काठमाडौ : साउन ८ गते बिहान सवा १० बजेतिर नगर प्रहरीको ६/७ जनाको टोली रत्नपार्कको शहरी सेवा केन्द्रमा पुग्यो र त्यहाँ सञ्चालन भएको पसल बन्द गरायो । सञ्चालक ऋषि गर्तौलाले अक्क न बक्क परेर नगर प्रहरीलाई सोधे, ‘किन हजुर ? के गल्ती भयो ?’ नगरप्रहरीहरुको जवाफ थियो ‘माथिको आदेश ।’
माथिको आदेश भन्दै बन्द गराइएको पसल अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । यो पसल विधिवतरुपमा टेण्डर गरेर सञ्चालन गरिएको सञ्चालकको दाबी छ । गर्तौलाले गत वर्ष साउन ५ गते महानगरपालिकालाई मासिक १ लाख १३ हजार रुपैयाँ तिर्ने गरी शौचालयसहितको शहरी सेवाकेन्द्र सञ्चालन गर्ने जिम्मा लिएका थिए ।
गर्तौला भन्छन्, ‘माथिको आदेश भन्दै आए र मेरो पसल बन्द गराए । बन्द नगरे सामान फाल्दिन्छौ भनेर धम्क्याए तर कारण प्रष्ट पारेनन् ।’
नगरप्रहरी प्रमुख बिष्णु जोशी भने रत्नपार्कमा अवैध संरचना निर्माण भएको आशंकाले बन्द गराइएको बताउँछन् । तर, पछि आफूले छानविन गर्दा बैध रुपमै निर्माण गरेको पाइएको उनको स्वीकारोक्ति छ ।
माथिको आदेश भन्दै पसल बन्द गराइएपछि गर्ताैला महानगरका मेयर विद्यासुन्दर शाक्यलाई भेट्न पुगेका थिए । मेरो पसल के कति कारणले बन्द गराउनुभयो भनेर प्रश्न गर्दा मेयर नै छक्क परे । उनले आफ्नो आदेश नभएको प्रष्टीकरण दिए । तत्काल उनले यसमा छानविन गरेर प्रतिवेदन पेश गर्न सचिवालय र नगरप्रहरीलाई निर्देशन दिए ।
नगरप्रहरीले अनुसन्धान गर्दा त्यहाँ कुनै अवैध संरचना निर्माण नभएको प्रतिवेदन आयो । जोशीले भने सानो कुरामा पनि मेयर गुहारेको भन्दै उल्टै गर्तौलाको खिल्ली उडाए ।
वैधानिकरुपमा चलाइएको पसल बन्द रहँदा शहरी सेवा केन्द्रकै छेउमा रहेको अवैध जुत्ता पसल भने ढुक्कले सञ्चालनमा छ । रत्नपार्क हुँदै ओहोरदोहोर गर्ने जोसुकैले पनि उक्त पसल सञ्चालन भएको देख्न सक्छन् । तर, जोशी भने सो पसल बन्द भएको दावी गर्छन् । उनले भने, ‘नगरप्रहरी नभएको समयमा चलेको होला, हामीले त्यसलाई चलाउन दिएका छैनौ ।’
राजस्व महाशाखामा नगरप्रहरीले बुझाएको प्रतिवेदनमा शहरी सेवा केन्द्रले अवैध रुपमा पसल सञ्चालन नगरेको बताएको छ । उसले सरसफाई नपुगेकाले बन्द गराएको दाबी गरेको छ, जुन महानगरपालिकाको वातावरण विभागले निरीक्षण गर्ने कुरा हो ।
स्रोतका अनुसार मेयर शाक्यले रत्नपार्कमा अवैध रुपमा सञ्चालन भएका टहरा हटाउन निर्देशन दिएका थिए । तर, नगरप्रहरीले भने बैधलाई बन्द गराएर अबैधलाई छुट दिइरहेको गर्तौलाको गुनासो छ ।
मेयर शाक्यका निजी सचिव नवराज ढकाल र प्रशासन तथा साङ्गठनिक बिभागका ज्ञानेन्द्रका कार्कीले नगरप्रहरी प्रमुख जोशीलाई शहरी सेवा केन्द्रको पसल बन्द गर्न निर्देशन दिएको स्रोत बताउँछ ।
जसअनुसार मध्य क्षेत्रका नगरप्रहरी प्रमुख मनोज लामिछानेको टोली शहरी सेवा केन्द्रको पसल बन्द गराउन गएको हो । नगरप्रहरीले सँगैको जुत्ता पसल पनि बन्द गरेर फर्केको थियो । तर, उक्त जुत्ता पसल भोलिपल्टबाटै सञ्चालनमा आयो ।
अहिले नगरप्रहरीले पसल सञ्चालन गर्न गर्ताैलालाई आग्रह गर्दै आएको छ । साथै यो केसमा बचाइदिन भन्दै नगरप्रहरीका उच्च अधिकारी महानगरका विभिन्न विभागीय प्रमुखसमक्ष पुग्ने गरेका छन् । तर, गर्तौला भने बिनाकारण पसल बन्द गराइएकाले क्षतिपूर्ति पश्चात मात्रै खोल्ने बताउँछन् ।
टाउको दुख्ने समस्याका कारण मेयर शाक्य बेलाबेलामा घरमै आराम गरेर बसेका हुन्छन् । तर, यता कार्यालयमा भने माथिको आदेश भन्दै विभिन्न निर्देशनहरु भइरहेका हुन्छन् । यो पसल बन्दको निर्देशन त्यसैको एक श्रृङ्खला मात्रै हो ।
माथिको आदेश भन्दै पसल गराउने मात्रै होइन, ठेक्कापट्टा सकिएका स्थानका ठेकेदारको चेक पनि रोकिएको स्रोत बताउँछ ।
तर, रत्नपार्कमा शौचालयसहितको सेवा केन्द्र चलाउने टेण्डर पारेर विभिवत चलाइएको भनिए पनि रानीपोखरी छेउमा बनाइएको सो शौचालय दुर्गन्धित छ । सर्वसाधारणले पिसाव फेरेको ५ रुपैयाँसम्म लिने गरिएको छ ।
त्यसो त पुरानो बसपार्कमा रहेको महानगरको शौचालयको हालत पनि उस्तै छ । पिसाव फेरेको ५ रुपैयाँसम्म लिइन्छ ।
महानगरपालिकाले शहरमा कुनै पनि ठाउँमा निशुल्क शौचालयको व्यवस्था गर्न सकेको छैन । सेवाग्राहीबाट मनपरी पैसा असुलेर व्यापारी अनि कर्मचारीले मनोमानी गर्ने काम हुँदै आइरहेको छ । रत्नपार्कमा सेवाकेन्द्र नामको शौचालय बन्द प्रकरण यसैको एउटा सिलसिला हो ।
अनलाइन खबरबाट ।