बाल क्लबले गरे विद्यालय सफाइ र पत्रु खाना निषेध

म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका–५, मगरदाङ्ग स्थित गौ बोमबस्त माध्यमिक विद्यालयमा नव गठित प्रतिभा बाल क्लबले विद्यालय परिसर सरसफाइ, वृक्षारोपण, गोडमेल तथा बगैंचा निर्माण कार्य सम्पन्न गरेको छ ।

हालैमात्र गठन गरिएको क्लबले विद्यालय सरसफाइ एक प्रमुख सूचक भएकाले विद्यालय सफाइ गरिएको जनाएको छ । “अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यालय सफा गरिएको हो”, क्लबका अध्यक्ष विपासा सिउथानीले भन्नुभयो, “नेपाल सरकारले जारी गरेको विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी कार्यविधि २०७४ ले सफा र स्वच्छ वातावरणलाई उपयुक्त विद्यालयको एक मुख्य सूचकको रुपमा समावेश गरेको छ । त्यसैले अतिरिक्त क्रियाकलापमा सो कार्यविधिमा भएका विषयलाई समेत समावेश गरेका हौं ।”

सोही कार्यविधिले विद्यालयमा स्वच्छ र सुरक्षित खानालाई अर्को सूचकको रुपमा समावेश गरेको छ, जसलाई कार्यान्वयनमा ल्याउनका लागि विद्यार्थीहरुले विद्यालय प्रशासनसँग माग गरेका छन् । “हामीले गरेको छलफलपछि पत्रु खाना (जंक फुड) ले विद्यार्थीको शारीरिक, मानसिक र संवेगात्मक स्वास्थ्यमा नकारात्मक असर पर्ने कुराको जानकारी पायौं”, अध्यक्ष सिउथानीको भनाइ छ, “त्यसपछि हामीले विद्यालयमा पत्रु खाना निषेध गर्न र स्वच्छ तथा स्वस्थकर खाना तथा खाजामात्र प्रयोग गर्न लगाउने नियम बनाउनका लागि विद्यालय प्रशासनलाई अनुरोध गरेका हौं ।” विद्यार्थीको सो निर्णय र अनुरोधउपर अहिले विद्यालय व्यवस्थापन समितिमा छलफल भैरहेको र चाँडै निर्णयमा पुगिने जानकारी विद्यालयका प्रधानाध्यापक अमृत बूढाथोकीले दिनुभयो ।


पत्रु खाना निषेध गर्ने बाल क्लबको निर्णय र अनुरोधलाई प्रधानाध्यापक बूढाथोकीले स्वागत गर्नुभयो । “नेपाल सरकारले समेत विद्यालयमा दिवा भोजनका लागि सूची र निर्देशिका नै तयार गरेको पठाइसकेको छ”, उहाँको भनाइ छ, “विद्यार्थीले समेत अनुरोध गरेपछि त्यसलाई पूर्ण रुपमा कार्यन्वयनमा ल्याउछौं ।”

बाल क्लबले वार्षिक कार्यक्रम र योजना समेत तय गरेको छ, जसलाई कार्यान्वयनमा ल्याउनका लागि सहयोग गर्ने जानकारी विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख बुद्धिबहादुर रानाले दिनुभयो । प्रत्येक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिने समेत उहाँले जानकारी दिनुभयो ।

क्लबका सचिव विनिषा बूढाथोकीले विद्यार्थीहरुमा व्यवहारिक सिकाइ र सामाजिक सीपको विकास गर्न यस किसिमका अतिरिक्त क्रियाकलाप आयोजना गरिएको बताउनुभयो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार