
काठमाण्डौ करिब दुई वर्षअघि नेपाललाई खुला दिसामुक्त र पूर्ण सरसफाइ अग्रसर राष्ट्र घोषणा गरेपछि धेरे साझेदारको अपेक्षा थियो : अब सरसफाइको गति रोकिदैन । हुन पनि, पछिल्लो एक दशकमा नेपालले सरसफाइ प्रबर्द्धनमा विश्वमा नै लोभलाग्दो उपलब्धी हासिल गरेको थियो । आवश्यक नीति नियम निर्माण गर्न सक्ने हैसियतका स्थानीय सरकार बनेका छन्, देशमा तीन तहका सरकार छन्, खुला दिसामुक्त अभियानका लागि सरसफाइ गुरुयोजना बनाउने राष्ट्रले पूर्ण सरसफाइका लागि छिटै गुरुयोजना बनाउला । त्यसो त २०७३ सालमा नै पूर्ण सरसफाइ मार्गदर्शन तयार भैसकेको थियो ।
अवस्था त्यस्तो रहेन । देश खुला दिसामुक्त घोषणा गरिसकेपछि सरसफाइ गुरुयोजना २०६८ को मार्गदर्शनका आधारमा क्रियाशील रहेका जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिहरु पालिकाले अस्तित्व नै नस्वीकार्ने अवस्थामा पुगे । पालिका तहमा गठन भएका समितिहरु घोषणापश्चात् निस्क्रिय बने । विकास साझेदारहरु सीमित पालिका र वडाकेन्द्रित सरसफाइ प्रबर्द्धनमा लागे ।
अहिले त अवस्था यतिसम्म तल झरिसक्यो कि, कुनै तहका सरकारहरुसँग पनि सरसफाइ तथा स्वच्छताको हालको अवस्था के हो भन्ने स्पष्ट तथ्यांक समेत छैन ।
“अहिले एन वास मार्फत स्थानीय तहहरुको खानेपानी, सरसफाइ र स्वच्छताको तथ्याांक अद्यावधिक गर्ने कार्य भैरहेको छ”, २२ औं राष्ट्रिय सरसफाइ सप्ताहको अवसर पारेर आयोजना गरिएको भर्चअल आमसञ्चार अन्तरक्रियामा राष्ट्रिय सरसफाइ समन्वय समितिका अध्यक्ष मीना श्रेष्ठले भन्नुभयो, “अहिले ८१ स्थानीय तहको तथ्यांक एन वासमा अद्यावधिक हुँदैछ ।”
७५३ स्थानीय तहमध्ये करिब तीन सय स्थानीय तहले वास योजना तयार गरेका छन्, जसमा खानेपानी, सरसफाइ तथा स्वच्छताको अवस्था उल्लेख गरिएको छ । तर, ती सबै योजना एन वास एप्लिकेसन प्रयोग गरेर तयार गरिएका भने होइनन् । तथ्यांक संकलन तथा विश्लेषण अन्य एप्लिकेशनबाट गरेर पनि वास योजना तयार गरिएका छन् ।
मुलुक संघीयतामा गैसकेपछि तीन तहका सरकारबीच सरसफाइ तथा स्वच्छता प्रबर्द्धनका सन्दर्भमा कार्यकारक समन्वयको अभाव भएको सरोकारवालाहरुको भनाइ छ । “सरसफाइ गुरुयोजनाले कुन तहमा को–कसको सहभागितामा कस्तो समिति बनाउने भन्नेसम्मको दिशानिर्देश गरेको थियो”, प्रदेश नं. १ भौतिक पूर्वाधार विकास मन्त्राललयका खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन महाशाखा प्रमुख एवम् प्रदेश वास क्लस्टरका संयोजक विकास काफ्ले भन्नुहुन्छ, “स्पष्ट नीतिगत प्रावधानको अभावमा अहिले हामीले प्रदेश तहमा खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति समेत गठन गर्न सकेका छैनौं, किनकि यस समिति कसले नेतृत्व गर्ने र को को रहने भन्ने कुनै पनि नीतिगत वा कार्यक्रमगत प्रावधानमा उल्लेख छैन ।”
संघीय व्यवस्थामा तीन तहका सरकार भएजस्तै तीन तहका खानेपानी, सरसफाइ तथा सवच्छता समन्वय समिति भए पुग्ने आशय स्थानीय सरकारको छ । संघीय सरकारले समेत दुई वर्ष अघिदेखि तयारी गरेको पूर्ण सरसफाइ गुरुयोजना तयार गर्न सकेको छैन ।
गुरुयोजना कस्तो बनाउने भन्नेमै कन्फ्युजन
गुरुयोजनामा सरसफाइ तथा स्वच्छतामात्र समेट्ने कि खानेपानी र स्वास्थ्य पनि समेट्ने भन्नेमा सरोकारवालामा नै एकमत देखिदैन । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिका कार्यकारी निर्देशक चोकप्रसाद धिताल पूर्ण सरसफाइ गुरुयोजनामा खानेपानीलाई मिसाउन नहुने धारणा व्यक्त गर्नुहुन्छ । “खानेपानीलाई अलग्गै राख्नुपर्छ, पूर्ण सरसफाइमा खानेपानीलाई मिसाएर गन्जागोल बनाउनु हुँदैन”, उहाँ भन्नुहुन्छ, “अबको प्राथमिकता सार्वजनिक शौचालय व्यवस्थापन हुनुपर्छ । यस वर्ष फण्ड बोर्डले ७० भन्दा बढी सार्वजनिक शौचालय निर्माण गरिरहेको छ ।”
विश्व स्वास्थ्य संगठन नेपालका नेशनल प्रोफेसनल अफिसर डा. सुदन पन्थी पूर्ण सरसफाइलाई स्वास्थ्यसँग जोड्नुपर्ने बताउनुहुन्छ । “अहिलेको कोरोना कहरले पनि स्वास्थ्यका लागि सरसफाइ भन्ने देखाइसकेको छ”, उहाँ भन्नुहुन्छ, “त्यसैले, यसलाई सरसफाइसँग जोडेर लैजानुपछृ ।”
पूर्ण सरसफाइमा के के समेट्ने र सूचक कति राख्ने भन्ने पनि निक्र्योल भएको छैन । “एक दुई चरणमा छलफल भएको छ, त्यसभन्दा अघि बढेर यसमा काम हुन सकेको छैन”, राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवम् खानेपानी मन्त्रालयका सहसचिव मीना श्रेष्ठको भनाइ छ ।
प्रदेश नं. २ का वास क्लस्टर सहसंयोजक वोधनारायण श्रेष्ठ, बागमती प्रदेशका सहसंयोजक दीपेन्द्रसिं सामन्त, लुम्विनी प्रदेशका सहसंयोजक राकेशकुमार मल्लिक र कर्णाल प्रदेशका सहसंयोजक नवीनकुमार शाही पूर्ण सरसफाइ प्रवद्र्धनका लागि नीतिगत स्पष्टता, पूर्ण सरसफाइ गुरुयोजना, समन्वय तथा अनुगमन प्रणाली, प्रदेश र स्थानीय सरकारका निर्दिष्ट कार्यक्रम हुनुपर्नेमा जोड दिनुहुन्छ ।
वाटर एडका नीति विशेषज्ञ गोविन्द श्रेष्ठले ५ जोड २ का सहायक सूचकहरु अनगिन्ती भएकोले यी सबैलाई समेटेर पूर्ण सरसफाइलाई अभियानको रुप दिन नसकिने बताउनुहुन्छ । “मैले नै काम गर्न थालेको एक दशक नाघिसकेको छ, तर म नै यी सूचकको बारेमा अझै पनि कन्फ्युज्ड छु”, उहाँ भन्नुहुन्छ, “त्यसैले यी बहुसूचकमा काम गर्नुभन्दा पनि निश्चित सूचकमा काम गर्नुपर्छ ।”

दिसाजन्य लेदो व्यवस्थापनका लागि उपयुक्त जग्गाको अभाव
चर्पीको उपलब्धतापछि अबको प्रमुख सरोकारको विषय भनेको दिसाजन्य लेदोको सुरक्षित व्यवस्थापन नै भएको बताउनुहुन्छ अध्यक्ष मीना श्रेष्ठ । “सहरी क्षेत्रमा ढल प्रणाली र ग्रामीण क्षेत्रमा दिसाजन्य लेदो प्रशोधन केन्द्रको निर्माण अबको प्रमुख सरोकार हो”, श्रेष्ठले भन्नुभयो, “संस्थागत तथा सार्वजनिक सरसफाइ व्यवस्थापन, सार्वजनिक स्थल व्यवस्थापन र ठोस व्यवस्थापन समेत सँगसँगै लैजानुपर्ने विषय हुन् ।”
लेदो प्रशोधन केन्द्र निर्माणका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार तयार भए पनि जग्गा व्यवस्था गर्नुपर्ने जिम्मेवारी स्थानीय तहको हुने र स्थानीय तहले जग्गा व्यवस्थापन गर्न नसक्दा साधन श्रोत र योजनाका बाबजूद कतिपय स्थानीय तहमा लेदो प्रशोधन तथा व्यवस्थापन केन्द्र बन्न नसकेको पनि सहसचिव श्रेष्ठले सुनाउनुभयो ।
वाटर एड नेपालका गोविन्द श्रेष्ठ र यूनिसेफ नेपालका सिद्धि श्रेष्ठ समेत दिसाजन्य लेदो व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुहुन्छ । लेदोको व्यवस्थापनको विषयमा छलफल गरिरहँदा कति घरधुरीको दिसाजन्य लेदो व्यवस्थापन गर्नुपर्ने हो र कति क्षमताका लेदो व्यवस्थापन केन्द्र आवश्यक पर्ने हो भन्ने तथ्यांक समेत सरकारहरुसँग अद्यावधिक भएको देखिदैन ।
लामो समय खानेपानी तथा ढल व्यवस्थापन विभागका समाजशास्त्रीको रुपमा काम गरिसक्नुभएका नेपाल सरकारका वरिष्ठ समाजशास्त्री कमल अधिकारीका अनुसार नेपालमा सुरक्षित चर्पीको अवस्थाको बारेमा अहिलेसम्म व्यापक रुपमा अध्ययन भएको छैन । सुरक्षित सरसफाइका लागि घरायसी चर्पीको अवस्थाको बारेमा विस्तृत तथ्यांक उपलब्ध नभए पनि ढल प्रणाली र दिसाजन्य लेदो प्रशोधन केन्द्रहरु भने स्थानीय सरकारले समेत निर्माण गरिरहेका छन् । सदस्यसचिव श्रेष्ठका अनुसार काठमाण्डौ उपत्यकामा मात्र ४ सय किलोमिटरभन्दा बढी ढल प्रणाली उपलब्ध छ । यसबाहेक पनि पूर्वका विराटनगर, दमक, धनकुटाको हिले, भोजपुरदेखि पश्चिम कञ्चनपुरसम्म प्रशोधनसहितको ढल प्रणाली निर्माण भैरहेको छ ।
यसबाहेक दिसाजन्य लेदो व्यवस्थापनका लागि सरकारी, गैरसरकारी र बहुसरोकारवालाहरुको संयुक्त प्रयासमा प्रशोधन केन्द्रहरु निर्माण भैरहेका छन् । नेपालमा अहिले ६० भन्दा बढी लेदो प्रशोधन केन्द्र निर्माण भै सञ्चालनमा रहेको सदस्यसचिव श्रेष्ठले जानकारी दिनुभयो ।
घरायसी तहमा उपयुक्त प्रविधिसहितको दुई खाल्डे चर्पी, सेप्टिक टंकी भएको चर्पी, बायो ग्यास जडान गरिएका चर्पी र व्यवस्थित ढल प्रणालीमा जडान गरिएको चर्पीलाई ‘सुरक्षित सरसफाइ सुविधा’ मा गणना गरिन्छ । यसैगरी, सुरक्षित रुपमा खाडलमा रहेको दिसाजन्य लेदोलाई निकाल्ने, त्यसको सुरक्षित ओसारपसार र प्राविधिक एवम् वातावरणीय रुपमा उपयुक्त भएको प्रशोधन केन्द्रमा प्रशोधन गरी पुनःप्रयोग गरिएको अवस्थालाई समेत सुरक्षित सरसफाइ मानिएको छ ।
यू.एन. ह्याबिट्याटका साझेदार संस्थाहरुले पूर्ण सरसफाइ कार्यक्रम थालनीको समयमा तराई मधेशका बारा, धनुषा, महोत्तरी, मोरङ, पर्सा र सर्लाही जिल्लाका १ लाख २४ हजार ३ सय ८२ घरधुरीमा गरेको सर्वेक्षण अनुसार ४६.७० प्रतिशत चर्पीहरु ‘सुरक्षित’ मापदण्डका रहेका छन् । कूल घरधुरीमध्ये ३.४४ प्रतिशत चर्पी बायोग्यास जडान गरिएका छन् । यसैगरी १९.०१ प्रतिशत चर्पी दुई खाल्डे र २४.१७ प्रतिशत चर्पीहरु सेप्टिक टंकीसहितका छन् । तराईका जिल्लाहरुमध्ये बारा र सर्लाहीमा बायोग्यासको प्रयोग अन्य जिल्लाको तुलनामा बढी छ ।
यसैगरी, दुई खाल्डे चर्पीहरु कूल चर्पीको १९.०१ प्रतिशत र सेप्टिक टंकी भएका चर्पीहरु २४.१७ प्रतिशत रहेका छन् । ग्रामीण क्षेत्रमा दुई खाल्डे चर्पी बनाउने दर बढी छ भने सहरी क्षेत्रमा सेप्टिक टंकीसहितका चर्पी बनाउने दर बढी छ ।
पहाडी जिल्ला नुवाकोटको विदुर नगरपालिकामा ७ हजार ५ सय ४० चर्पीको सर्वेक्षण गरिएकोमा ३५ प्रतिशत सेप्टिक टंकी सहितका चर्पीहरु रहेका छन् । यस्तै, ८.५७ प्रतिशत दुई खाल्डे, र ५०.४१ प्रतिशत एक खाल्डे चर्पी रहेका छन् ।
पहाडी जिल्ला बाजुराका दुई वटा स्थानीय तहका ६ हजार ६ सय ३५ घरधुरीमा गरिएको सर्वेक्षण अनुसार ६ हजार ५४ घरधुरीमा एक खाल्डे चर्पी रहेका छन् । पहाडी क्षेत्रमा डुंगाको सुख्खा गारो लगाई दिसा जम्मा हुने खाडल बनाइने र त्यो निकै लामो समयसम्म नभरिने हुनाले एक खाल्डे चर्पी भए पनि दिसाको सुरक्षित व्यवस्थापनमा कुनै समस्या नहुने विकास सहजकर्ता ताराबाबु खातीको भनाइ छ ।
अझै कति घरमा चर्पी नै छैन ?
नेपालको तराई मधेश, पहाडी जिल्ला र उच्च पहाडी तथा हिमाली जिल्लाका करिब दुई लाख घरधुरीमा गरिएको सर्वेक्षण अनुसार पहाडी क्षेत्रमा ४.४३ प्रतिशत र तराई मधेशमा १६.१९ प्रतिशत घरधुरीमा चर्पी निर्माण तथा पुनःनिर्माण गर्नुपर्ने अवस्था छ ।
सरकारी तथ्यांक अनुसार नेपालमा ५४ लाख २७ हजार ३ सय २ घरधुरी रहेका छन्, जसमध्ये औसत घरधुरी कभरेजका हिसावले हेर्दा तराई मधेश क्षेत्रमा २७ लाख २९ हजार ९ सय ३३ घरधुरी पर्दछन् । यसको १६.१९ प्रतिशतले हुन आउने ४ लाख ४१ हजार ९ सय ७६ घरधुरीमा नयाँ चर्पी नै निर्माण गर्नुपर्ने छ । प्रदेश सरकारले नै सुरक्षित चर्पीको अवधारणालाई समावेश गरेर नीति निर्माण नगरेसम्म यो समस्या दीगो रुपमा समाधान हुन नसक्ने स्थानीय कर्मचारी हकहित मञ्च, प्रदेश २ का संयोजक विजयकुमार यादवको छ ।
यसैगरी, पहाडी र हिमाली क्षेत्रमा पर्ने घरधुरीलाई आधार मान्दा १ लाख १९ हजार ४ सय ९३ घरधुरीमा नयाँ चर्पी बन्नुपर्नेछ ।
तराई र पहाड सबै क्षेत्रलाई हेर्दा नेपाललाई साँचो अर्थमा खुला दिसामुक्त अवस्थामा पु¥याउनका लागि अझै पनि ५ लाख ६१ हजार ४ सय ६९ घरधुरीमा चर्पी निर्माण गर्नुपर्ने छ ।
दिसाजन्य लेदो प्रशोधन केन्द्र, ठोस फोहर व्यवस्थापन, ढल प्रणाली सबै बनाउनु त पर्छ नै, चर्पी नै नभएका यी साढे ५ लाख घरधुरीमा चर्पी बनाउने विषयलाई प्राथमिकतामा नराखेसम्म साँचो अर्थमा पूर्ण सरसफाइ अग्रसर मुलुक बन्न सक्ला ?


1206 पटक हेरिएको 

