खानेपानी समस्या, नेताको भोट माग्ने मेलो

सुर्खेत : सुर्खेतको मैनतडा गाउँ पहिले गाविसमा थियो । अहिले भेरीगंगा नगरपालिका भएको छ । तर नगरपालिकाका बासिन्दा भएर पनि उही पीडा सहेर बस्नुपरेको छ । सुर्खेतको मैनतडाका अधिकांश बासिन्दा अहिले पनि खानेपानीको समस्या भोगिरहेका छन् । वर्षौदेखि खानेपानीको समस्या भोग्दै आएका उनीहरू हिजोआज पनि भेरी नदी र खोलाको पानी पिउन बाध्य छन् । आँगनमै धारा जडान गरेर स्वच्छ पानी पिउने स्थानीयबासिन्दाको सपना अझै पूरा हुन सकेको छैन ।

जब चुनाव आउँछ, तब नेताहरु गाउँमा आएर धारा जडान गरिदिन्छौं भन्दै आउँछन् । मैनतडा झिंगनीकी भावना राना भन्नुहुन्छ ‘नेताहरूले हामीलाई आश्वासन मात्र दिए, बर्षौ भयो हामी खोलाको पानी पिउन बाध्य छौं । आँगनमै धारा जोडेर पानी पिउने हाम्रो चाहना कहिल्यै पूरा नहुने भयो ।’

गाउँमा पुग्ने सबै दलका नेता, सरकारी तथा गैरसरकारी निकायसँग खानेपानीको समस्या सुनाउन कसैलाई बाँकी राखेको छैन मैनतडाका बासिन्दाले । दलका नेताले चुनावमा मात्र खानेपानीको धारा जडान गरिदिने प्रतिबद्धता जनाउने र त्यसपछि फर्केर पनि नआउने गरेको उनीहरु बताउँछन् । ‘गाउँको खानेपानी समस्या त नेताहरूका लागि भोट माग्ने हतियार मात्र भयो, त्यही समस्या देखाएर कतिले चुनाव जितेर गए तर हाम्रो गाउँको धारा कहिल्यै बनेनन्’ ढुण्डी बस्नेतले भन्नुभयो ।

मैनतडाका अधिकांश टोलमा खानेपानीको समस्या छ । मैनतडाका अधिकांश बासिन्दा भेरी नदीको पानी उपभोग गर्छन् । झिंगनीमा ८६ घरले खोलाकै पानीको भरमा गुजारा चलाउदै आएको बर्षौ भइसकेको छ । ‘न गाउँमा खानेपानी छ, न त सिँचाइ नै । खाने अन्न त किनेर खाउँला, तर पानीको जोहो कसरी गर्ने ?’ ओमकला बुढाले भन्नुभयो ।

पानीको जोहो गर्नमै समय खर्च हुँदा अन्य काममा बाधा पुग्ने गरेको उनीहरूको गुनासो छ । गाउँमा खानेपानीको समस्या भए पनि अहिलेसम्म कसैले चासो नदिएको गाउँले बताउँछन् । खानेपानी नभएकै कारण गाउँमा विकास निर्माणको काममा पनि बाधा पुगेको छ ।

अरु समयमा भन्दा खडेरीको बेलामा खानेपानीको निक्कै दुःख हुने झिंगनीका बासिन्दा बताउँछन् । खडेरीको समयमा खोलाको पानी पनि कम हुने भएकाले पानीको संकट हुने गरेको उनीहरु बताउँछन् । बर्षाको समयमा भने गाउँमा पानीको मूल फुट्ने भएकाले राहत हुने गरेको छ । पानीको जोहो गर्न स्थानीयबासिन्दाले गाउँमा कुवा समेत खनेका थिए । तर सबैको कुवामा पानी नआएपछि खानेपानीको संकट हटेको छैन ।

मैनतडाको साविकका वडा ३, ४ र ७ मा खानेपानीको बढी समस्या रहेको गोल्मा बस्नेतले जानकारी दिनुभयो । गाउँमा खानेपानीका लागि स्थानीयबासिन्दाले बारम्बार माग गर्दै आएका छन् । तर पनि अहिलेसम्म खानेपानीको कुनै योजना परेका छैनन् । सबैले पानीको आश्वासन मात्र दिने गरेकाले अब गाउँले मिलेरै खानेपानी समस्या समाधानको पहल थाल्नुपर्नेमा स्थानीयबासिन्दाले आवाज उठाउन थालेका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार