
काठमाडौ : हरेक बर्ष नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिमा लगानीका क्षेत्रहरु समेत निर्धारण गरिएको हुन्छ । लगानीयोग्य रकम मध्ये कुन कुन क्षेत्रमा कति प्रतिशत सम्म लगानी गर्ने भन्ने पनि नीतिमै किटान गरिएको हुन्छ ।
तर अहिलेसम्म न सरसफाइको क्षेत्रमा लगानी गर्नुपर्ने भनेर नीतिमा भनिएको छ, न त बैंकहरु आफैले यस क्षेत्रमा लगानी गरेका छन् । या त सरसरफाइको क्षेत्रमा लगानी गर्न व्यवसायिक प्रस्ताव नगरेको पनि हुन सक्छ । तर पूर्व सचिव एवं सरसफाइ विज्ञ सुमन प्रसाद शर्मा भने सरसफाइ क्षेत्र बैंकहरुका लागि आकर्षक क्षेत्र बन्ने बताउनुहुन्छ । यसका लागि सरसफाइमा लगानी गर्दा फाइदा हुने त्यो रकमबाट यसरी ऋण तिर्न सकिन्छ भन्ने सुनिश्चितता प्रदान गर्नु पर्ने बताउनुहुन्छ ।
‘बैंक खोल्ने भनेको व्यापार हो । जहाँ चाहिं नाफा हुँदैन त्यहाँ लगानी गर्ने भन्ने कुरा हुँदैन । सामाजिक उत्तरदायित्वको हिसाबले केही गर्न सकिएला ? तर त्यो भनेको सीमित हुन्छ । यसलाई चाहिं भायबल प्रोजेक्टको रुपमा विकास गर्नका लागि यही क्षेत्रमा काम गर्ने मानिसहरुले त्यस्ता प्रस्तावहरु तयार गर्न सक्नुपर्यो’ पूर्व सचिव शर्मा भन्नुहुन्छ ‘यसमा लगानी गर्दा फाइदा हुन्छ । यो फाइदाबाट यत्ति रकम उठ्छ, त्यो रकमबाट यसरी ऋण तिर्न सकिन्छ भन्ने सुनिश्चित भयो भने बैंकले त लगानी नगर्ने कुरै आउँदैन । बैंक लगानी गर्न बसेको, नाफा कमाउन बसेको हो, यहाँ तरलता बढेको बढेकै छ ।’
उहाँको भनाइमा लगानीको प्रतिफल यसबाट प्राप्त हुन्छ र लगानी सुरक्षित हुन्छ भन्ने भएमा लगानी भएन, ब्याजदर घट्यो भन्ने अवस्था आउँदैन । ‘तरलता व्यवस्थापनका लागि पनि बैंकहरुले लगानी गर्नेछ । तर यो क्षेत्र चाहिं आकर्षक क्षेत्र हो ।’ उहाँले भन्नुभयो ।
मिनरल वाटरको उद्योग चल्छ भने सरसफाइ उद्योग पनि चल्ने उहाँको भनाइ छ । ‘देशभरि, बोटलका बोटल पानी विक्री भईरहेको छ । त्यत्रो पानी उद्योग चलेको छ भने सरसफाइ नचल्ने भन्ने होइन, त्यसलाई व्यवस्थापन गर्ने र हेर्ने दृष्टिकोणको अभाव हो’ वास खबरसँग कुराकानी गर्दै उहाँले भन्नुभयो ।
‘सार्वजनिक चर्पी भनेको चाहिं चर्पी बनाईदिने, एक जनालाई ल्याएर पिसाब फेरेको ५ र दिसा गरेको १० रुपैयाँ भनेर पैसा उठाउने कुराको रुपमा मात्र सोचियो ।’ शर्मा भन्नुहुन्छ ‘त्यो नसोचीकन यो समष्टिगत जीवनको अभिन्न चक्रको रुपमा लिएर जीवन यापनको एउटा अभिन्न बिषयको रुपमा लिएर काम गर्यौं भने त त्यसमा आकर्षक प्रस्ताव बनाउन सकिन्छ र बैंकहरुलाई आकर्षित गराउन सकिन्छ ।’


1613 पटक हेरिएको 

