बारा : फोहोर प्रशोधन केन्द्र निर्माणमा स्थानीयले विरोध जनाएपछि बाराको जितपुरसिमरा उपमहानगरपालिकाले सडकमै फोहोर थुपार्न थालेको छ ।
फोहोर प्रशोधन केन्द्रको निर्माण गर्दा बस्ती नै दुर्गन्धित हुने र स्वास्थ्यमा असर पार्ने बन्दै उपमहानगरपालिकाको वडा नं. ४ फरहदवाका बासिन्दाले विरोध गरेको कारण देखाउँदै उपमहानगरपालिकाले सडकमै फोहोर थुपार्न थालेको हो ।
उपमहानगरले आर्थिक वर्ष २०७३/०७४ मा नगर क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको बजेटबाट फरदवामा फोहोर प्रशोधन केन्द्र निर्माण गरी फोहोर व्यवस्थापन गर्ने र प्रशोधित फोहोरबाटै विभिन्न उद्योगजन्य वस्तुको निर्माण गर्ने तयारी गरेको थियो ।
उपमहानगरको ३० प्रतिशत र नगर क्षेत्र विकास कार्यक्रमको ७० प्रतिशत गरी ६० लाखको लागतमा केन्द्रको स्थापना गर्ने गरी प्रक्रिया अघि बढाए पनि स्थानीय बासिन्दाले विरोध गरेपछि प्रशोधन केन्द्र निर्माणको काम स्थगित भएको छ ।
प्रशोधन केन्द्रका विषयमा स्थानीयमा नकारात्मक धारणा विकास भएकाले प्रशोधन केन्द्र निर्माण गर्न नदिएको उपमहानगरपालिकाका कार्यकारी प्रमुख डिल्लीराज बेल्वासेले बताउनुभयो । ‘प्रशोधन केन्द्रको जग खन्ने ठेक्का समेत भइसकेको थियो, त्यसपछि स्थानीबासिन्दाले विरोध गरेर काम अघि बढाउन दिएनन्, पटक पटकको बैठकबाट पनि कुरा नमिलेपछि बाध्य भएर काम रोक्नुप-यो ।’ उहाँले भन्नुभयो ।
फोहोर व्यवस्थापन केन्द्रको निर्माणपछि स्थानीयबासिन्दाका लागि रोजगारीको अवसर दिने, नगरको जैविक र अजैविक फोहोरलाई प्रशोधन गरी ८० देखि ८५ प्रतिशत सम्म फोहोरकै प्रयोगबाट प्लास्टिक झोला, कागज, ग्लास लगायतका उद्योगजन्य वस्तुको उत्पादन गर्ने योजना अनुसार प्रशोधन केन्द्र स्थापनाको तयारी थालेको थियो ।
शहरको बीचमा पर्ने र अन्यत्र जग्गाको व्यवस्थापन गर्न नसक्दा जीतपुरसिमरा उपमहागरपालिकाले फरहदवामा फोहोर प्रशोधन केन्द्र निर्माण गर्न लागेको उपमहानगरपालिकाका इन्जिनियर सञ्जीव रूपाखेतीले जानकारी दिनुभयो ।