गायिका रेखा जोशी बनिन मर्यादित महिनावारी सद्भावनादूत

सुदूरपश्चिम : चर्चित लोक तथा देउडा गायिका रेखा जोशी सुदूरपश्चिम प्रदेशको लागि मर्यादित महिनावारी व्यवस्थापन सद्भावनादूतमा नियुक्त हुनु भएको छ । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना (RVWRMP) नेपालले गायिका जोशीलाई सद्भावनादूतमा नियुक्त गरेको हो । जोशी सुदूरपश्चिममा लोकप्रिय गायिकाको रुपमा स्थापित हुनुहुन्छ ।

छाउपडी नामले चिनिने सुदूरपश्चिम प्रदेशमा रहेको महिनावारी व्यवस्थापन सम्बन्धि कुसंस्कारका बिरुद्धआफ्नो कला मार्फत सांगीतिक अभियान सञ्चालन गर्दै महिनावारिलाई मर्यादित बनाउन जोशीले योगदान गर्नुहुनेछ । सेलिब्रिटीहरुले यस प्रकारका अभियानहरुमा आफ्नो कला मार्फत सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दा लक्षित बर्गमा सकारात्मक प्रभाव पर्न जाने भएकोले गायिका जोशीलाई सद्भावना दूतमा नियुक्त गरिएको कुरा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले जनाएको छ । मर्यादित महिनावारी व्यवस्थापन सद्भावना दूतको अवधारणालाई फलदायी बनाउदै परियोजनाको समाप्ति पश्चात पनि यसको निरन्तरताको लागि अन्य सरोकारवालाहरु संग छलफल भैरहेको परियोजनाले जनाएको छ ।

सद्भावनादूतले विद्यार्थीहरू, ज्येष्ठ नागरिकहरू, युवाहरू, आमजन समुदाय र अन्य सरोकारवालाहरू बीच विभिन्न माध्यमहरू जस्तै गायन, कन्सर्ट र स्टेज कार्यक्रम, टक शो, सामाजिक सञ्जाल, अन्तर्वार्ताहरू मार्फत महिनावारी व्यवस्थापनका सवालमा सचेनातामुलक संदेश प्रवाह गर्नुहुनेछ । यसका अतिरिक्त महिनावारीको बिषयमा प्रदेश तथा केन्द्र स्तरमा सञ्चालन हुने कार्यक्रममा सहभागी भै नीति निर्माता र निर्णायक तहमा समेत महिनावारी व्यवस्थापन सम्बन्धि पैरवी गर्नुहुनेछ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा महिनावारी सम्बन्धि हानिकारक अभ्यासहरुको कारणले गर्दा दर्जनौ महिलाहरुले ज्यान गुमाई सकेका छन् । सबै तहका सरकार र बिभिन्न संघ संस्थाहरुले छाउपडी कुसंस्कार अन्त्यका लागि बिभिन्न प्रयासहरु गर्दा अवस्था सुधारोन्मुख भएपनि अपेक्षित रुपमा नतिजा हासिल गर्न सकिएको छैन ।

यसप रिबेशमा गायिका रेखा जोशी सद्भावनादूतको भूमिकामा सांगीतिक सचेतना मार्फत मर्यादित महिनावारी व्यवस्थापनको अभियानमाआफ्नो क्षमताले भ्याए सम्म केहि योगदान गर्ने बताउनु हुन्छ । आफु पनि सुदूरपश्चिमकै भएको र महिनावारीसंग जोडिएका कुप्रचलन लाखौं आमा दिदि बैनिहरुले भोग्नु परेको पिडासंग आफु निकै परिचित भएकोले पनि यस्तो अमानविय कुसंस्कार बिरुद्धको अभियानमा आफु लागि पर्ने उहाँले बताउनुभयो ।

बिशेष गरेर परिवर्तनका सम्बाहक युवा वर्गमा कार्यक्रम लक्षित गरि महिनावारी व्यवस्थापन सम्बन्धमा गीत संगीतको माध्यमबाट सचेतना जागृत गर्ने उहाँले बताउनुभयो । हाललाई ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना (RVWRMP) कार्यरत केहि गाउँपालिकाहरुमा सांगीतिक कार्यक्रम मार्फत अभियान थालनी गर्ने उहाँले बताउनुभयो । यसका साथै संचारका अन्य बिभिन्न माध्यम मार्फत सचेतनामुलक सन्देशहरु प्रवाह गर्ने समेत गायिका जोशीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बर्षौ देखि जरा गाडेर रहेको छाउपडी कुप्रचलन सुदुरपश्चिमका महिलाहरुको लागि अभिसाप हो । यो कुप्रचलनको सन्दर्भमा राज्य र सम्बन्धित सरोकारवालाहरुको थप ध्यान आकर्षण हुनु जरुरी छ। यो कुप्रचलनको बिरुद्धमा आ-आफ्नो क्षेत्रबाट सबैले लागेर महिनावारी व्यवस्थापनलाई मर्यादित बनाइ महिलाहरुको सम्मानित जीवनयापन सुनिश्चित गर्ने अभियानमा सहयोग गर्नु जरुरी छ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार