बुटवल : लुम्बिनी प्रदेश सरकारको भौतिक पुर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले बजेट अभावले प्रदेशमा सञ्चालित खानेपानी र सरसफाइका योजनाहरु समयमै सम्पन्न गर्न समस्या भएको बताउनु भएको छ । संचारिका समूह लुम्बिनी प्रदेशको समन्वयमा भौतिक पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको खानेपानी र सरसफाइमा लैंगिकता विषय अन्तरक्रिया एवं समाचार लेखन कार्यशालामा मन्त्री चौधरीले संघीय सरकारले योजना हस्तान्तरण गर्ने तर त्यस अनुसारको बजेट विनियोजन नगर्दा योजना अलपत्र परेको र लक्ष्य अनुसार काम गर्न नसकेको बताउनुभयो ।
संघले कम बजेट पठाएकै कारण आगामी २ वर्षभित्र प्रदेशका सबै घरमा खानेपानी पुर्याउने लक्ष्य पूरा गर्न समेत समस्या भएको मन्त्री चौधरीले बताउनुभयो ।
खानेपानी र सरसफाइका योजना र कार्यक्रम दिगो, भरपर्दो र सबैका लागि बनाउन योजना छनोट देखि निर्माण र कार्यान्वयन तहसम्म लैंगिकताका विषयलाई ध्यान दिएको उहाँको भनाइ थियो ।
कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष इश्वर गौतमले घर र भान्सा धेरै सम्हाल्ने महिला भएका कारण यसमा लैंगिकताको विषय बढी महत्वपूर्ण हुने बताउनुभयो । प्रदेशको आवधिक योजनामा खानेपानी र सरसफाइलाई महत्वका साथ उठाएको बताउदै उहाले संघको बजेट र स्थानीय तहको प्रतिवद्धता अभावले लक्ष्य अनुसार काम गर्न समस्या भएको बताउनुभयो ।
यस्तै खानेपानी तथा सरसफाइ महाशाखा प्रमुख ध्रुब धितालले माग र आवश्यकताका आधारमा योजना नबन्दा खानेपानी र सरसफाइमा लैंगिकताको मुद्दा ओझेलमा परेको बताउनुभयो । संचारिका समूह रुपन्देहीका अध्यक्ष निरु गौतमले सबैको पहुंचमा खानेपानी र सरसफाइ सेवा पुर्याउन सके महिला र बालबालिकाको सुरक्षा र कार्यबोझ घट्ने बताउनुभयो ।
संचारिका समूह लुम्बिनी प्रदेशका महासचिव अमृता अनमोलले प्रदेश सरकारले संचालन गरेका खानेपानी र सरसफाइका योजनालाई लैंगिकमैत्री बनाउन सके प्रदेश सरकारले लक्ष्य लिएको पूर्ण सरसफाई र एक घर एक धाराको योजना पूरा हुने बताउनुभयो । उहाले शौचालय र खानेपानीको धारा कहा बनाउने, कसरी बनाउने भन्ने निर्णय महिलामा हुने हो भने त्यसले धेरै कार्यबोझ घट्ने र विकास र सुरक्षाका ढोका खुल्ने दावी गर्नुभयो ।


1354 पटक हेरिएको 

