मोरङ : विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले महानगरपालिकाको फोहोर तत्काल व्यवस्थापन नगरे वेस्ट म्यानेजमेन्ट प्रा.लि. जेभीसँगको सम्झौता तोड्ने चेतावनी दिनुभएको छ ।
बाढी आएको दुई साता बित्दा पनि विराटनगर महानगरपालिका भित्रको फोहोर उठ्न नसकेको चौतर्फी गुनासो बढेपछि उहाँले विराटनगरको फोहोर व्यवस्थापन गर्दै आएको वेस्ट म्यानेजमेन्ट प्रा.लि. लाई यस्तो चेतावनी दिनुभएको हो ।
विराटनगर महानगरपालिकामा फोहोर व्यवस्थापनको काम नियमित तथा व्यवस्थित नहुँदा शहरमा फोहोर थुप्रिन थालेका छन् । शहरमा थुप्रिएको फोहोरले शहरको शोभा घटेको र चौतर्फी दुर्गन्ध फैलिएको विराटनगर महानगरपालिका १४ का अवधेष कुमार शाहले बताउनुभयो ।
फोहोर व्यवस्थापनको जिम्मा पाएको वेस्ट म्यानेजमेन्ट प्रा.लि. जेभीले राम्रोसँग काम नगर्दा शहरमा फोहोरको थुप्रो बढ्दै गएको पाइएको र साझेदार संस्थाले तत्काल काममा गति नदिए करार सम्झौता तोड्ने बताउनुभयो ।
महानगरवासीले गुनासो गरेपछि नगरप्रमुख पराजुली आफै अनुगमनमा निस्किनुभएको थियो । मोटरसाइकलमा नगरका विभिन्न क्षेत्रको अनुगमन गरेपछि उहाँ सहितको टोलीले सडक सरसफाइमा खटिएका कर्मचारीको कामको समेत छड्के अनुगमन गर्नुभएको थियो ।
वेस्ट म्यानेजमेन्टका सञ्चालक सदस्य देवी आचार्यले भने बाढीका कारण फोहोर व्यवस्थापनमा केही समस्या भएको र निरन्तर फोहोर व्यवस्थापनमा क्रियाशील रहेको बताउनुभयो । ‘जनशक्ति थपेर भएपनि अहिले देखिएको फोहोरमैला व्यवस्थापनको प्रयास भइरहेको छ, त्यसपछि सुधार आउनेछ’ उहाँले भन्नुभयो ।
वेस्ट म्यानेजमेन्ट प्रा.लि.लाई परिचयपत्र सहित कामदार परिचालन गर्न र कामको क्षेत्रगत बाँडफाँट गर्न निर्देशन दिएको महानगरका कार्यकारी अधिकृत दीपक कोइरालाले जानकारी दिनुभयो ।