बुद्धभूमिमा यसरी बन्दैछ प्रशोधन एकाई सहितको खानेपानी

कपिलवस्तु : कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ गोरुसिंगेमा प्रशोधन एकाई सहितको खानेपानी आयोजना निर्माण हुँदैछ । ७० प्रतिशत नेपाल सरकारको अनुदान, २० प्रतिशत नगरपालिका र १० प्रतिशत उपभोक्ता समितिको लगानीमा कुल १९ करोड १० लाख लागतमा खानेपानी आयोजना निर्माण हुने भएको हो । आयोजनाबाट २१ हजार ४ सय ६१ घरपरिवार लाभान्वित हुनेछन् ।

गोरुसिंगे शहरी खानेपानी तथा सरसफाइ आयोजनाको साढे ४ लाख लिटर क्षमताको ट्याङ्कीको फाउन्डेशनमा पूजापाठ गरी बुद्धभूमि नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठले हालै शिलान्यास गर्नुभयो । आयोजना शुरु भएको १८ महिनाभित्र ट्याङ्की निर्माण, ४८ किलोमिटर पाइप बिछ्याउने, पानी प्रशोधन एकाइ स्थापना गरी ४ वटा डिप ट्युबवेल निर्माण हुनेछन् । त्यसपछिको एक वर्षको अवधिमा सञ्चालन, मर्मत सम्भार लगायतको तालिम दिइनेछ ।

कुल २९ करोड रुपैयाँ लागत भएपनि शर्मा भिमेश्वर जेभीले १९ करोड १० लाखको लागतमा ठेक्का लिएको आयोजना प्रमुख हरिप्रसाद ढकालले बताउनुभयो । यस अघि आयोजना निर्माणस्थलमा सवा १ लाख लिटरको ट्याङ्की की निर्माण गरी गोरुसिंगेमा खानेपानी आपूर्ति हुँदै आएको छ । बस्ती विस्तार र उपभोक्ता संख्या बढेपछि खानेपानीको बढ्दो मागलाई आपूर्ति गर्न नयाँ खानेपानी आयोजना निर्माण गर्नुपरेको गोरुसिंगे शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नरेन्द्रराज टण्डनले बताउनुभयो ।

नगरपालिका भित्रै सबैभन्दा बढी लागत र ठूलो खानेपानी आयोजना निर्माणको काम सम्पन्न भएपछि नगरबासी सुरक्षित खानेपानीको पहुँचमा पुग्ने नगर प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँले नगरपालिकाको वडा नं.२ का बासिन्दाले अब स्वच्छ र सुरक्षित पानी पिउन पाउने बताउनुभयो । आयोजना तोकिएकै सयममा पूरा गर्न वडावासी र उपभोक्ता समितिलाई समेत साथ दिन उहाँले आग्रह गर्नुभयो ।

बुद्धभूमि २ का वडाध्यक्ष भेषराज खनालले आफ्नो वडामा नगरकै सबैभन्दा ठूलो आयोजना सुरु भएकोमा खुसी व्यक्त गर्नुभयो । अब वडामा खानेपानीको समस्या हट्ने उहाँले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार