काठमाडौ उपत्यकाका १८ वटा नगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएको सिसडोल ल्याण्डफिल साइटमा फोहोर फाल्न नदिएपछि काठमाडौमा फोहोर थुप्रिएको छ । हप्तौंदेखिको फोहोर शहरका मुख्य चोक, गल्ली र सडकमा थुप्रिदा शहर दुर्गन्धित भएको छ । नुवाकोट सिसडोलका बासिन्दाले अहिले मात्र होइन, हरेक बर्ष कुनै न कुनै कारण देखाउँदै फोहोर व्यवस्थापनमा अवरोध पु-याउँदै आएको छ । काठमाडौ उपत्यका एवं शहरोन्मुख गाउँ तथा नगरको ठोस फोहोरमैला व्यवस्थापनको दीर्घकालीन उपाय के हुन सक्छ ? यसै विषयमा युएन् ह्याविट्याटका दक्षिण एसिया सल्लाहकार एवं वातावरणविद भुषण तुलाधरसँग washkhabar ले गरेको कुराकानीको सम्पादित अंश ।
- फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय के हुन सक्छ ?
हामीले फोहोरलाई फाल्ने वस्तुका रुपमा हेरिरहेका छौं । फोहोर भनेको फाल्ने होइन, पाल्ने वस्तु हो । मेरो घरमा फोहोर भयो, म तपाईको आँगनमा ल्याएर फाल्छु भन्दा तपाईले मान्नुहुन्छ ? कदापि मान्नुहुन्न ।
हामीले कहीं ल्याण्डफिल साइट बनाएर फोहोर फाल्ने भनेको त्यही हो । मेरो शहर फोहोर भयो, ल गाउँलेहरु म तपाई कहाँ ल्याएर फोहोर फाल्छु है भन्दा के हुन्छ ? विरोध हुन्छ । त्यसैले हामीले ल्याण्डफिल साइट बनाउनै सकिरहेका छैनौं ।
एक दुई ठाउँमा बनेको छ तर अन्यत्र बनाउनै सकिरहेका छैनौं । हाम्रो फोहोरको राम्रो पक्ष के हो भने धेरैजसो फोहोर पुनः प्रयोग गर्न मिल्ने खालका छन् । हाम्रो फोहोरमा करिब ७० प्रतिशत अर्थात दुई तिहाइ फोहोर कुहिने खालका छन् ।
त्यसलाई मल बनाउन सकिन्छ, त्यसबाट उर्जा निकाल्न सकिन्छ । गरिरहेका पनि छन् । त्यसमा ध्यान केन्द्रित गर्ने हो भने बाँकी फोहोर भनेको गन्हाउँदैन । कुहिने फोहोर हो, गन्हाउने । बाँकी फोहोर अधिकांश पुनः प्रयोग हुन्छ ।
कागज, प्लाष्टिक, फलामका टुक्राटाक्री किन्न उत्सुक व्यक्ति तथा उद्योगहरु हाम्रै देशमा छन् । त्यसकारण यसलाई छुट्याएर पुनः प्रयोगमा ल्याउन सक्यो भने मात्र फोहोरको व्यवस्थापन गर्न सकिन्छ । यसलाई कतै लगेर फाल्ने वा मिल्काउने गर्न थाल्यौ भने त्यो व्यवस्थापन हुन सक्दैन ।
यदि मान्छेले मानिहाल्यो भने पनि त्यसले अर्को ठाउँमा गएर प्रदुषण गर्छ र त्यसले भूमिगत पानीको प्रदुषण, वातावरण प्रदुषण जस्ता समस्याहरु निम्त्याउँछ । त्यसैले फोहोर व्यवस्थापन भनेको फोहोरको पुनः प्रयोग गर्नु नै हो ।
- फोहोरको पुनः प्रयोग त गर्ने, तर कसले कसरी गर्ने त ?
नगरपालिका आफैले फोहोर व्यवस्थापनको काम गर्ने भन्दा पनि फोहोरमैला सम्बन्धी नै व्यवसायिक रुपमा काम गरिरहेको कम्पनीलाई जिम्मेवारी दिदा राम्रो हुन्छ । त्यो प्रभावकारी पनि हुन्छ । नीजि क्षेत्रलाई जिम्मा दिदैमा नगरपालिकाको जिम्मेवारी हट्ने पनि होइन ।
फोहोर व्यवस्थापनका लागि नगरपालिका नै जिम्मेवार हो । यसमा कम्पनीले सेवाग्राहीलाई दिइने सेवा गुणस्तरीय छ छैन हेर्ने र फोहोरमैला शुल्क पुनरावलोकन गर्ने काम भने नगरपालिकाले हेर्नुपर्छ ।
कम्पनीले आफ्नो नाफा हेर्छ । तर नगरपालिकाले अनुगमन गर्ने काम गर्नुपर्छ । अहिले हेटौडा, पोखरा लगायतका महानगरपालिका तथा उपमहानगरपालिकाले यो मोडलमा काम गरिरहेको छ । पोखरामा त पोखरा लेखनाथ महानगरपालिकाले शुल्क निर्धारण गरेको छ, अनि नीजि कम्पनीले नै घरघरबाट फोहोर उठाउँछ र फोहोरमैला शुल्कका २० प्रतिशत रकम नगरपालिकालाई नै दिन्छ ।
महानगरपालिकाले अर्को एउटा कम्पनीलाई ल्याण्डफिल साइटबाट फोहोर छुट्याएर पुनः प्रयोग गर्न सक्ने वस्तुहरु लैजाने जिम्मा पनि दिएको छ । त्यसैले नगरपालिकाले नीजि र समुदायसँग मिलेर एउटा एकीकृत किसिमको फोहोर व्यवस्थापन गर्न सकिन्छ ।
एकीकृत भनेको फोहोरलाई घर –घरबाट छुट्याएर संकलन गर्ने, पुनः प्रयोग गर्न मिल्नेलाई पुनः प्रयोग गर्ने र नमिल्नेलाई मात्र ल्याण्डफिल साइटमा फाल्ने हो । यसरी नगरपालिका, नीजि क्षेत्र र नगरपालिकाले एकीकृत रुपमा फोहोर व्यवस्थापन गर्दा दिगो र भरपर्दो पनि हुन्छ ।
- हामीले पैसा तिरेकै छौं, किन छुट्याएर दिने भन्ने मनोवृत्ति देखिन्छ । फोहोर उत्पादन गर्ने व्यक्ति आफैले के गर्न सक्छन् ?
हामी आफै विचार गरौं, यदि हाम्रो कोठा फोहोर भयो भने हामी के गर्छौ त ? सबैभन्दा पहिले कोठामा गएर छुट्याउँछौं, धुनुपर्ने लुगा एक ठाउँमा राख्छौं भने सफा लुगा अर्कोपट्टि राख्छौं, बच्चाहरुको किताब एक ठाउँमा मिलाउँछौं ।
हो, त्यो छुट्याउने भनेकै व्यवस्थापनको पहिलो चरण हो । त्यसकारण फोहोरलाई पनि व्यवस्थापन गर्ने हो सबैभन्दा पहिले छुट्याउने नै हो । फोहोरलाई स्रोतमै छुट्याउन सजिलो हुन्छ । सबै मिसिएपछि छुट्याउँदा त्यो सफा हुँदैन ।
मानौं, तपाईले हिजोको दाल प्लाष्टिकमा राख्नुभयो भने त्यहाँबाट खन्याउँदा त्यो प्लाष्टिकमा अलिकति दाल बाँकी रहन्छ र त्यो सफा हुँदैन, जसले गर्दा त्यो प्लाष्टिकलाई पुनः प्रयोग गर्न गाह्रो हुन्छ । तर शुरुमै तपाईले छुट्याउनु भयो भने तपाईलाई पनि सजिलो हुन्छ र पुनः प्रयोग गर्ने व्यक्तिलाई पनि सजिलो हुन्छ ।
मैले पैसा तिरिरहेको छु भने पनि फोहोरलाई छुट्याउने मेरो जिम्मेवारी हो । फोहोरमैला व्यवस्थापन ऐनले पनि छुट्याएर मात्र संकलन गर्नुपर्छ भनेको छ । त्यसैले फोहोरलाई छुट्याउने तपाईको प्रमुख कर्तव्य हो ।
अर्को कुरा घरमै पुनः प्रयोग गर्न मिल्ने त घरमै प्रयाग गर्ने नि ? मल घरैमा सजिलै बनाउन सकिन्छ । त्यसको फाइदा आफैलाई हुन्छ । बारी छैन भने पनि एक दुईवटा गमला त हुन्छ नि त्यसमा फूल तथा सागपात फलाउन काम लाग्छ ।
तपाईको घरमा कुहिने फोहोर अलि बढी नै उत्पादन हुन्छ भने बायोग्याँस समेत उत्पादन गर्न सक्नुहुन्छ । त्यसले एलपी ग्यासको खपत घटाउन सकिन्छ । आफैलाई फाइदा हुने कुरामा किन पछि पर्ने ? हामी आफैले यो विधि अपनायौं भने हाम्रो शहर सफा राख्न त्यत्ति गाह्रो छैन ।


2268 पटक हेरिएको 

