हात धुने स्टेशनको यस्तो हालत, रेखदेख र सञ्चालनको जिम्मेवारी कसको ?

 1583 पटक हेरिएको
🔗
18
Shares

काठमाडौ : नयाँ वानेश्वर चोकबाट सिभिल हस्पिटल तिर जाँदा हस्पिटलको गेट नपुग्दै एउटा हात धुने स्टेशन भेटिन्छ । ती हात धुने स्टेशनको बेसिन फोहोरले भरिएको छ भने टुटी भाँचिएको अवस्थामा छ । ड्रममा पानी रित्तिएको महिनौं भईसकेको छ ।


एक पटक हात धुने स्टेशन खडा गरेपछि काम फत्ते भएको ठान्ने र त्यसको रेखदेख तथा नियमित अनुगमनको व्यवस्था नहुँदा कोभिडको समयमा हात धुन राखिएका यस्ता स्टेशन कामै नलाग्ने अवस्थामा पुगेका छन् । फुटपाथमा हिडडुल गर्ने मानिस र अस्पतालमा आउने जाने मानिसका लागि लक्षित गरी काठमाडौ उपत्यका खानेपानी लिमिटेड बानेश्वर शाखाले राखेको यो हात धुने स्टेशनको यस्तो हालत भएको लामो समय भईसकेको नजिकै ठेलामा व्यापार गरिरहेका आनन्द गौतमले बताउनुभयो ।


नयाँ बानेश्वरकै चोकैमा अर्को ठूलो हात धुने स्टेशन पनि छ । एकैपटक ३ जना सम्मले हात धुन मिल्ने यो स्टेशनमा पनि पानी पर्याप्त भएपनि साबुनको व्यवस्था गरिएको छैन । माछापुछ«े बैंक र महानगरीय प्रहरी कार्यालय रानीपोखरीको सौजन्यमा राखिएका ती हात धुने स्टेशनमा सुरुका एक दुई महिना झोल साबुनको व्यवस्था गरेपनि अहिले साबुनको व्यवस्था नभएको हात धुने स्टेशनको आडैमा कपडा व्यापार गर्दै आएका चितवनका हरि न्यौपानेले बताउनुभयो । उहाँका अनुसार हात धुने स्टेशनमा साबुनको व्यवस्था नभएपछि मानिसहरुले हात धुन पनि छाडेका छन् ।


नयाँ बानेश्वरबाट पुरानो बानेश्वरतिर अगाडि बढ्दा पीपलबोटकै छेउमा पनि अर्को हात धुने स्टेशन राखिएको छ । तर ती स्टेशन पनि कामै नलाग्ने अवस्थामा पुगिसकेको छ । ती हात धुने स्टेशन पैदलको सहायताले सञ्चालन हुने प्रविधिको भएपनि कामै नलाग्ने अवस्थामा पुगिसकेका छन् । ती हात धुने स्टेशनमा न पानीको व्यवस्था छ न त धाराको टुटी तथा झोल साबुन आउने व्यवस्था नै ठीक सँगले चलेका छन् ।

स्थानीय सरकार खासगरी वडा कार्यालयले यसको नियमित मर्मत सम्भार तथा अनुगमनको व्यवस्था गर्नुपर्ने प्रत्यक्षदर्शीहरु बताउँछन् । ‘जडान गर्ने संस्थाले त आवश्यकता देखेर जडान गरिदियो तर यसको संरक्षण एवं नियमित सञ्चालन हुने अवस्थाको सिर्जना गर्न वडा कार्यालयले ध्यान दिनुपर्थ्यो । तर त्यो गरिएको देखिएन जसका कारण यसमा गरिएको लगानी त्यत्तिकै खेर गएको देखिन्छ’ हात धुने स्टेशन नजिकै भेटिएका धादिङका सीताराम लामाले भन्नुभयो ।


कतिपयले भने हात धुने स्टेशन जडान गर्ने संस्थाले जडानकै समयमा स्थानीयलाई संरक्षण एवं नियमित रेखदेखको जिम्मेवारी दिएको भएको अहिलेको अवस्था नआउने बताउँछन् । उहाँका अनुसार अझै पनि कोभिड १९ को जोखिम यथावत रहेकाले यस्ता हात धुने स्टेशनहरु चालु अवस्थामै राख्नुपर्ने यसको नियमित सञ्चालनमा जोड दिनुपर्छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार