नगरपालिकाबाट पाइने सेवा सुविधा, शौचालय भएकालाई मात्र

कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिकाले हरेक घरमा शौचालय नबनाए नगरपालिकाबाट दिइने कुनै पनि सेवा सुविधा नदिने भएको छ ।

शौचालय नबनाउने घरलाई आउँदो कात्तिक १ गतेदेखि नगरपालिका र वडा कार्यालयबाट दिईने कुनै पनि सेवा सुविधा नदिइने नगर प्रमुख नेत्रराज अधिकारीले जानकारी दिनुभयो । ‘ नगरपालिकाभित्रका बासिन्दाले शौचालय नबनाए सेवा सुविधा पनि पाउने छैनन् ’ उहाँले भन्नुभयो ।

नगरपालिकाका जनप्रतिनिधिका लागि आयोजना गरिएको नगर स्तरिय खुलादिसामुक्त तथा पूर्ण सरसफाइ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा नगर प्रमुख नेत्रराज अधिकारीले नगरपालिकालाई आगामी मंसिर २५ गतेभित्र खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य रहेको बताउनुभयो ।

नगरपालिकाका ११ वडा मध्ये तीन वटा वडा यस अघि नै खुला दिसामुक्त घोषणा भइसकेका छन् ।

कहाँ कहिले खुला दिसामुक्त हुदैछन् ?

शिवराज नगरपालिकाले आगामी मंसिर २५ गतेभित्र खुला दिसामुक्त घोषणा गर्न वडागत रुपमा खुलादिसामुक्त गर्ने मिति निर्धारण गरिएको छ । नगरपालिकाका अनुसार

मंसिर १ गते वडा नं. ५

मंसिर ३ गते वडा नं. ३

मंसिर ४ गते वडा नं. ४

मंसिर ५ गते वडा नं. ६

मंसिर ६ गते वडा नं. ७

मंसिर ७ गते वडा नं. १

मंसिर ८ गते वडा नं. ८

मंसिर ९ गते वडा नं. २

मंसिर २५ गते नगरपालिकालाई नै खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम रहेको छ ।

समय छोटो भएकाले धेरै चुनौतीको सामना गर्नुपर्ने भएकाले तोकिएको समयमै लक्ष्य पूरा गर्न सम्पूर्ण वडाध्यक्षलाई आ–आफ्नो वडामा अभियानलाई तीव्र रुपमा लैजान नगर प्रमुख अधिकारीले आग्रह गर्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार