बझाङ : विद्यालयमा चारवटा चर्पी छन् । एउटा चर्पी शिक्षकले मात्र प्रयोग गर्ने भएकाले विद्यार्थीका लागि प्रवेश निषेध छ । बाँकी तीनवटा चर्पी दिसापिसाबले भरिएपछि एक बर्ष देखि चर्पीको ढोका खुलेको छैन । प्रयोगविहीन चर्पीको ढोकासम्मै झार उम्रिएको छ । विद्यालयमा अध्ययनरत छात्रछात्रा बाहिरै दिसापिसाब गर्न बाध्य छन् ।
लाखौं रुपैयाँ लगानीमा निर्मित चर्पी प्रयोगविहीन भएपछि बझाङको दुर्गा माध्यमिक विद्यालय सैनपसेलाका छात्राछात्र विगत १ बर्ष यता यस्तै नियति भोग्न बाध्य छन् ।
दिसापिसाब लाग्यो कि खोला किनार वा झाडीमा जानुपर्ने बाध्यता रहेको कक्षा ९ मा अध्ययनरत छात्रा आस्था जप्रेलले बताउनुभयो । ‘कसैले देख्छ कि भनेर डरले हत्त न पत्त कक्षाकोठामा फर्किनुपर्छ । महिनावारी भएको समयमा त स्कुल नआए पनि हुन्छ’ उहाँले भन्नुभयो ।
विद्यार्थीले प्राक्टिकल क्लसमा चर्पी सफा गरौं भन्दा समेत शिक्षा कार्यालयमा योजना माग्नुपर्छ भन्दै चर्पी सफा गर्न नदिएको विद्यार्थीहरु बताउँछन् ।
‘शिक्षकले प्रयोग गर्ने चर्पीमा गए शिक्षकको कुटाई खानुपर्ने भएकाले आफूहरु बाहिर नै दिसापिसाब गर्न बाध्य भएको अर्का छात्र राकेश जप्रेलले बताउनुभयो ।
विद्यालयमा आवश्यकता भन्दा कम शौचालय भएको र दुगर्मको विद्यालयको कुरा जिल्ला शिक्षा कार्यालयले समेत नसुनेको शिक्षक तिलक दौल्याले बताउनुभयो । विद्यालयमा करिब ६ सय विद्यार्थी अध्ययनरत छन् ।
जिल्ला शिक्षा कार्यालय बझाङका अनुसार दुर्गा माध्यमिक चर्पी बनाउन र मर्मत गर्नका लागि करिब १५ लाख रुपैयाँ निकासा भएको छ ।


806 पटक हेरिएको 

