हरेक स्थानीय तहबाट तीन/तीन जना सरसफाइ दूत माग

काठमाडौ, लिखिता बराल : सरकारले स्थानीय तहमा सरसफाइ दूत नियुक्त गर्न हरेक स्थानीय तहबाट तीन÷तीन जना स्थानीय सरसफाइ दूत माग गरेको छ । खानेपानी तथा ढल निकास विभागले क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयहरु धनकुटा, काठमाडौ, पोखरा, सुर्खेत र डोटी तथा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र सव डिभिजन कार्यालयहरुलाई हरेक स्थानीय तहबाट तीन/तीन जना सरसफाइ दूत सिफारीस गर्न पत्राचार गरेको हो ।  

राष्ट्रिय सरसफाइ समन्वय समितिका सदस्य सचिव एवं वातावरणीय सरसफाइ शाखा प्रमुख प्रेमकृष्ण श्रेष्ठद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ ‘प्रत्येक स्थानीय तह र प्रदेशमा १ जना सरसफाइ दूत मनोनयन गर्ने निर्णय भएकोले तहाँ जिल्ला स्थित सबै स्थानीय तहहरुमा पत्राचार गरी प्रत्येक स्थानीय तहबाट तीन/तीन जना नेपाली नागरिक सम्बन्धित स्थानीय तहको समन्वयमा सिफारीस गरी पठाइदिनुहुन अनुरोध गर्दछु ।’

खुला दिसामुक्त क्षेत्रको दीगोपनालाई कायम गर्दै पूर्ण सरसफाइ कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न र दीगो विकास लक्ष्य सन् २०३० को लक्ष्य नं. ६ हासिल गर्न हरेक स्थानीय तहमा सरसफाइ दूत नियुक्त गर्ने सरकारको निर्णय बमोजिम हरेक स्थानीय तह र प्रदेशमा एक/एक जना सरसफाइ दूत नियुक्त गर्न लागेको हो ।

खानेपानी तथा सरसफाइ मन्त्रालयको यही भदौ ६ गतेको मन्त्रीस्तरीय निर्णयबाट स्थानीय तह र प्रदेशमा एक/एक जना सरसफाइ दूत मनोनयन गर्ने निर्णय गरेको थियो । सरकारले यसअघि सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को जोडीलाई राष्ट्रिय सरसफाइ दूत घोषणा गरिसकेको छ ।

सरसफाइ दूत बन्नका लागि चाहिने योग्यता

स्थानीय तहमा सरसफाइ दूत भएर काम गर्नका लागि सरकारले निम्नानुसारको योग्यता निर्धारण गरेको छ ।

१. कम्तीमा २१ बर्ष पूरा गरेको नेपाली नागरिक

२. स्थानीय रुपमा लब्ध प्रतिष्ठित व्यक्ति

३. सरसफाइको क्षेत्रमा दक्षता तथा क्षमता भएको वा सरसफाइ दूत बन्न विशेष रुचि भएको

४. कुनै आपराधिक गतिविधिमा संलग्न नभएको

५. नेपाली भाषा र सम्बन्धित मातृ भाषामा दक्षता भएको

६. स्थानीय तह, प्रदेश र संघ बीचमा प्रभावकारी रुपले समन्वकारी भूमिका निर्वाह गर्न सक्ने ।

स्थानीय तह सँग समन्वय गरी क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयहरु, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र सव डिभिजन कार्यालयहरुलाई यही असोज १५ भित्र खानेपानी तथा ढल निकास विभागमा पठाउनु पर्नेछ । विभागले ती नामावली खानेपानी तथा सरसफाइ मन्त्रालयमा बुझाउनेछ र सरसफाइ दूतको अन्तिम टुङ्गो मन्त्रालयले लगाउने भएको छ ।

हेर्नुहोस् पत्रको प्रतिलिपि

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार