तनहुँ : तनहुँको व्यास नगरपालिकाले कुहिने फोहोरबाट प्राङ्गरिक मल उत्पादन गर्न थालेको छ । नगरपालिकाको वडा नं. १० स्थित शिशुवा भतेरीमा दुई वटा खाडल खनेर कुहिने फोहोरबाट मल उत्पादन गर्न थालिएको हो ।
नगरपालिकाले गत फागुन महिनादेखि शिशुवा भतेरीमा कुहिने र रत्यौली नजिक नकुहिने फोहोरको व्यवस्थापन गर्दै आएको छ । पहिलो चरणमा मल निकालेर प्रयोगमा समेत ल्याईसकेको गौ संरक्षण तथा प्राङ्गरिक मल उत्पादन केन्द्रका अध्यक्ष एवं वडाध्यक्ष तुलसीराम सापकोटाले बताउनुभयो । दुई वटा खाडल खनेर कुहिने फोहोर राखेर मल उत्पादन गरिएको उहाँको भनाइ छ ।
मल प्रयोग गरी सुपरनेपियर, इपिल इपिल, मठ, पारा, मकै चरी लगायतको उन्नत घाँस लगाउने योजना रहेको उहाँले बताउनुभयो । “गौ संरक्षण केन्द्रमा हाल ५५ वटा गाई रहेकोले घाँस उत्पादनको लागि ट्रयाक्टरले जोतेर घाँस रोप्न लागिएको छ ।” उहाँले भन्नुभयो । व्यास नगरपालिकाको वडा नं २, ३, ४ र १ बाट दैनिक बाह्र टन फोहोर सङ्कलन हुने गरेकोमा करिब ४० प्रतिशत कुहिने फोहोर रहेको नरपालिकाका वरिष्ठ अधिकृत कुमारकञ्चन जिसीले जानकारी दिनुभयो ।
कुहिने फोहोरबाट भतेरीमा बायोग्याँस प्लान्ट जडान गरी विद्युत समेत उत्पादन गरिसकिएको उहाँले बताउनुभयो। छाडा चौपाया जथाभावी छाड्दा सवारी दुर्घटना वृद्वि हुन थालेपछि नगरपालिकाको सक्रियतामा गौ संरक्षण केन्द्र स्थापना गरिएको हो । केन्द्रमा गाई ब्याएपछि स्थानीय विपन्न परिवारलाई सुपथ मूल्यमा प्रदान गर्ने योजना रहेको वडाध्यक्ष सापकोटाले बताउनुभयो।


907 पटक हेरिएको 

