सोलुखुम्बु : सोलुखुम्बुको सदरमुकाम स्थित नयाँबजारमा थुप्रिएको फोहोर झण्डै २ महिनापछि उठाईएको छ । सोलु दुधकुण्ड नगरपालिकाको गाडीले नयाँबजारमा थुप्रिएको फोहोरलाई उठाएर डम्पिङ साईटमा लगेर व्यवस्थापन गरिएको सोलु दुधकुण्ड नगरपालिकाकाले जनाएको छ । बजारमा थुप्रिएको फोहोर गाडीमा पठाउन स्थानीय बासिन्दाले समेत सहयोग गरेका थिए । फोहोर उठाउँदा वरिपरि दुर्गन्ध समेत फैलिएको थियो ।
फोहोर बोक्ने गाडीका चालकलाई कोरोना संक्रमण भएपछि गत वैशाख २६ गतेदेखि नयाँबजारको फोहोर उठाईएको थिएन । साप्ताहिक रुपमा हाट लाग्ने भएकाले व्यापारीले तरकारी तथा फलफूल जस्ता कुहिने फोहोरमैला समेत थुपार्ने भएकाले बजारमा दुर्गन्ध फैलिन थालेको थियो । बजारका बासिन्दाले समेत सोही ठाउँमा फोहोर ल्याएर फ्याँक्ने भएकाले नयाँ बजारमा फोहोर थुप्रिदै गएको थियो ।
लामो समयदेखि थुप्रिएको फोहोरले बजारको शोभा घटेको र विभिन्न रोगको संक्रमण फैलिने सम्भावना बढेको भन्दै स्थानीय बासिन्दाले फोहोर उठाउन माग गर्दै आएका थिए । फोहोरले पार्ने दिर्घकालीन असरका बारेमा विभिन्न सञ्चारमाध्यमले समेत आवाज उठाउँदै आएका थिए ।