यसरी मनाईयो वागमती सफाइ महाअभियानको ४०० औं हप्ता (फोटो फिचर)

 1617 पटक हेरिएको


काठमाडौ : वागमती सरसफाइ महाअभियानले ४०० औं हप्ताको यात्रा सफलतापूर्वक पार गरेको छ । २०७० साल जेठ ५ गतेदेखि सुरु भएको अभियानले ४०० हप्ताको यात्रा पूरा गरेको अवसरमा मीनभवन पूलमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सहरी विकास मन्त्री प्रभु साहलाई प्रमुख अतिथिको रुपमा बोलाए पनि उहाँ उपस्थित हुनुभएन । कार्यक्रममा काठमाडौ महानगरपालिकाका प्रमुख एवं ललितपुर महानगरपालिकाका प्रमुख तथा वडाध्यक्षहरुलाई बोलाएको भए पनि उहाँहरु समेत कार्यक्रममा अनुपस्थित हुनुहुन्थ्यो ।


औपचारिक कार्यक्रममा बोलाउँदा समेत उपस्थिति नजनाएपछि सफाइ महाअभियानका मुख्य अभियन्ता एवं पूर्वमुख्यमन्त्री लीलामणि पौड्यालले असन्तुष्टि व्यक्त गर्नुभयो । ‘हामीले फोहोर टिप्न आउनुहोस् भनेका थिएनौं, महाअभियानको विशेष कार्यक्रममा सहभागी भएर हाम्रा कुरा सुनिदिनुहोस् मात्र भनेका थियौं, तर यो कार्यक्रम भन्दा पनि महत्वपूर्ण कार्यक्रम हुनसक्छ, त्यसैले उहाँहरु आउनुभएन’ अभियानका संयोजक पौड्यालले भन्नुभयो । उहाँले मेयरहरुलाई नागरिकको घरदैलोमा आउँदा वागमतीमा सङ्लो पानी बगेको कहिले देख्न पाइन्छ भनेर प्रश्न गर्न पनि आग्रह गर्नुभयो । ‘हामीले त उहाँहरुले गर्नुपर्ने काम गरिरहेका छौं, उहाँहरुलाई सघाईरहेका छौं । तर हामीले बोलाएको कार्यक्रममा उहाँहरुलाई चासो छैन । केही वडाध्यक्षहरु आउनुभएको थियो, उहाँहरु पनि कार्यक्रम नसकी जानुभयो’ संयोजक पौड्यालले भन्नुभयो ।


राष्ट्रिय सभा सदस्य कोमल वलीले वागमतीको दायाँबायाँ रिटेनिङ वाल लगाएकोमा चित्त नबुझेको बताउनुभयो । उहाँले नदीलाई आफ्नै वहावमा बग्न, खेल्न र नाच्न दिनुपर्ने भन्दै अन्य नदीहरुलाई दायाँबायाँ पर्खाल लगाएर सीमित बनाउन नहुने बताउनुभयो । वागमती सफाइ महाअभियानमा संलग्न हुँदै आएको स्मरण गराउँदै राष्ट्रिय सभा सदस्य वलीले अभियन्ताहरुलाई विशेष परिचय पत्रको व्यवस्था गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिनुभयो । विशेष पासको व्यवस्था भएमा सिंहदरबार प्रवेश लगायत अन्य ठाउँमा प्रवेशका लागि सहज हुने उहाँको भनाइ थियो । कार्यक्रममा गायिका आनी छोइङ डोल्माले सा साना अभियानबाटै ठूलो सफलता मिल्ने भएकाले फोहोर व्यवस्थापनको काम घरैबाट सुरुवात गर्न आग्रह गर्नुभयो ।


वागमती सरसफाइ महाअभियानको ४ सयौं हप्तासम्म आईपुग्दा १० लाख भन्दा बढीको सहभगितामा २० हजार मेट्रिक टन फोहोर व्यवस्थापन भएको र ६ हजार भन्दा बढी विरुवा रोपिएको वागमती सफाइ महाअभियानले जनाएको छ ।

२०७० साल जेठ ५ गते शनिबार तत्कालीन मुख्यमन्त्री लीलामणि पौड्यालको नेतृत्वमा सुरु भएको वागमती सफाइ महाअभियानले ४ सय हप्ता पूरा गरेको हो । यही अभियानको प्रेरणाबाट देशभर करिब सय भन्दा बढी नदीहरुमा सरसफाइ अभियान सञ्चालन भईरहेका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार