बेनी : बेनीमा तीन जिल्ला कार्यक्षेत्र भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय स्थापना भएको छ । सङ्घीय सरकारको खानेपानी तथा सरसफाइ मन्त्रालय अन्तर्गत म्याग्दी, बागलुङ र मुस्ताङ जिल्ला कार्यक्षेत्र रहेको छ । कार्यालय मार्फत हिमाली जिल्लामा एक हजार र पहाडीमा पाँच हजारभन्दा बढी सङ्ख्यामा उपभोक्ता भएका खानेपानीका साथै ढल व्यवस्थापनसम्बन्धी आयोजना कार्यान्वयन हुने भएका छन् ।
यस वर्ष २७ खानेपानी र ढल व्यवस्थापन सम्बन्धी आयोजना कार्यान्वयनका लागि बजेट विनियोजन भएको आयोजनाका प्रमुख रामउदगार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार म्याग्दीको बृहत् घोप्टेखोला र पिप्ले भगवती बृहत् खानेपानी आयोजना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुने क्रममा रहेको छ । तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत शुरु भएका आयोजनालाई पनि पूर्णता दिइने जनाइएको छ । उहाँका अनुसार पुराना आठ आयोजना निर्माण कार्यलाई पूर्णता दिन कार्यालयले पहल गरेको छ ।
सिनियर डिभिजनल इञ्जिनीयरको नेतृत्वमा तीन इञ्जिनीयर, तीन सब इञ्जिनीयर, एक कम्प्युटर अपरेटर, एक कार्यालय सहयोगी र एक हलुका सवारी चालकको दरबन्दी छ । सबै दरबन्दी अनुसारका प्राविधिक कर्मचारी भएको र उनीहरुलाई कार्यक्षेत्रमा परिचालन गरेर पहिले शुरु भएका आयोजनाको अवस्था अध्ययन गरिरहेको आयोजना प्रमुख यादवले बताउनुभयो । आर्थिक वर्ष २०७४/७५ मा तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय खारेज भएपछि म्याग्दीका धेरै खानेपानी आयोजना अलपत्र परेका थिए । सङ्घीय र प्रदेश सरकार मातहतका कार्यालय कसले आयोजना सञ्चालन गर्ने भन्ने अन्यौलताका कारण पहिले शुरु भएका आयोजनामा बजेट नहुँदा अधुरा थिए ।
प्रदेशले एक हजार भन्दा कम जनसङ्ख्या उपभोक्ता भएका आयोजना हेर्ने र सङ्घीय कार्यालयले ठूला आयोजना सञ्चालन गर्ने गरी कार्यविभाजन भएको छ । म्याग्दीमा सङ्घीय कार्यालय स्थापना भएपछि पुराना आयोजनाले पूर्णता पाउने र नयाँ आयोजना निर्माणले गति लिने सङ्घीय सांसद भूपेन्द्रबहादुर थापाले बताउनुभयो ।
यसअघि पोखरा स्थित सङ्घीय खानेपानी कार्यालयले म्याग्दीका आयोजना हेर्ने गरेको थियो । केही आयोजना प्रदेश सरकारअन्तर्गतको सिँचाइ, जलस्रोत तथा खानेपानी डिभिजन कार्यालयमा हस्तान्तरण भए पनि न्युन बजेटका कारण पूर्णता पाउन सकेका थिएनन् ।
सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको काम, कर्तव्य
- ♦ बार्षिक बजेट संघीय तहबाट सञ्चालन हुने आयोजनाहरुको पहिचान तथा प्राथमिकीकरण गरी प्रदेश तथा स्थानीय तहसंग समेत समन्वय गरी सहभागितात्मक प्रकृयाबाट आयोजना कार्यान्वयन गर्ने ।
- ♦ सिलिङ्ग प्राप्त भएपछि आफ्नो कार्य क्षेत्रमा संचालन गर्न आवश्यक भएका संघीय आयोजना/ कार्यक्रमहरुको बजेट बांडफांड गरी बजेट तथा कार्यक्रमहरुको राष्ट्रिय योजना आयोगबाट निर्धारण भएको ढाँचामा कार्यक्रम तयार गरी स्वीकृतीका लागि विभागमा पेश गर्ने ।
- ♦ आफ्नो कार्य क्षेत्र भित्रको संघीय खानेपानी तथा सरसफाई सम्बन्धी स्वीकृत बार्षिक बिकास कार्यक्रम अनुसार खानेपानी तथा सरसफाई आयोजनासंग सम्बन्धित क्रियाकलापहरु प्रचलित ऐन कानुनको परिधि भित्र रही संचालन गर्ने ।
- ♦ संचालित आयोजना /कार्यक्रमहरुको प्रगती प्रतिवेदनहरु निर्धारित ढाँचा अनुसार तयार गरी तोकिएको समयमा प्राप्त हुने गरी विभागमा पेश गर्ने ।
- ♦ सञ्चालित आयोजनाहरुको आवधिक सुपरीवेक्षण अनुगमन तथा मुल्याङ्कन गरी आवश्यक राय, सुझाव तथा निर्देशन दिनुका साथै आयोजना कार्यान्वनका क्रममा देखा परेका समस्याहरु समाधान गर्न आवश्यक पहल गर्ने ।
- ♦ कार्य क्षेत्र भित्रका खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी तथ्यांकहरु संकलन तथा अध्यावधि गर्ने गराउने ।
- ♦ प्रदेश तथा स्थानीय तहसंग समन्वय गरेर आवश्यकताअनुरुप क्षमता विकासका कार्यहरु सञ्चालन गर्ने गराउने
- ♦ आर्थिक अनुशासन कायम गरी बेरुजु फछर्यौट सम्बन्धि काम कारबाही गर्ने गराउने ।
- ♦ आयोजना कार्यान्वयन तथा सो सम्बन्धी अन्य कार्य गर्दा पारदर्शी तथा मितव्ययी ढंगबाट गर्ने/गराउने
- ♦ जनतालाई प्रदान गरिने सेवाहरु छिटो,छरितो एंव प्रभावकारी रुपमा उपल्ब्ध गराउन आवश्यक समन्वय गर्ने
- ♦ आयोजना /कार्यक्रमको वारेमा सम्बन्धित क्षेत्रका सेवाग्राही जनता संग आवश्यक परामर्श तथा छलफल गर्ने।
- ♦ कार्यक्षेत्र संग सम्बन्धित सरकारी चल तथा अचल सम्पतिहरुको अभिलेख राख्ने तथा संरक्षण र सुरक्षा गर्न आवश्यक उपायहरु अवलम्वन गर्ने गराउने ।
- मन्त्रालय तथा विभागबाट प्राप्त निर्देशन तथा सुझाव कार्यान्यन गर्ने गराउने।
- ♦ प्रचलित ऐन कानुनमा उल्लेख भए बमोजिम रा.प. प्रथम / द्वितिय श्रेणीको अधिकारहरु प्रयोग गर्ने ।
- ♦ प्रचलित ऐन कानून भित्र रही अधिनस्थ कर्मचारीहरुको कार्य सम्पादन मूल्यांकन गरि पेश गर्ने, अधिनस्थ कर्मचारीहरुको विभागिय कार्यवाही, अवकाश,राजिनामा स्वीकृत, उपदान, निबृतिभरण, पुरस्कार, बिभूषण सम्बन्धी कार्य गर्ने/ गराउने तथा सिफारिश गर्ने ।
- ♦ सहलगानी, सुख्खा, जलवायु अनुकुलन, उच्च प्रविधियुक्त खानेपानी तथा सरसफाई आयोजनाहरुको पहिचान, सम्भाव्यता अध्ययन, प्राथमिकिकरण तथा विस्तृत परियोजना प्रतिवेदन तयारीका लागी सरोकारवालाहरुसंग समन्वय तथा सहजिकरण गर्ने जस्ता कार्यहरुमा सम्बन्धित आयोजना व्यवस्थापन कार्यालयलाई सहयोग गर्ने ।
- ♦ स्वीकृत आयोजनाहरुको कार्यान्वयनका लागि आवश्यक खरीद तथा ठेक्का व्यवस्थापन सम्बन्धि कार्य गर्ने ।
- ♦ आयोजनाहरुको कार्यान्वयनका क्रममा आवश्यक सुपरीवेक्षण, अनुगमन तथा मुल्यांकन गरी आवश्यक राय, सुझाव तथा निर्देशन दिने।
- ♦ कार्यालयको दैनिक कार्य सञ्चलानका लागि आवश्यक सम्पुर्ण कार्य गर्ने ।


4894 पटक हेरिएको 

