
रुकुम पूर्व: रुकुम पूर्वको भूमे गाउँपालिकाका बासिन्दाले तीन महिनामै तीन वटा खानेपानी योजना सम्पन्न गरी घरघरै खानेपानी वितरण गरेका छन्। भूमे गाउँपालिका–३ क्याङ्सी गाउँको खानेपानी योजना ८१ दिनमा, तुन्वाङको खानेपानी योजना ८० दिनमा र थाम गाउँको योजना भने ६३ दिनमै सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । ती तीनैवटा योजना (क्याङ्सी, तुन्वाङ र थामगाउँ) बाट १ सय ४९ घरमा खानेपानी पुगेको छ।
उक्त आयोजनाबाट ७७ घरधुरीमा खानेपानीका धारा निर्माण भएका छन्। एउटा विद्यालय र एउटा सामुदायिक भवनमा पनि खानेपानीको धारा बनेको छ। तुन्वाङका ४९ घरमा धारा बनेर खानेपानी आइरहेको छ। थाम गाउँका २३ घरपरिवारले घरमै खानेपानीको उपयोग गर्न पाइरहेका छन्।
भूमे गाउँपालिकाको सहकार्यमा गोर्खा वेल्फेर ट्रष्टको आर्थिक सहयोग र उपभोक्ताको श्रमदानबाट उक्त आयोजनाहरु सम्पन्न भएका हुन्। क्याङ्सी खानेपानी आयोजना ६४ लाख ९६ हजार ६ सय ४० रुपैयाँमा सम्पन्न भएको छ। यसमा ४० लाख ८३ हजार ६ सय ५० रुपैयाँ ट्रस्टको खर्च भएको छ। २४ लाख १२ हजार ९ सय ९० रुपैयाँ बराबरको श्रमदान उपभोक्ताले गरेका हुन्।
यस्तै ४५ लाख १० हजार ५ सय ६१ रुपैयाँमा सम्पन्न भएको तुन्वाङ खानेपानी आयोजनामा ट्रस्टले २७ लाख ३६ हजार २ सय ४३ रुपैयाँ लगानी गरेको छ भने उपभोक्ताका तर्फबाट १७ लाख ७४ हजार ३ सय १८ रुपैयाँ खर्च भएको छ। थाम गाउँको खानेपानी आयोजना सम्पन्न गर्न ७ लाख ७४ हजार ३ सय ९८ उपभोक्ताको र १४ लाख १४ हजार ट्रस्टको गरी २१ लाख ८९ हजार १ सय २७ रुपैयाँ लगानी भएको छ ।

भूमे–३ क्याङ्सीकी कुमारी सुनारले घरमै धारा आउला र आफ्नो सहजता अनुसार पानी भरौँला भन्ने सोच्नु भएकै थिएन । एक गाग्री पानी ल्याउन धेरै समयको खर्च र पिठ्युँमा पानी बोक्ने बाध्यताबाट यति छिटै छुटकारा पाइएला भन्ने उहाँको कल्पनामै नभएको र हाल घरैपिच्छे धारो आएपछि दङ्ग भएको बताउनुभयो ।
त्यस्तै सोही गाउँका जोरबहादुर रोका मगरले घरमा पानी आएपछि आँगनमै पानीको मूल फुटेको अनुभूति भएको बताउनुभयो । ‘घरघरमा यसरी पानीको मूल फुटेको झैँ अनुभूति होला भन्ने सोचेको थिइनँ, तर छोटो समयमै स्थानीय सरकारको पहल, गोर्खा वेलफेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोग र हाम्रो पनि मिहेनतले गर्दा घरघरमा पानी आयो।’ उहाँले भन्नुभयो ।
‘कुनै वेला एक गाग्री पानी ल्याउन धौधौ हुन्थ्यो’, रोकाले भन्नुभयो, ‘अहिले सहज भएको छ, न पालो कुर्नुपर्ने, न पिठ्यूँमा बोक्नुपर्ने, घरमै धारा पुगेको छ। दुःखका दिन गए’‚ उहाँले भन्नुभयो ।
घरघरमा खानेपानी पुगेपछि खुसी साट्ने सुनार र रोका मात्र होइन, गाउँका सबैमा खुसियाली छाएको छ। भूमे–३ का यी तीन गाउँ मात्र होइन्, ‘एक घर, एक धारा’ निर्माण योजना जिल्लाका सबै वडामा प्रदेश सरकारको योजनामा निर्माणाधीन अवस्थामा छन्। घरैपिच्छे धाराको सुविधा पुर्याइएको एक उदाहरण भूमे–३ को क्याङ्सी, तुनबाङ र थाम गाउँ मात्र हुन्।


885 पटक हेरिएको 

