लिखिता बराल, काठमाडौ : सरकारले गुहेश्वरीको फोहोर पानीबाट ३ सय किलोवाट र मेलम्ची खानेपानीबाट २ सय किलोवाट विजुली निकाल्ने भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीम उपाध्यायले मेलम्चीको पानी सुन्दरीजलमा खस्न साथ २ सय किलोवाट विजुली निकाल्नका लागि पूर्वाधार तयार भइसकेको बताउनुभयो ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघको १५ औं स्थापना दिवसको अवसरमा सचिव उपाध्यायले भन्नुभयो ‘गुहेश्वरीको ढल प्रशोधन केन्द्रबाट हामीले ३ सय किलोवाट विजुली निकाल्ने भएका छौं ।’ ‘खानेपानी तथा सरसफाइ मन्त्रालयको काम विजुली निकाल्ने त होइन, तर खानेपानी निर्माण र सरसफाइका क्रममा विजुली निस्कन्छ भने विजुली निकाल्ने काम पनि गर्छ’ उहाँले भन्नुभयो ।
यसअघि आयोजना कार्यान्वयन निर्देशनालयले गुहेश्वरीको ढल प्रशोधन केन्द्रमा एनारोविक डाइजेशनको माध्यमबाट बायोग्याँस निकाल्ने र बायोग्यासबाट विद्युत निकाल्ने जनाएको थियो । गुहेश्वरीमा यी युनिट सहितको ढल प्रशोधन केन्द्रको निर्माण भईरहेको छ ।
आयोजनाले गुहेश्वरीबाट २ सय ४० किलोवाट प्रतिघण्टा र धोबीघाटबाट प्रतिघण्टा २ सय ३ किलोवाट विजुली उत्पादन गर्ने गरी डिजाइन भएको जनाएको छ ।
गुहेश्वरी ढल प्रशोधन केन्द्रमा अहिले १ करोड ६२ लाख लिटर पानी प्रशोधन भइरहेको छ ।