कोभिड–१९ रोगको महामारीका कारण विश्वव्यापी आक्रान्त फैलिरहेको परिप्रेक्ष्यमा नेपालमा पनि संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । साथै, कोरोना कहरका बीच विभिन्न तथ्यहरू सार्वजनिक भइरहँदा रोग नियन्त्रणका लागि पनि विभिन्न उपायहरू अपनाउन पहल गरिएको छ । The Lancet Microbe का अनुसार कागजमा ३ घन्टा, कपडा र काठमा २ दिन, सिसा र पैसामा ४ दिन, र मेडिकल मास्कको बाहिरी सतहमा ७ दिनसम्म पनि कोभिड–१९ का भाइरसहरू जिवित रहन सक्दछ । त्यस्तै, New England Journal of Medicineको अनुसन्धान अनुसार कोभिड–१९ का भाइरसहरू तामामा ४ घण्टा, कार्डबोर्डमा १ दिन र स्टिल वा प्लास्टिकमा ३ दिनसम्म रोग सार्न सक्ने अवस्थामा रहन्छन्।
तसर्थ, कोभिड–१९ रोगबाट संक्रमित व्यक्तिले खोक्दा वा हाच्छिउँ गर्दा उत्पन्न छिट्टाहरू संक्रमित व्यक्तिको हातको माध्यमबाट वा प्रत्यक्ष रूपमा कुनै सतहमा परेमा उक्त स्थानमा रहेका भाइरसहरू अन्य व्यक्तिको सम्पर्कमा आएमा रोग सार्न सक्छ । भाइरस रहेको सतहहरू रोगका स्रोत भएका कारण उक्त जोखिमपूर्ण सतहबाट रोग सर्ने अवस्थालाई कम गर्न सतहको निसंक्रमण गर्नु निकै महत्वपूर्ण हुन्छ ।
क्लोरिनको प्रयोग
निसंक्रमणका लागि बजारमा पाइने विभिन्न उत्पादनहरू मध्ये क्लोरिन रसायन एक सस्तो, प्रभावकारी र सजिलो किटाणुनाशक हो जुन पाउडर, झोल वा ट्याब्लेटको रुपमा उपलब्ध छन्। कोभिड–१९ को भाइरसलाई पनि क्लोरिनले सजिलै नष्ट गर्न सक्दछ । तसर्थ, नेपाल सरकारको वातावरणीय सरसफाइ र निसंक्रमण बारेको अन्तरिम मार्गदर्शन – २०७७ मा निम्नअनुसार क्लोरिन झोलको मात्रा सिफारिस गरिएको छ ।
क्लोरिन झोलको मात्रा

निसंक्रमण गर्नुपर्ने सतहहरू र उपलब्धताको आधारमा क्लोरिन झोललाई आवश्यक मात्रामा निम्नानुसार तयार गर्न सकिन्छ ।

क्लोरिन किटाणुनाशकको तयारी, प्रयोग र उचित भण्डारण गर्दा अपनाउनु पर्ने सावधानीहरू :
♦ आँखा तथा छालासँग सिधा सम्पर्कमा आउनबाट जोगिन यसको तयारी र प्रयोग गर्दा व्यक्तिगत सुरक्षाका सामाग्रीहरू (मास्क, चस्मा, पञ्जा, बुट र एप्रोन) को प्रयोग गर्नु पर्दछ ।
♦ क्लोरिन खिया लगाउने (कोरोसिभ) रसायन भएकाले तयारी र प्रयोग गर्दा प्लाष्टिकको सामाग्रीहरू मात्र प्रयोग गर्नु पर्दछ ।
♦ क्लोरिन झोललाई सधैं बन्द रंगीन प्लाष्टिकको बट्टामा, ओसिलो र घाम नआउने ठाउँमा, नाम लेखी बच्चा तथा अरुको पहुँचबाट टाढा सुरक्षितसाथ राख्नु पर्दछ ।
♦ क्लोरिन झोललाई अन्य सरसफाइका सामाग्रीहरू, अमोनिया र यसका समिश्रणहरू वा अम्लिय पदार्थहरूसँग मिसाउनु हुँदैन ।
♦ धेरै वा बढी भएको झोललाई सुरक्षित तरिकाले चर्पी वा ढलमा विसर्जन गर्नु पर्दछ ।
♦ क्लोरिनले फलामे सतहमा खिया लाग्ने हुँदा क्लोरिनले निसंक्रमण गरेको १ मिनेटपछि फलामे सतहलाई सफा पानीले पुस्नु पर्दछ ।

दैनिक रुपमा ०.१ % क्लोरिन झोल तयार गर्ने प्रक्रियाहरू :
माथि दिए अनुसार बनेको क्लोरिन झोलमा कुनै कपडा वा मोप भिजाएर सतह पुछ्दै निसंक्रमण गर्नु पर्दछ । तर, हालको अभ्यासमा भने स्प्रे बोतलबाट छर्कने गरेको पाइन्छ । यसरी स्प्रे गर्नाले आँखा, छाला तथा श्वासप्रश्वास र सम्पूर्ण स्वास्थ्यमा नकारात्मक असर देखिने भएकाले स्प्रेलाई सिफारिस गरिएको छैन । तसर्थ, क्लोरिन प्रयोग गरी निसंक्रमण गर्ने सहि विधिबारे समयमा नै सर्वसाधारणलाई जानकारी दिन जरुरी देखिन्छ । सबैले सुरक्षित भई महामारीबाट बचौं ।
सबुना गमाल/एन्फो (वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को प्रकाशन अन्जुलीबाट)


733 पटक हेरिएको 

