
बाजुरा : बाजुराको बडिमालिका नगरपालिकाले खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) निर्माण गरेको छ । नगरपालिका क्षेत्र भित्रको खानेपानी, सरसफाइ र स्वच्छताको वर्तमान अवस्था तथा आगामी दिनमा गरिने योजनाका बारेमा तयार पारिएको वास प्लानको हालै विमोचन गरिएको छ । युनिसेफ नेपाल, यु.एन. ह्याबिट्याट र बडिमालिका नगरपालिकाको आर्थिक एवं भुमेश्वर सामुदायिक विकास संस्था (BCDO) को प्राविधिक सहयोगमा पाँच बर्षे (२०७७ -२०८१) वास प्लान तयार पारिएको युनिसेफ नेपाल बडिमालिका नगरपालिका कोअर्डिनेटर राजेन्द्र जोशीले बताउनुभयो ।
वास प्लान विमोचन गर्दै बडिमालिका नगरपालिकाका प्रमुख पदम बडुवालले वास प्लानबाट नगरपालिका भित्रको खानेपानी, सरसफाइ र स्वच्छताको अवस्थाबारे जानकारी भएको र आगामी दिनमा गर्नुपर्ने कामको खाका समेत प्रष्ट भएकाले बजेट विनियोजन गर्न सजिलो हुने बताउनुभयो । उहाँले अव देखि सोही योजनालाई आधार मानेर खानेपानी तथा सरसफाइका योजनाहरु कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वास प्लानमा जनाए अनुसार नगरपालिका भरिमा ५ सय ६५ घर परिवार अझै खानेपानीको पहुँचबाट बाहिर रहेको देखाएको छ । बडिमालिका नगरपालिकामा युनिसेफ नेपाल र बडिमालिका नगपालिकाको संयुक्त लगानीमा ९ ओटा खानेपानी योजना निर्माण तथा मर्मत सम्पन्न भएको युनिसेफ नेपाल बडिमालिका नगरपालिका कोअर्डिनेटर जोशीले बताउनुभयो । उहाँका अनुसार दुई सय ८६ घरमा एक घर एक धारा कार्यक्रम अन्तर्गत धारा बनिसकेका छन् ।
सरसफाइ नमुना समुदाय मार्गदर्शन र पूर्ण सरसफाइ गुणस्तर अनुगमन निर्देशिका पनि तयार

बडिमालिका नगरपालिकाले खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) २०७७-०८१ का साथै सरसफाइ नमुना समुदाय मार्गदर्शन – २०७७ र पूर्ण सरसफाइ गुणस्तर अनुगमान निर्देशका – २०७७ समेत तयार पारी विमोचन गरिएको छ । खानेपानी सरसफाइ तथा स्वच्छत योजना, ‘सरसफाइ नमुना समुदाय मार्गदर्शन’ र ‘पूर्ण सरसफाइ गुणस्तर अनुगमन निर्देशिका’ एकैसाथ विमोचन गरिएको हो । सरसफाइ नमुना समुदाय मार्गदर्शन र पूर्ण सरसफाइ गुणस्तर अनुगमन निर्देशिका भने यु.एन. ह्याबिट्याट्को आर्थिक एवं प्राविधिक र भुमेश्वर सामुदायिक विकास संस्था (BCDO) को प्राविधिक सहयोगमा निर्माण गरिएको हो ।
पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन भएका जिल्लामा सरसफाइमा नमुना समुदायहरु घोषणा गर्न सरसफाइ नमुना समुदाय मार्गदर्शनले सघाउन पुर्याउने यु.एन. ह्याबिट्याटका जिल्ला संयोजक तारा बहादुर खातीले बताउनुभयो । ‘नमुना समुदाय घोषणा गर्नका लागि के कस्ता मापदण्ड पूरा गर्नुपर्दछ ? के कस्ता सूचक पूरा भएमा सरसफाइ नमुना समुदाय घोषणा गर्न सकिन्छ भन्ने कुराहरु यसले निर्देशित गर्छ, सरसफाइमा नमुना समुदाय घोषणा गर्न यो मार्गदर्शनले बाटो देखाउनेछ’ उहाँले भन्नुभयो ।
यस्तै ‘पूर्ण सरसफाइ गुणस्तर अनुगमन निर्देशिका’ ले पूर्ण सरसफाइ सञ्चालित समुदायको अनुगमन कसरी गर्ने ? कुन तहको सरसफाइ पूरा गरेको घरधुरीलाई कस्तो स्टिकर प्रदान गर्ने ? भन्ने कुराहरु विस्तृत रुपमा उल्लेख गरिएको जिल्ला संयोजक खातीले जानकारी दिनुभयो ।


2460 पटक हेरिएको 

