जन्म दिनको उपलक्ष्यमा सरसफाइ कोषमा रकम जम्मा गर्ने शिक्षक शिक्षिका र विद्यार्थी सम्मानित

कीर्तिपुर : जन्मदिन मनाउन छुट्याएको रकम सरसफाइ कोषमा जम्मा गर्ने शिक्षक, शिक्षिका र विद्यार्थीलाई जनसेवा उच्च माध्यमिक विद्यालयले सम्मान गरेको छ । विद्यालयले आयोजना गरेको सरसफाइ सम्मेलनको अवसर पारी शिक्षकहरु राजेन्द्र डंगोल र देवराज महर्जन, प्राचार्य नन्द कुमारी महर्जन, शिक्षिकाहरु राधिका रेग्मी र ओमकुमारी भण्डारी र कक्षा ९ मा अध्ययनरत छात्रा लक्ष्मी पौडेललाई प्रमुख अतिथि एवं पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहले प्रशंसा पत्र प्रदान गरी सम्मान गर्नुभएको हो ।  

जन्म दिन मनाउन छुट्याएको रकम सरसफाइ कोषमा जम्मा गर्ने कामको शुरुवात विद्यालयका शिक्षक राजेन्द्र डंगोलले गर्नुभएको थियो । उहाँले शुरुमा सरसफाइ कोषमा २ हजार रुपैयाँ जम्मा गर्नुभएको थियो । त्यसपछि शिक्षक देवराज महर्जनले ५ हजार, प्राचार्य नन्दकुमारी महर्जन, शिक्षिकाहरु राधिका रेग्मी र ओमकुमारी भण्डारी र छात्रा लक्ष्मी पौडेलले सरसफाइ कोषमा रकम जम्मा  गर्नुभएको थियो ।

हरेक व्यक्तिको जन्मदिन बर्षको एक दिन आउने र प्रतिव्यक्ति २ सय मात्र जम्मा गर्ने हो भने एक बर्षमा जन्मदिनकै २ लाख रुपैयाँ संकलन हुने विश्व स्वास्थ्य संगठनका प्रोफेस्नल अफिसर डाक्टर सुदनराज पन्थीले बताउनुभयो । ‘हामीसँग रकमको अभाव होइन, सोचको अभाव हो, हामी हजार जना त छौं, हरेक २ सय रुपैयाँ जम्मा गर्दा बर्षमा २ लाख रुपैयाँ जम्मा हुन्छ’ आर्थिक स्रोतको खोजीका लागि अरुलाई गुहार्नै पर्दैन’ उहाँले भन्नुभयो । जनसेवा उच्च माध्यमिक विद्यालयले शुरुवात गरेको यो प्रशंसनिय कामको अभ्यास अरु विद्यालयले समेत गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्राचार्यद्वारा १० तथा समाजसेवी महर्जनद्वारा ५ हजार सहयोग

विद्यालयकी प्राचार्य नन्दकुमारी महर्जनले १० हजार रुपैयाँ र समाजसेवा एवं पदमलाल महर्जनले ५ हजार रुपैयाँ विद्यालयलाई सहयोग गर्नुभएको छ । प्राचार्य महर्जनले आफ्नो १०४ बर्षीया आमाको नाममा विद्यालयलाई १० हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

Splash नेपाललाई सम्मान

खानेपानी र सरसफाइमा पु-याएको योगदानको कदर गर्दै जनसेवा उच्च माविले Splash नेपाललाई सम्मान गरेको छ । उक्त सम्मानपत्र Splash नेपालकी Wash Officer भवानी श्रेष्ठले ग्रहण गर्नुभयो । ‘Splash नेपालले यस विद्यालयमा स्वच्छ, सुरक्षित र बालमैत्री एवं अपाङ्गमैत्री धाराको व्यवस्था गरी खानेपानीमा सबै उमेर समूह र विशेष समूहका बालबालिकाको समेत पहुँच बढाएको छ, म Splash नेपालको उच्च प्रशंसा गर्छु’ विद्यालयकी प्राचार्य नन्दकुमारी महर्जनले भन्नुभयो ।

Splash नेपालले काठमाडौका विभिन्न विद्यालयमा स्वच्छ र सुरक्षित पानीको व्यवस्था गर्दै आएको छ । शुक्रबार विद्यालयले आयोजना गरेको विद्यालय सरसफाइ सम्मेलन कार्यक्रममा वाटरएडका रिसर्च एण्ड एड्भोकेसी म्यानेजर गोविन्द श्रेष्ठले विद्यालयको आयोजनामा सञ्चालित सरसफाइ सम्मेलन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन भन्दा कमी नभएको बताउनुभयो । ‘देशभर ३४ हजार भन्दा बढी सामुदायिक विद्यालयहरु छन्, ती विद्यालयले जनसेवा स्कुलबाट सिक्नुपर्छ, शिक्षा मन्त्रालयलाई यस्ता क्रियाकलाप प्रदर्शन गर्नुपर्छ’ श्रेष्ठले भन्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले विद्यालयमा सात झण्डे पूर्ण सरसफाइ कार्यक्रम कार्यान्वयन गरेकोमा खुसी व्यक्त गर्दै ‘सात’ को शक्ति अब्बल रहने बताउनुभयो । ‘राजनीतिको कुरा गर्दा सात राजनीतिक दल, कोशीको कुरा गर्दा सप्तकोशी, रंगको कुरा गर्दा सप्तरंगी, सरसफाइको कुरा सात झण्डे पूर्ण सरसफाइ कार्यक्रम, ल हेर्नुहोस् सातको शक्ति’ उहाँले भन्नुभयो ।

सरसफाइ सम्मेलनको अवसरमा सरसफाइ गीत प्रतियोगिता तथा नाटक प्रदर्शनी गरिएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार