साठी करोड लागतमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र

कञ्चनपुर: भीमदत्त नगरपालिकामा ६० करोडको लागतमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुने भएको छ। एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालित क्षेत्रीय शहरी विकास योजनाअन्तर्गत फोहरमैला व्यवस्थापन केन्द्र बनाउन लागिएको हो।

आधुनिक प्रविधिको फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि राजनीतिक दल, जनप्रतिनिधि र नागरिक समाज सबैले योजना सफल बनाउने प्रतिबद्धता गरेका छन्। फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि सहजीकरण गर्न पत्रकार खेम भण्डारीको संयोजकत्वमा तीन सदस्यीय समिति चयन गरिएको छ। समितिमा गैरसरकारी संस्था महासङ्घ कञ्चनपुरका अध्यक्ष नरेश सिलाल र अधिकारकर्मी प्रभुनिधि पन्तलाई सदस्यका रूपमा राखिएको छ।

नगर प्रमुख सुरेन्द्र विष्टले आधुनिक शहर बनाउने लक्ष्यअनुसार क्षेत्रीय शहरी विकास योजनाको २० वर्षे योजनाको पहिलो चरण अन्तर्गत फोहरमैला व्यवस्थापन केन्द्र सहित अन्य पूर्वाधार निर्माणका कार्यक्रम अगाडि बढाइएको बताउनुभयो । “फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि नगरपालिकाले कार्यदल गठन गरी अघि बढेको छ । योे ठूलो योजनामा थप सहकार्य र समन्वय गर्न आवश्यक छ, त्यसैले सबै पक्षको साथ सहयोगको अपेक्षा राखेका छौँ । नगर प्रमुख विष्टले भन्नुभयो ।”

नगरपालिकाको बजार र आसपासका क्षेत्रमा अहिले दैनिक सात दशमलव २९ टन फोहर निस्कने गरेको छ। नगरपालिकाले महेन्द्रनगर बजार सहित आसपासका ७०० घरबाट फोहर सङ्कलन गर्दै आएको छ। नगरपालिकामा दीर्घकालीन रूपमा फोहर व्यवस्थापन गर्न केन्द्र बनाउन लागिएको हो।

विसं २०३४ मा स्थापना गरिएको नगरपालिकामा यस अघि डम्पिङ साइट बनाउन पटक–पटक प्रयत्न गरिएको थियो। पछिल्लो पटक आधुनिक प्रविधि सहितको केन्द्र बनाएर फोहरमैला व्यवस्थापन गर्ने योजना अघि सारिएको हो। क्षेत्रीय शहरी विकास योजना अन्तर्गत महेन्द्रनगर बजार सहित आसपास क्षेत्रमा एक अर्ब लगानीमा नाली सहितका सडक निर्माण शुरु गरिएको छ। नगरपालिकाको फोहरमैला व्यवस्थापन केन्द्र र ३६ किलोमिटर आधुनिक सडक बनाउने योजना छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार