भावित संक्रमित फोहोरहरु उत्पादन भैरहेको अवस्थामा ती फोहोर पदार्थहरुलाई बैज्ञानिक ढंगले संकलन र व्यवस्थापन गर्न आवश्यक सिप अनौपचारिक क्षेत्रमा काम गर्ने सफाईकर्मी र मजदुरहरुको लागि अत्यन्त जरुरी भएको र यसमा स्थानीय तहले आवश्यक कार्यक्रम तत्कालै ल्याउनु पर्ने माग गर्नुभयो ।