लुम्बिनी : एउटा चर्पी कथा

🔗
55
Shares

राजेन मानन्धर

बुद्ध भनेपछि नेपालमा जन्मेको भनेर भन्नै पर्छ अनि कतै लुम्बिनी भन्यो कि नेपालमा छ भनेर कराउनै पर्छ हामीलाई । यति नगरी नेपालीहरु राष्ट्रवादी कहलाइँदैन । तर भन्नुस् कति घण्टा शौच नगरी बस्नसक्नुहुन्छ लुम्बिनीमा ? लुम्बिनी भन्ने बितिक्कै गर्व गर्ने कुरा मात्र हुन्छ कि पेट मिचेर शौच रोकेर बस्नुपर्ने ठाउँ हो भनेर पनि सोच्नुपर्छ ??

लुम्बिनी के हो भनेर कसैले कसैलाई भनिरहनु नै र्दैन । सबै उफ्रिरहेका छन्, देखेका पनि नदेखेका पनि, बुझेका पनि नबुझेका पनि । बुद्ध नेपालमा जन्मेका भनेर टुंडिखेलमा विश्वरिकर्ड राख्नेहरुमध्ये धेरैले लुम्बिनी देखेकै हुँदैन । देखेकाले पनि बुझेका हुँदैन । बुझेपछि मात्र लुम्बिनीको पीडा महशुस गर्छ । शौचालय लुम्बिनीको यस्तो पीडा हो, जसको बारेमा जो कोही पनि बोल्नै चाहँदैन । शौच त शौच हो, नजाने को होला र ? जानु नपर्ने को होला र ? तर पनि सरोकारवालाहरु सुटबुटमा बस्नेहरु हग्ने मुत्ने कुरा भनेर पन्छिन्छन् । नाम जे दिएपनि, नेपाली वा अंग्रेजीमा भनेपनि मानव शरीरले गर्ने कुरा त्यही हो ।

लगभग २६ सय वर्ष पुरानो सभ्यताको केन्द्र कपिलवस्तुका राजकुमार यहाँ जन्मे, बुद्ध भए र विश्वभर एउटा यस्तो धर्मको प्रचार गरे कि संसारका कुना कुनाबाट यहाँ भगवान बुद्धको जन्मस्थल भनेर दर्शन गर्न आउँछन् । बौद्धहरुत यहाँको माटोमा माथा टेकाउना पाउँदा पनि असीम खुशी र आनन्दको महशुस गर्दछन् । यहाँको रखवाली गर्ने लुम्बिनी विकास कोष यहाँ अहिले एक वर्षमा १ सय २० देखि ३० देशमा मानिस घुम्न आउँछन् भनेर भनेर भन्छ । आउँदा उनीहरुले नहेरी नहुने कुरा के हो भनेर भने भन्दैन । म्यानमार र श्रीलंकाका राष्ट्रपति आए, भारतका राष्ट्रपतिलाई पनि ल्याउने हामीलाई धोको छ ।

संख्याको कुरा गर्दा यही २०१९ को नभेम्बरमा मात्र झण्डै २० हजार विदेशी पर्यटहरु लुम्बिनी आए । त्यस्तै १ लाख ६६ हजार नेपाली पर्यटकहरुले यो वर्षको नोभेम्बरमा मात्र भ्रमण गरे । लुम्बिनी विकास कोषको तथ्यांक अनुसार दैनिक १० हजारदेखि १२ हजार आन्तरिक तथा बाह्य पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन् भनेर भरखरै समाचार पढेको थिएँ । विदेशीहरु भुइँमा घुँडा टेकेर प्रार्थना गर्छन् भने नेपालीहरु सेल्फी खिँच्ने र रमाइलो गर्न थाल्छन् । जे जस्तो भए पनि सबैले त्यहाँ एक पल्ट अनि पैसै तिरेर गएपछि एक दुइ घण्टा बिताएरै फर्कन्छन् ।

ती १२ हजार मानिसहरुले त्यो एक दुइ घण्टामा नगरी नसक्ने काम भनेको शौच हो । तर मन्दिरको आसपासमा भएको एउटा घुम्ती भनिएको शौचालय हेर्ने हो भने ती १२ हजारले कल्पना गर्न सक्ने भन्दा पनि बाहिरको दृष्य देख्नु पर्छ । बुद्ध नेपालमा जन्मेको भनेर त रेकर्ड राखेको सुनेको, तर १२ हजार पर्यटकका लागि १२ वटा पनि चर्पी नभएको एक मात्र विश्व सम्पदा क्षेत्र भनेर पनि रेकर्ड राख्न सकिने संभावना देखियो । कसैले थाल्ने कि?

सबैले भन्दै आएको, थाहा भएको अनि सम्बन्धित पक्षले पनि स्वीकार्ने कुरा एउटै हो कि लुम्बिनीमा पैसाको खोला बगेको छ । त्यहाँ आएको पैसा समेत पनि खर्च गर्न सकिने अवस्था छैन । त्यही भएर त्यहाँ हरेक पल्ट जाँदा नयाँ नयाँ झिलिमिली देख् न पाउँछौं । तर बिडम्बना, त्यहाँ देख्न नपाइने एउटै कुरा के हो भने त्यहाँ राखिएको एउटै सार्बजनिक शौचलय हो । कमसे कम आधा किलोमिटर निहिँडी अर्को शौचालय यहाँ परिपरी भेटिन्न । पैसा तिरेर धर्म गर्न आउनेलाई पनि यो कस्तो सकस दिएको सरकार ?

टिकट काउण्टर पछाडि जाने बितिक्कै पिसाबको कडा गन्ध नाकमा ठोक्किन आउँछ, कसैले कसैलाई शौचालय कहाँ छ भनेर सोध्नै नपर्ने गरी । आँखाको सामुन्ने एउटा निलो रंग खुइलिएको “ UBC TOILET” लेखिएकाे कुनै गाडीकाे ट्रेलर जस्तो बस्तु देखिन्छ । तलतिर त्यो चारवटा पांग्राले अड्याइएको त छ तर ती पांग्राहरुको टायर र ट्युब हराइसकेको छ, यसले नै त्यो देख्दा घुम्ती जस्तो लागे पनि वर्षौ भइसको कतै सारिएको छैन भन्ने थाहा हुन्छ । दुइतिर पातला फलामे भर्याङ बनाइएका छन्, खिया लागेर कुनैपनि बेला चढ्ने मानिस खर्ल्याम् खुर्लुम् हुन सक्ने । एकातिर महिलाहरु र अर्कोतिर पुरुषहरु भनेर छुट्याइएको छ ।

बाहिर हात धुने बेसिन पनि कुनैबेला काममा आउँथ्यो भनेर देखाउने अवशेष बाँकी छ । पुरुष जाने ठाउँमा कुनैमा ढोका लाग्दैन कुनैमा चुकुल छैन, त्यसैले प्रयोग कर्ताले बाहिरैबाट छोटो कर्तब्य पुरा गर्नुपर्ने अवस्था छ, लामो काम गर्ने गुन्जाइसै छैन त्यहाँ ।तीर्थयात्रीहरुमध्ये महिला नै धेरै देखिन्छन् । उनीहरुलाई नै धेरै शौचालय चाहिन्छ । तर यहाँकाे अस्था देखेर उनीहरुले यो कसरी प्रयाेग गर्लान् भनेर कल्पना पनि गर्न सकिंदैन । भित्र जम्मा भएको तरल पदार्थ माथि प्रयोग हुँदै गर्दा तल भुइँमा तररर चुहिरहेको देख्न सकिन्छ । ठाेस पदार्थकाे व्यवस्थापन गर्न सकिने अवस्था छैन । अब पांग्राले काम नगरेको भएपछि आधिकारिक व्यक्तिले त्यसमा संकलन भएको तरल र ठोस पदार्थ कतै सुरक्षित र सभ्य किसिमबाट विसर्जन गरिन्छ भनेपनि पत्याउनेवाला कोही छैन ।

यहाँ धर्म गर्न अथवा भ्रमण गर्न आउने आधा त विदेशी होलान् । उनीहरु नेपालको धर्म देख्छन्, संस्कृति देख्छन्, अनि चर्पी संस्कृति पनि देख्छन् । सकेसम्म त उनीहरु यहाँ जाँदै जाँदैनन् तर प्रकृतिको बोलावट जहाँ मुश्किल छ त्यहाँ नै आउँछ — बाध्य भएर नाक थुनेरै त्यहाँ चढ्छन् अनि काम सकिएपछि नाक खुम्च्याएर फोटो खिँचेर लान्छन् । भन्छन् लुम्बिनी आउने तीर्थालुले यहाँ लुम्बिनीको भनेर कुनै सम्झनाको चिनो लान पाउँदैन । यस्तो हरिबिजोग चर्पीको भन्दा सुन्दर सम्झना अरु के होला र तिनीहरुको लागि ।

अँ बाहिर एउटा फलामको ट्यांकीमा अलिकति धमिलो पानी छ अनि सानो बाल्टिन पनि । शायद यस्तो फोहर पानी लिएर कोही त्यहाँ आफुलाई सफा गर्न पनि जाँदो हो । बरु त्यहाँ त्यो शौचालय प्रयोग कर्ताले तिर्नुपर्ने पैसा राख्न एउटा रातो फलामे कन्तुर तेस्र्याइएको छ अनि एउटी धसमस्स परेकी दिदी त्यसको हेरचाह वा सरसफाइ गर्न भनेर बसेकी हुन्छिन् ।

बरु त्यससँगै एउटा नयाँ आधुनिक स्मार्ट भनिएको शौचालय राखिएको छ, जुन तुलनात्मक रुपमा सफा छ । यसलाई एकपटकमा एक जनाले मात्र प्रयोग गर्न सकिन्छ, अब यसलाई दिनको ६ हजार पर्यटक आउने स्थानमा हाँतीको मुखमा जीरा जस्तो नभने के भन्ने ? यो एउटा शौचालय बन्दा सिंगो लुम्बिनी यति खुशी भएको थियो — मुख्य मन्त्री आफै उद्घाटन गर्न पुगे । शौचालय मन्त्रीले उद्घाटन गर्न नहुने कुरा होइन, यो त सकारात्मक काम हो कि मन्त्री जस्तो माननीय व्यक्तिले शौचालयको महत्व बुझे । तर १२ हजार जना मानिसलाई शौचालय चाहिने तर बन्यो एउटा मात्र । यसमा गर्व गर्ने के शरम मान्ने ? यही हो लुम्बिनीमा अझ धेरै पर्यटक भित्र्याउने योजनाको प्रतिफल ?

अचम्मको कुरा । महिनैपिच्छे बुद्धकाे नाममा विदेशमा घुम्न जान पाएका बाैद्ध विद्वानहरु र धर्मगुरुहरुलाई पनि आफ्नाे देशकाे लुम्बिनीकाे यो हाल देखेर लाज लागेकाे छैन । अनि केही नभएकाे जस्तो लुम्बिनी घुम्न आउनुस् भन्दै निम्दा बाँड्दै हिँड्छन् ।

अब त चर्पीको कुरा भनेको लाजभाँडको कुरा रहेन । कुरा गर्नुपर्यो । एकजना (जतिसुकै ठुलो मान्छे किन नहुन्, संख्यामा त एक नै गनिन्छ)लाई बोलाएर एउटा सभा गर्न करोडौं पर्ने टहरा बनाउन सक्ने लुम्बिनी विकास कोष किन सबै जिउँदो मान्छेलाई नभइ नहुने चर्पी बनाउँदैन ? पैसाको कमी त हुँदै होइन, त्यसमा पनि धर्म गर्न आएका आफ्नै देशका तीर्थालुलाई समेत टिकट कटाएर छिराउने ठाउँमा पैसा तिरेर पनि एउटा ढंगको शौचालय किन बनाउँदैन मन्त्री नै अध्यक्ष भएको कोषले? सबैले भन्ने कुरा यही हो पैसाको पोखरी भएको कोषमा एउटा अस्त ब्यस्त शौचालय देखाएर विदेशी पैसा झार्ने दाउ हो रे यो । नहोला पनि भन्न सकिन्न । यो नेपाल हो । https://razenmanandhar.medium.com बाट साभार गरिएको ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार