
तेह्रथुम-गाउँभरि अमला र मेल भए पनि कुहिएर गइरहेको थियो । न किन्न आउँथे न बिक्री नै हुन्थ्यो । उत्पादन भए पनि बजार नपाउँदा वर्षौं देखि खेर गइरहेको थियो । बजारमा खरिद बिक्री नभएपछि आम्दानी हुन्छ भन्ने आश पनि थिएन । बारीको गह्रामा नास भएर जान्थ्यो तर अहिले अवस्था फेरिएको छ ।
तेह्रथुमको छथर गाउँपालिका–५ मा खेर गइरहेको फलफूल प्रशोधन गर्ने उद्योग स्थापनाले किसानहरूले आम्दानी लिन थालेका छन् । यतिबेला यहाँ उत्पादन भएको अमला र मेलबाट आम्दानी हुन थालेपछि किसान दंग छन् । फोहरमात्रै भएको फलफूलले यतिबेला मोहोर साट्न थालेको छ । बारीमा खेर गइरहेको अमला बिक्रीबाट आम्दानी लिन थालेपछि खुसी भएको स्थानीय कमलबहादुर कार्कीले बताए । रोजगारका लागि विदेशी भूमिमै पुग्नुपर्छ भन्ने मानसिकतालाई चिर्दै गाउँमै युवाले उद्योग स्थापना गरेका हुन् । मेहनत, श्रम र लगानी गर्न सके गाउँमै राम्रो आम्दानी लिन सकिन्छ भन्ने विश्वासका साथ उद्योग स्थापना गरेका हुन् ।
खेर गइरहेको फलफूलाई बजारीकरण गर्ने तथा आम्दानीको स्रोतको रूपमा उद्योग स्थापना गरेको उद्योगी एनके ढकालको भनाइ छ । गाउँमा उत्पादन भएको मेल, अमला, आल्चा, नास्पतीलगातयका फलफूललाई प्रशोधन गरी बजारीकरणको तयारी भइरहेको छ । उद्योग स्थापनासँगै यहाँका स्थानीय युवाले रोजगारी पाएका छन् । गरे के हुन्न भन्ने गतिलो उदाहरण उद्योगले दिएको राम शिवाकोटी बताउँछन् । उद्योग सुरुमा १० लाख लगानीमा स्थापना गरिएको हो । उद्योग स्थापनासँगै यहाँ उत्पादित वस्तुलाई बजारीकरण तथा प्रवद्र्धन गर्दै निरन्तरता दिनसके यहाँका स्थानीयको रोजगारी मात्र नभई आयआर्जनमा समेत टेवा पुग्ने छ ।


1086 पटक हेरिएको 

