दिसा व्यवस्थापनको कुरा देश विकास सँग जोडिएको बिषय हो : सचिव बेल्बासे

काठमाडौ : खानेपानी सचिव माधव बेल्बासेले दिसाजन्य लेदो व्यवस्थापनको कुरा देश विकास सँग जोडिएको बिषय भएको बताउनुभएको छ । नगरव्यापी समावेशी सरसफाइ र दिसाजन्य लेदो व्यवस्थापन विषयक जुम अन्तरक्रियामा सचिव बेल्बासेले दिसाजन्य लेदो व्यवस्थापनको कुरा मानव सभ्यता र स्वस्थ जीवन सँग जोडिएको बिषय भएको बताउनुभयो । ‘स्वस्थ जीवन भएमा मानिसले बढि समय काम गर्न सकिन्छ । बढी समय काम गर्न सक्नु भनेको यो देश विकास सँग जोडिएको बिषय छ’ सचिव बेल्बासेले भन्नुभयो ‘कसैले भन्नुहोला, यसले के बिषयमा छलफल गरेको होला ? तर यो देश विकास सँग जोडिएको बिषय हो ।’

गाउँघरमा सरसफाइ र खानेपानीको बिषय त्यत्ति सुहुलियतपूर्ण र स्वस्थकर नभईरहेको अवस्थामा पछिल्ला समयमा गाउँघरमा समेत सरसफाइ र खानेपानीको महत्व बुझ्दै गएको उहाँको भनाइ थियो । गाउँघरमा पनि राम्रा घर बन्ने थालेपनि ज्ञान र प्रविधिको अभावमा उपयुक्त तरिकाको सेप्टिक ट्याङ्क निर्माण हुन नसकेको उहाँले बताउनुभयो । ‘विभिन्न स्थानीय तहले यससम्बन्धी निश्चित मापदण्ड बनाएको छ । सेप्टिक ट्याङ्क सहितको नक्सा नभए घर निर्माण इजाजत नदिने र सेप्टिक ट्याङ्क नबनाए घर निर्माण सम्पन्नको कागजात नदिने लगायत प्रावधान राखेको भेटिएको छ, यो निक्कै प्रशंसायोग्य कदम हो ।’ उहाँले भन्नुभयो ।

खुला दिसामुक्त अभियानका क्रममा सबैको घरमा शौचालय बनेपनि अब दिसाजन्य लेदो व्यवस्थापनको समस्या सिर्जना हुन सक्ने प्रति सचेत गराउँदै उहाँले नगरपालिकाहरुले दिसाजन्य लेदो व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले यो बिषय स्थानीय तहको नेतृत्व सम्म पु¥याउनुपर्ने आवश्यकता औल्याउनुभयो । केन्द्र सरकार भने यस बिषयमा निक्कै गम्भीर रहेको र सोही कार्यक्रम अन्तर्गत झापाको चारआलीमा बनेको दिसाजन्य लेदो प्रशोधन केन्द्र सानो सहरहरुको लागि मुलुककै लागि राम्रो मोडेल भएको बताउनुभयो ।

उहाँले ढल प्रणाली सबै बस्ती र भुबनोटका लागि सम्भव तथा उपयुक्त नहुने भएकाले मिश्रित प्रणाली अपनाउनुपर्ने बताउनुभयो । ‘सबै ठाउँमा ढल सहितको प्रणाली सम्भव पनि छैन, त्यसैले हामीले मिश्रित तरिकाले सञ्चालन गर्दा राम्रो हुन्छ । पुरानो सहरहरु छन्, जहाँ ढल जडानका लागि सम्भव छैन । त्यस्ता ठाउँहरुमा पनि मिश्रित तरिकाको बनाउनुपर्छ ।’ उहाँले भन्नुभयो ।

समस्या बजेटको होइन, स्पष्ट योजनाको हो : अध्यक्ष व्यञ्जु


कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार व्यञ्जु श्रेष्ठले दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माणका लागि नगरपालिकाहरुसँग बजेट अभाव नभएको बताउनुभयो । स्पष्ट योजना र खाका भएमा ५÷१० करोडको बजेट हाल्न कुनै समस्या नपर्ने उहाँले बताउनुभयो । ‘५ करोड लगानी गर्न हामीलाई कुनै गाह्रो छैन, तर यो हाम्रो स्वास्थ्यका लागि, स्वच्छ सहरका लागि आवश्यक छ भन्ने कुरा बुझाउनुपर्छ । बजेटको त समस्या नै छैन ।’ उहाँले भन्नुभयो । हामी कहाँ राष्ट्रिय योजना आयोगले योजना बनाउने, योजना अनुसारको बजेट नहुने र बजेट अनुसारको कार्यान्वयन नहुने भएकाले योजनाहरु असफल भएको बताउनुभयो । सरसफाइकै प्रसंगमा अध्यक्ष व्यञ्जुले नेपालमा पनि भारतमा जस्तै नेपाल स्वच्छ अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले सरसफाइलाई संविधानको आँखाले हेर्नुपर्ने समेत बताउनुभयो ।

स्यानिटेशन पोलिसी आवश्यक छ : पूर्वमन्त्री शाह

कार्यक्रममा पूर्व विज्ञान प्रविधि तथा वातावरणमन्त्री गणेश शाहले स्यानिटेशन पोलिसी निर्माण गर्नुपर्ने बताउनुभयो । ‘काठमाडौ, जनकपुर र लमहीका लागि एउटै कि फरक ऐन बनाउने ?’ उहाँले भन्नुभयो ‘यसको लागि कस्तो पोलिसी बनाउने बारे छलफल गर्नुपर्यो । दिसाजन्य लेदो वेष्ट हो कि, सोर्स हो ? त्यसमा डिफाइन हुन्छ नि ।’
उहाँले व्यवस्थित सहरका लागि यो अति आवश्यक भएकाले प्रदेश तहमा छलफल गर्न आग्रह गर्नुभयो । ‘स्यानिटेशन पोलिसीका बारेमा छलफल गरौं, यसलाई ढिला नगरी प्रदेश तहमा छलफल गरौं’ उहाँले भन्नुभयो ।

बील एण्ड मेलिण्डा गेट्स फाउण्डेशनको सहयोगमा सोफेन र एन्फोले आयोजना गरिएको कार्यक्रममा बील एण्ड मेलिण्डा गेट्स फाउण्डेशनका डेपुटी डाइरेक्टर डा. रोशनराज श्रेष्ठ, इको कन्सर्न प्रालिका प्रमुख कार्यकारी अधिकृत कृष्णराम येन्ड्यो, खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिज्नल इन्जिनियर सुरत बम, एन्फोका प्रोग्राम डाइरेक्टर राजेन्द्र श्रेष्ठ, प्रतिभा न्यौपाने लगायतले दिसाजन्य लेदो व्यवस्थापन र यसका विविध पक्षबारे आ –आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार