
नवलपरासी : नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ५ दाउन्नेको तीर्थस्थल परमानन्द सन्यास आश्रम कैलाशधाममा खानेपानीको अभाव छ । कैलाशधाम पुग्ने आउने भक्तजन र पूजारीले बर्षौदेखि आकाशको पानी संगालेर गर्जो टादै आएका छन् ।
आकाशेपानी संकलन गर्ने प्रविधि बिनै जसोतसो आफ्नै बुताले आकाशेपानी संगालेर समस्या टार्दै आएकोमन्दिरका संरक्षक गुरु परमानन्द सरस्वतीले बताउनुभयो । कैलाशधाममा देशका अन्य जिल्लासँगै भारतबाट समेत पुजाअर्चनाका लागि भक्तजनहरु आउने गर्दछन् ।
कैलाशधाम पुग्न पूर्वपश्चिम राजमार्गको दाउन्ने बजारबाट कम्तीमा डेढ घण्टा उक्लिनुपर्छ । तर यहाँ पुग्ने भक्तजनले पानी समेत पिउन पाउँदैनन । थाहा हुने भक्तजनले आफैले खानेपानी बोकेर गएपनि पहिलो पटक आउने भक्तजनले पानी नै पिउन नपाउने अवस्था छ भने पिउनै परे पूजारीले संगालेर राखेको आकाशे पानी नै पिउनुपर्छ ।
बर्षौदेखि आकाशकै पानीमा भर
कैलासधामका पुजारी र सन्त महात्माहरुले वर्षौदेखि आकाशे पानी पिउदै आएका छन् । वर्षामा आकाशको पानी ट्याङ्कीमा जम्मा गरेर वर्षभरि त्यही पानी उमाल्दै पिउदै आएको मन्दिरका संरक्षक गुरु परमानन्द सरस्वतीले बताउनुभयो । कैलाशधाममा ४ जना पुजारीहरु बस्दै आएका छन । ‘एउटा ठूलो ट्याङ्की छ त्यसैमा वर्षाको समयमा पानी जम्मा गरेर राख्छौं र तताएर पिउदै आएका छौ ’ परमानन्दले भन्नुभयो ।
भौगोलिक विकटताले गर्दा खानेपानी पु-याउन नसकेको परमानन्द सन्यास आश्रम कैलासधामका कोषाध्यक्ष कृष्ण प्रसाद पौडेलले बताउनुभयो ।
धाम आसपास पानीको मुहान नहुँदा धेरै तलबाट पानी लैजानुपर्ने र त्यसका लागि आर्थिक अभाव भएकाले खानेपानी पु¥याउन नसकेको उहाँले बताउनुभयो ।
वैकल्पिक उर्जा प्रबर्द्वन केन्द्रले धाममा खानेपानी आपूर्तिका लागि चासो देखाएको तर १६ लाख रुपैयाँ धामले जुटाउनुपर्ने जनाएका आफूहरुलाई आर्थिक अभाव रहेको धामका सचिव कृष्ण प्रसाद तिवारीले बताउनुभयो । केन्द्रले खानेपानी टयाङ्की निर्माण गर्न कम्तीमा ६० लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ ।


840 पटक हेरिएको 

