नुवाकोट : नुवाकोटको विदुर नगरपालिकाले अजैविक फोहोर व्यवस्थापन गर्न सेग्रिगेसन हाउस सञ्चालनमा ल्याएको छ । विदुर नगर हाम्रो शहर, सफा स्वच्छ राख्ने सबैको रहर भन्ने नाराका साथ वडा नम्बर ९ सामरी दोभानमा सेग्रिगेसन हाउस संचालनमा ल्याइएको हो । एकीकृत फोहोरमैला व्यवस्थापन कार्यक्रम अन्तर्गत ८० लाख रुपैयाँको लगानीमा सेग्रिगेसन हाउस निर्माण गरिएको नगरपालिकाका मेयर सञ्जु पण्डितले बताउनुभयो । केन्द्रीय सरकारको विशेष अनुदान शिर्षकबाट प्राप्त ४० लाख रुपैयाँ र नगरपालिकाको ४० लाख रुपैयाँ गरी ८० लाख रुपैयाँमा सेग्रिगेसन हाउस निर्माण गरिएको मेयर पण्डितले बताउनुभयो ।
सेग्रिगेसन हाउसले फोहोरको वर्गीकरण गरिनेछ । यसले नगरपालिकाबाट उत्पादित फोहोरलाई वर्गिकरण गरेर व्यवस्थापन गर्दा आयआर्जनको श्रोत बन्ने नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताउनुभयो । । प्रजिअ ढकालले स्वच्छ वातारणले आफ्नो स्थानीय तहको पहिचान बदल्न सहयोग गर्ने र फोहोरलाई मोहोरमा परिणत गर्न सबै लागिपनुपर्ने बताउनुभयो । परिवर्तनको प्रयासहरु निरन्तर रुपमा भइरहे पनि त्यसलाई दिगो रुपमा सञ्चालन गर्न चुनौती रहेको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।
यसअघि विदुर नगरपालिकाले केही महिना अघि नै रङमा आधारित वर्गिकरण र बारमा आधारित सङ्कलन प्रणाली विकास गरेको छ । तर यो प्रक्रियालाई स्थानीयले कार्यान्वयन गर्न सकेको छैन । विदुर नगरपालिकामा दैनिक १४ टन फोहोर उत्पादन हुने गरेको छ । त्यसमध्ये ६० प्रतिसत नकुहिने फोहोर उच्पादन हुने गरेको छ । ती नकुहिने फोहोरलाई सेग्रिगेसन हाउसबाट छानिने नगरपालिकाले जनाएको छ ।
स्वच्छ र सफा नगर स्थापनाको लागि नगरपालिकाको १, २, ४, ६, ८ र ९ वडामा गरी ४१ वटा टोल विकास सस्था स्थापना गरिएको विदुर नगरपालिकाको विपद तथा वातावरण शाखाले जनाएको छ ।