सेनाको हिमाल सफाइ अभियान : बेवारिसे शव सहित ३५ टन फोहोर संकलन गर्ने

काठमाडौ : नेपाली सेनाले हिमाल सफाइ अभियानबाट छ वटा हिमालमा रहेको ३५ टनसम्म फोहोर सङ्कलन गर्ने योजना बनाएको छ । सगरमाथाबाट १६ टन, ल्होत्से हिमालबाट एक टन, मकालु, धौलागिरि र आमादब्लमबाट पाँच–पाँच टन र पुमोरी हिमालबाट तीन टन सम्म फोहोर सङ्कलन गरिने नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार छ । विभिन्न सङ्घ संस्थाको समन्वयमा नेपाली सेनाले यही चैत ३१ देखि वैशाख २ गतेसम्म हिमाल सफाइ अभियान हुनेछ । सरसफाइमा जाने विभिन्न समूहलाई २१ दिनको तालिम प्रदान गरिएकोे छ ।

हिमालको प्रदूषण नियन्त्रण र हिमाल सरसफाइबाट विश्वव्यापी तापक्रमको नियन्त्रणमा टेवा पुर्‍याउन, पर्वतीय अर्थ उपार्जनमा सरकारलाई सघाउन, पर्यटनको साथ साथै पर्वतारोहीलाई आकर्षित गर्न र भावी पुस्ताका लागि हिमाल संरक्षण गर्ने उद्देश्यले हिमाल सफाइ अभियान सञ्चालन गरिन लागेको हो । सङ्कलित फोहोरलाई जैविक र अजैविक रुपमा वर्गीकरण गरी प्रशोधन गर्न सकिने फोहोरलाई प्रशोधन गरी पुनः प्रयोग गरिनेछ ।

सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा मात्रै तीन सयभन्दा बढी आरोहीको शव सहित १४ हजार टन फोहोर रहेको अनुमान गरिएको छ । अभियानको सुरुवाती चरणमा भइरहेका विभिन्न अन्तर्क्रिया र सम्मेलनमा प्रस्तुत गरिएको कार्यपत्रमा सर्वोच्च शिखर सगरमाथा आरोहणको क्रमसँगै बेवारिसे शव र अन्य फोहोरले हिमाल प्रदूषित हुँदै गएको उल्लेख छ ।

सेनाका प्रवक्ता पौडेलले नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घ लगायतका विभिन्न सङ्घ संस्थाले गरेको अध्ययनपछि निकालिएको अनुमानित तथ्याङ्क भएकाले सगरमाथा क्षेत्रमा तीन सयभन्दा बढी शव हुन सक्ने बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार