खजुरालाई प्लास्टिकमुक्त पालिका बनाइने

 1301 पटक हेरिएको

बाँके : बाँकेको खजुरा गाउँपालिकालाई प्लास्टिकमुक्त पालिका बनाइने भएको छ । गाउँपालिकाको ८औं गाउँसभाले खजुरालाई प्लास्टिकमुक्त पालिका बनाउने प्रस्ताव पारित गरेको हो । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिको अध्यक्षतामा भएको गाउँसभामा सदस्य निसार अलि दर्जीले खजुरालाई प्लास्टिकमुक्त पालिका बनाउन प्रस्ताव पेस गर्नुभएको थियो ।

उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरसँंगै खजुरा गाउँपालिका प्लास्टिकमुक्त बनाइने गाउँपालिकाले जनाएको छ । गाउँसभामा उपाध्यक्ष एकमाया विकले प्रस्तुत गरेको चालू आर्थिक वर्षमा राजस्व संकलनका लागि नयाँ स्रोत पहिचान र विवरण अध्यावधिक गर्ने कार्यसूची पनि सभाले पारित गरेको छ ।

गाउँसभामा खजुरा गाउँपालिका प्रमुख कक्षपतिले आर्थिक वर्ष ०७७/७८ को हालसम्मको खर्च र प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले चालू आर्थिक बर्षको मंसिर मसान्तसम्म गाउँपालिका तर्फको चालू खर्च ३१ प्रतिशत र पुँजीगत ११ दशमलव ३२ प्रतिशत खर्च भएको बताउनुभयो । त्यस्तै संघीय सरकारबाट हस्तान्तरित चालू कार्यक्रमको खर्च ३१ प्रतिशत र पुँजीगत खर्च शून्य रहेको, प्रदेश सरकारबाट हस्तान्तरित चालू कार्यक्रम खर्च २ प्रतिशत र पुँजीगत कार्यक्रम खर्च ३९ दशमलव २६ प्रतिशत रहेको प्रमुख कक्षपतिले बताउनुभयो । उहाँले सबै वडामा सञ्चालित विभिन्न योजनाको ठेक्का सम्झौता र उपभोक्ता समितिमार्फत हुने काम पनि सञ्चालनमा रहेको बताउनुभयो ।

ठेक्काका १८ योजना र उपभोक्ता समितिले ५८ योजनामा काम गरिरहेको उनले जानकारी दिनुभयो । अध्यक्ष कक्षपतिले चालू आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट कार्यान्वयनमा गाउँपालिकाका बासिन्दाबाट साथ सहयोग रहेको भन्दै आभार प्रकट गर्नुभयो । सभाले चालू आर्थिक वर्षमा केही योजना संशोधन र परिमार्जन सहित पारित गरेको छ । गाउँसभामा चालू आर्थिक वर्षको राजस्व संकलनको अवस्था सुधार रहेको भन्दै मंसिर मसान्तसम्म ५६ लाख ५५ हजार ९ सय ५६ रुपैयाँ राजस्व संकलन भएको जानकारी दिइएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार