कार्कीडाँडा : दिगो सरसफाइको उत्तम उदाहरण

🔗
19
Shares

♦ भरत अधिकारी

“हाम्रै गाउँले यहाँ वरपरका दश गाउँलाई चर्पीमा दिसा गर्न सिकायो” धादिङ जिल्लाको कार्कीडाँडाका विष्णुबहादुर थापा भन्नुहुन्छ “हामीले चर्पी प्रयोग गरेको देखेर नै बाटो लाइन र बजारका मानिसले पनि चर्पी प्रयोग गर्न सिकेका हुन् ।”

उहाँको यो भनाईसँग सिम्ले बजारका व्यापारी ध्रुव थापा पनि सहमत हुनुहुन्छ । उहाँ भन्नुहुन्छ “कार्कीडाँडामा चर्पी बन्ने अभियान शुरु भएपछि नै मैले प्यान, पाइप बेच्न थालेको हुँ, यस क्षेत्रमा सरसफाइको गुरू कार्कीडाँडा नै हो ।” सरसफाइ प्रवर्धन केन्द्रका रूपमा स्थापित उहाँको पसलमा प्यान, पाइप, फलामे रड, सिमेन्ट, हार्पिक, ब्रस लगायतका सरसफाइ सामग्रीहरू पाइन्छन् ।

कार्कीडाँडामा करीव ३० वर्ष अघि खानेपानी आयोजना सम्पन्न भएको हो । यस समुदायमा नेपालमै पहिलो पटक ‘समुदायको अगुवाईमा सञ्चालित पूर्ण सरसफाइ पद्धति’ अनुरूप खुला दिसामुक्त कार्यक्रम सञ्चालन भएको थियो । उक्त कार्यका लागि वाटरएड नेपाल र नेपाल स्वास्थ्यको लागि पानी (नेवा) को योगदान रहेको थियो । खानेपानी प्रणालीको उचित तथा नियमित मर्मतसम्भार, मर्मतसम्भार कोषको उचित परिचालन, पानीको नियमित आपूर्तिजस्ता विशेषता बोकेको यो आयोजनामा सरसफाइको पक्ष समावेश भएपछि गाउँ साँच्चिकै नमूना बन्यो । यसका लागि यहाँका वासिन्दाले मेहेनत पनि गरेका थिए । स्थानीय वासिन्दा लोकमणि तामाङ भन्नुहुन्छ “हाम्रो समुदाय यस क्षेत्रकै पहिलो खुला दिसामुक्त समुदाय भएकाले यहाँ अवलोकन भ्रमण गर्न आउनेको ताँती नै लाग्यो ।”


दिगो सरसफाइको आनी बानीको विकास

कार्कीडाँडामा सरसफाइप्रति मानिसहरूको संवेदनशीलता कतिसम्म बढेको छ भने गाउँमा कसैले नयाँ घर बनायो भने घर बन्नु अघि चर्पी बनिसक्छ । स्थानीय रामचन्द्र थापा भन्नुहुन्छ “चर्पी त हाम्रा लागि नभइ नहुने भइसक्यो, त्यसैले मैले त नयाँ घडेरीमा पहिले चर्पी बनाएर त्यसपछि घर बनाएँ ।”

गाउँको पल्लो छेउमा रहेको विद्यालयको सरसफाइको अवस्था पनि सन्तोषजनक छ । प्रधानाध्यापक रामहरि सुवेदीका अनुसार प्रत्येक विद्यार्थीले चर्पी प्रयोग र सफाइ गर्छन् । विद्यालयमा सरसफाइको अवस्था सन्तोषजनक रहनुको मुख्य कारण विद्यार्थीले घरमा पाएको सरसफाइ सम्बन्धी आनीबानी नै प्रमुख रहेको उहाँको ठहर छ । वास्तवमै सरसफाइ सम्बन्धी आनीबानीको विकास भएको पाइन्छ कार्कीडाँडाका वासिन्दाहरूमा । यहाँका बालबालिकाहरू धारामा नुहाइरहेका भेटिन्छन् भने चाङमा भाँडाकुँडा सुकाउने, खानेकुरा र पानी छोपेर राख्‍ने गरेको देखिन्छ । सरसफाइ यहाँका वासिन्दाको जीवनशैली बनेको उदाहरण स्थानीय केशव थापाको भनाईबाट प्रष्ट हुन्छ । उहाँ भन्नुहुन्छ “हाम्रो आँखामा त भुइँमा देखेको सानो प्लाष्टिकको टुक्रा पनि बिझाउँछ ।”

विकासका अन्य आयामतिर लम्किएको समुदाय

यहाँका वासिन्दा खुल्ला दिसामुक्त क्षेत्र घोषित भएपछि त्यत्तिमै सन्तोष मानेर बसेनन् । गाउँमा आएको चेतनाको लहरले उनीहरूलाई विकासका अन्य गतिविधितिर लाग्न उत्प्रेरित गर्‍यो । गाउँमा विकासका अन्य अवसरहरू भित्र्याउनका लागि खानेपानी प्रणालीको मर्मत सम्भार कोष सबैभन्दा दरिलो माध्यम भयो । खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष जीतबहादुर तामाङ भन्नुहुन्छ “यो मर्मत सम्भार कोषले नै हामीलाई यहाँसम्म ल्याई पुर्‍याएको हो । हामीले गाउँमा आउने सडक खन्नका निम्ति यही कोषबाट तीन लाख रूपैयाँ सहयोग गर्‍यौं ।” साबिकको खानेपानीको मुहान भूकम्पका कारणले सुकेपछि यहाँका वासिन्दाले नयाँ मुहानबाट पानी ल्याएका छन् । पानीको सुविधाले घरायसी प्रयोजनका अतिरिक्त घर घरमा करेसाबारी लगाउन सहयोग पुगेको छ । यसरी, खानेपानी र सरसफाइ प्रवर्धनको कार्यले यहाँको विकास र जीविकोपार्जनको ढोका खोलिदिएको छ ।

खुला दिसामुक्त नेपाल : यात्रा वृत्तान्तबाट साभार । 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार