काठमाडौं : काठमाडौ महानगरपालिका सहित उपत्यकाका १८ वटा नगरपालिकाले ६ दिन पछि बल्ल फोहोर उठाउन थालेका छन् । फोहोर व्यवस्थापन गर्दै आएको सिसडोलका बासिन्दासँग तत्काल सडक सुधार गर्ने र अरु जायज मागहरुलाई क्रमशः पूरा गर्दै जाने सहमति भएपछि आज देखि काठमाडौको फोहोर उठाउन थालिएको ललितपुर महानगरपालिका प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो ।
सिसडोलका बासिन्दाले तत्काल सडक स्तरोन्नति गर्नुपर्ने, फोहोर बोक्ने गाडीका चालकलाई सरकारी चालकको मान्यता दिई सेवा सुविधाको व्यवस्था गरिनुपर्ने, प्रभावित क्षेत्रका बासिन्दाको स्वास्थ्य बीमा हुनुपर्ने लगायत माग राखेर ६ दिनदेखि फोहोर व्यवस्थापनका अवरोध पु-याउदै आएका थिए ।
‘फोहोर बोक्ने चालकलाई सरकारी चालकको मान्यता दिनुपर्ने, टेकुदेखि ओखरपौवाको सिसडोल सम्मको सडक व्यवस्थित हुनुपर्ने, ओखरपौवामा रहेका पाँचवटा स्थानीय सडकको स्तरोन्नति गर्नुपर्ने जस्ता माग राखेर अवरोध पु-याएका थिए, अहिले ठाउँ ठाउँको पहिरो तत्काल पन्छाउने, बर्षामासमा सडक कालोपत्रे गर्न नसकिने भएकाले ग्राभेल गर्ने अरु मागहरु क्रमशः पूरा गर्दै जाने भन्ने सहमति भएको छ’ प्रवक्ता महर्जनले भन्नुभयो ।
सिसडोलका बासिन्दासँग सहमति भएपछि महानगरपालिकाले आजैदेखि फोहोर उठाउन थालेको छ । ६ दिनदेखि थुप्रिएको फोहोर एकैदिनमा उठाउन असम्भव हुने भएकाले अझै भित्री सडकहरुमा थुप्रिएको फोहोर उठाउन एक दुई दिन लाग्ने महर्जनले बताउनुभयो ।
काठमाडौ उपत्यकामा दैनिक १५ सय टन फोहोर उत्पादन हुदै आएको छ । ती फोहोरलाई काठमाडौबाट सिसडोल ल्याण्डफिल साइटमा पु-याएर व्यवस्थापन गर्दै आएको छ ।
ल्याण्डफिल साइट क्षेत्रका बासिन्दाले बेला बेलामा पु-याउने अवरोधका कारण फोहोर व्यवस्थापन गर्दै आएको नीजि क्षेत्रले अझ धेरै समस्या भोग्नुपरेको नेपाल प्रदुषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्र (नेम्सेम्याक) का कार्यकारी निर्देशक एवं एनजिओफेक नेपालका अध्यक्ष टिकाराम दाहालले बताउनुभयो ।